पोखरा, २० पुस । पोखराका शहरका मुख्यचोकमा रहेका सहिद र राष्ट्रिय विभूतिका शालिकलाई व्यवस्थित पार्क बनाएर राख्ने प्रक्रिया सुरु भएको छ । पोखरा लेखनाथ महानगरपालिकाले सहिद पार्क बनाउने कार्ययोजना अगाडि बढाएको हो । पोखरा लेखनाथ महानगरपालिका वडा नम्वर १८ स्थित पर्यटकीय क्षेत्र सराङकोटको जामुने बोटमा पार्क निर्माणको प्रक्रिया अगाडि बढेको महानगरपालिकाका उपमेयर मञ्जुदेवी गुरुङले जानकारी दिइन् ।
उपमेयरका प्रेस सहयोगी एकराज गिरीका अनुसार चोकचोकमा राखिएका आइल्याण्ड र शालिकका कारण ट्राफिक जाम बढेका कारण आइल्याण्ड भत्काउने र सबै सालिकलाई व्यवस्थित पार्क बनाएर राखिने गरी योजना अगाडि बढेको छ । महानगरपालिकाले सहिदका सालिक व्यवस्थित गर्न उदासिन बनेको भन्ने जनगुनासो आएपछि पार्क निर्माण कार्य तिव्र रुपमा अगाडि बढाएको छ ।
सराङकोटमा रहेको ५७ रोपनी क्षेत्रफलमा रहेको जग्गामा पार्क बनाउने गरी गुरुयोजना निर्माणमा जुटेको महानगरपालिकाका इन्जिनियर महेन्द्रबहादुर गोदारले जानकारी दिए । उनका अनुसार जग्गा छुट्याउने र पर्खाल लगाउने कार्यकालागी लागत स्टिमेट तयार पार्न जुटेको बताए । ‘हामीले पहिलो चरणमा जग्गा छुटयाउने र पर्खाल लगाउन लागत स्टिमेट गर्दछौं, त्यसपछि पार्कको गुरुयोजना निर्माण गर्छौं ।’

पोखरा लेखनाथ महानगरपालिकाले सडक फराकिलो बनाउने अभियान अन्तर्गत असोजमा पृथ्वीचोकमा रहेको लखन थापाको शालिक, अमरसिंहचोकको अमरसिंह थापाको शालिक, जिरोकिलोमिटरको योगेन्द्र शेरचनको शालीक हटाएको थियो । तर महानगरले पृथ्वीचोकमा हटाइएको लखन थापाको शालिक पुनस्थापना गरेको भन्दै विरोध भएपछि महानगरले सबै चोकमा रहेका सहिद र विभूतिकका शालिक पार्क बनाएर राख्ने बताउँदै आएको भएपनि काम अगाडि बढ्न नसकेको गुनासो आउन थालेपछि तत्काल काम अगाडि बढाउन बिहीबार पोखरा लेखनाथ महानगरपालिकाका उपमेयर मञ्जुदेवी गुरुङ सहित इन्जिनियरहरु सहितको टोलीले पार्क निर्माणस्थलको निरीक्षण गरिएको हो ।
निरीक्षणपछि उपमेयर गुरुङले शहरका चोकमा रहेका सबै सालिक पार्क बनाएर ब्यवस्थित गर्ने गरी काम सुरु भएको बताइन् । सराङकोटमा पार्क निर्माण गर्ने निर्णय महानगरकार्यपालिकाको बैठकले यसअघि नै निर्णय गरिसकेको छ । निरीक्षणमा उपमेयर गुरुङ, महानगरपालिकाका मेयरका स्वकियसचिव लक्ष्मण तिमिल्सिना, इन्जिनियर महेन्द्र गोदार, अमिन दिवाकर सुवेदी, गणेश गिरी र जुनियर इन्जिनियर झपट थापा लगायतको टोलीले निरीक्षण गरेको उपमेयरका प्रेस सहयोगी एकराज गिरीले जानकारी दिए ।
Comments are closed.