पोउवा संघ बालश्रम न्युनीकरण परियोजनाद्वारा १ सय ६६ बालबालिकालाई शैक्षिक सामग्री

आर्थिक आवाज
पोखरा, १ साउन । पोखरा उद्योग वाणिज्य संघ अन्तर्गत संचालित बालश्रम न्युनीकरण कार्यक्रमको आयोजना तथा सामाजिक विकास मन्त्रालय तथा पोखरा महानगरपालिकाको सहयोगमा श्रम तथा जोखिममा रहेका १ सय ६६ जना बालबालिकालाई शैक्षिक सामग्री हस्तान्तरण गरिएको छ ।

बुधबार एक कार्यक्रमकाबीच पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेषनारायण पौडेलको प्रमुख आतिथ्यतामा यस शैक्षिक वर्ष २०७६ मा भर्ना गरिएका श्रम तथा जोखिममा रहेका बालबालिकालाई पोशाक तथा शैक्षिक सामग्री प्रदान गरिएको हो ।

कार्यक्रममा बोल्दै पौडेलले नेपाल हरेक विषयमा अब्बल रहेतापनि त्यस अनुरुप परिचालन हुन नसकेको तर्क गरे । उनले जिन्दगी भरी नै सुख देख्न चाहेर मात्र नहुनेभन्दै सफल हुनका निम्ती सोही अनुसारको परिश्रम पनि जरुरी रहेको बताए । संगत अनुसारको प्रतिफल हुने तर्क राख्दै पौडेलले बालबालिकालाई सही मार्गदर्शनमा प्रेरित गराउनका निम्ती महानगरले यस्ता कार्यक्रमको निरन्तरतालाई जोड दिने प्रतिबद्धता व्यक्त गरे ।

सोही अवसरमा बोल्दै सामाजिक विकास मन्त्रालयका सामाजिक महाशाखा प्रमुख जमुना पौडेलले ‘समृद्ध नेपाल सुखी नेपाली’को अवधारणालाई आत्मसाथ गर्दै अगाडि बढेको नेपालमा गुणस्तर जनशक्तिको आवश्यकता तिनै तहलाई रहेको बताए । उनले स्वयंमा परिवर्तन गर्न आवश्यक रहेको भन्दै बालबालिकासँग केन्द्रित रहेर विभिन्न कार्यक्रम संचालन गर्न सामाजिक मन्त्रालय तत्पर रहेको जानकारी दिए ।

क्लेपका अध्यक्ष राजेन्द्रकुमार लालचनले व्यापारीको छाता संगठन पोखरा उद्योग वाणिज्य संघले विगत २० बर्ष देखि बालश्रम विरुद्धको अभियानमा लागि परेको जानकारी दिँदै पोखरा महानगरपलिकाको सहयोगबाट बालश्रम ७५% भन्दा अधिक न्युनिकरण भएको तर पूुरै निर्मुल पार्न भने नसकेको बताए । विभिन्न संघसंस्था एवं महानगरसँगको हातेमालोबाट हालसम्मको उपलब्धि हासिल गर्न सकेकोभन्दै लालचनले सहयोगी सबैमा धन्यवाद प्रकट गरे ।

कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघका वाणिज्य उपाध्यक्ष पवनकुमार प्रजापती, वाणिज्य संघका कार्यसमिति सदस्य मुना बास्तोला, रामेश्वर अधिकारी, पार्दी माविका प्रधानाध्यापक विष्णुप्रसाद बराल, वरपाटन माविका सहायक प्रधानाध्यापक विष्णुप्रसाद तिमिल्सिना, पोखरा महेन्द्रपुल सम्पर्क केन्द्र इकाई बाल क्लबको अध्यक्ष विपना परियार लगायतले बालश्रम विरुद्धको अभियानलाई तीनै तहको सरकारले अझ सशक्त ढंगबाट अगाडि बढाउन आवश्यक रहेकोमा जोड दिएका थिए ।

पोखरा भित्र स्थापना भएका बालश्रम इकाई समितिका इन्चार्ज, विद्यार्थी एवं अभिभावकहरुको उपस्थिति रहेको सो कार्यक्रमको संचालन पोखरा उद्योग वाणिज्य संघ बालश्रम न्यूनीकरण कार्यक्रम अधिकृत प्रीति पाण्डेले गरेकी थिइन् ।

You might also like

Comments are closed.