पोउवा संघमा व्यवसाय व्यवस्थापन तालीम

पोखरा, २३ चैत । पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष विश्वशंकर पालिखेले आफूलाई सर्वज्ञानी ठान्नेहरु नै केही नजान्ने हुने ठोकुवा गरे । ‘हामी आफैलाई सर्वज्ञानी भन्ने भ्रममा हुन्छौँ तर सबैभन्दा अज्ञानी भएको थाहै पाउँदैनौँ’, पोखरा उद्योग वाणिज्य संघमा आयोजित एक कार्यक्रममा शुक्रबार उनले भने, ‘जो आफूलाई अज्ञानी ठान्छ, उसले नै सबैभन्दा धेरै कुरा सिकेको हुन्छ ।’

अध्यक्ष पालिखे पोखरा उद्योग वाणिज्य संघ तथा औद्योगिक व्यवसाय विकास प्रतिष्ठान पोखराको आयोजना तथा पोखरा भाँडा व्यवसायी समिति एवं सुनचाँदी व्यवसायी संघ कास्कीको सहयोगमा आयोजना भएको पाँच दिने व्यवसाय व्यवस्थापन तालीमको समापन कार्यक्रममा उनले सो कुरा बोलेका हुन् ।

पोखरा उद्योग वाणिज्य संघ व्यवसायको प्रवद्र्धन तथा संरक्षणको लागि क्रियाशील रहेको बताउँदै उनले व्यवसाय संचालनको क्रममा आवश्यक पर्ने तालीमका कार्यक्रमहरुलाई अझ बढावा दिने बताए ।

पोखरा उद्योग वाणिज्य संघका महासचिव दामु अधिकारीले संचालन गरेको उक्त कार्यक्रममा बोल्दै औद्योगिक व्यवसाय विकास प्रतिष्ठानका रामप्रसाद तिवारीले सृजनशीलता भए जुनसुकै काममा पनि संभावना भएको बताए । विदेश गएर आएका वा स्वदेशमै केही गर्न चाहनेहरुलाई आफ्नो संस्थाले जतिबेला आवश्यक पर्छ, त्यतिबेलै तालीम दिने व्यवस्था गरेको बताउँदै उहाँले उद्यमशील हुनको लागि सृजनशिलतामा पनि ध्यान दिनुपर्नेमा जोड दिए । कार्यक्रममा प्रशिक्षार्थीको तर्फबाट बोल्ने कमलबहादुर रानाभाट र देवकी बरालले तालीमले आफ्नो व्यवसायिक क्षमता बृद्धि भएको बताए ।

You might also like

Comments are closed.