पोखराका ठूला होटलहरु भरिभराउ, साना होटलमा अझै कोठा खाली

सन्देश श्रेष्ठ/आर्थिक आवाज

पोखरा, १५ पुस । अंग्रेजी नयाँ वर्षमा पोखराका स्टार लेवलका होटलहरु पर्यटकले भरिएका छन् । अंग्रेजी नयाँ वर्ष पोखरामा मनाउनका लागि आन्तरिक तथा बाह्य पर्यटक ठूलो मात्रामा पोखरा भित्रिएपछि पोखराका होटलहरु भरिभराउ भएका हुन् । अंग्रेजी नयाँ वर्षको स्वागतार्थ रेष्टुरेण्ट एण्ड वार एशोसियसन (रेवान) पोखराले पोखरा सडक महोत्सव आयोजना गरेपछि महोत्सवमा सहभागी हुन आउने पर्यटकको संख्या बढेपछि पोखराका अधिकांश होटलहरुको अकुपेन्सी ह्वातै बढेको छ । ठूला होटलका अकुपेन्सी फुल भइसक्दा साना होटलहरुमा पनि अकुपेन्सी बढेको छ । साना होटलहरुमा भने अकुपेन्सी फुल भइनसकेको पश्चिमाञ्चल होटल संघले जनाएको छ । तर होटल खोज्दै हिंड्ने पाहुना र प्रि बुकिङ गर्न चाहनेले भने कोठा नपाएको गुनासो गर्ने गरेका छन् ।

पोखराका ठूला होटलहरुमा अहिले अकुपेन्सी फुल रहेको पश्चिमाञ्चल होटल संघ पोखराका अध्यक्ष विकल तुलाचनले जानकारी दिए । उनले भने, ‘पोखराका अधिकांश स्टार लेवलका होटलहरुको अकुपेन्सी फुल छ, साना होटलहरुमा पनि अकुपेन्सी बढेको छ तर अझै केहि पर्यटकलाई राख्ने क्षमता भने छ ।’  पोखराको एक मात्र पाँचतारे होटल पोखरा ग्राण्ड पर्यटकले भरिएका छन् । पोखराको पार्दी विरौटामा रहेको होटल पोखरा ग्राण्डमा अहिले अकुपेन्सी फुल रहेको होटलका महाप्रवन्धक रोसन खवासले जानकारी दिए ।

डिसेम्बर २७ गतेदेखि जनवरी १ तारिखसम्मै अकुपेन्सी फुल रहेको उनले बताए । उनका अनुसार जनवरी एकसम्मलाई सबै कोठा प्रिबुकिङ भइसकेका छन् । न्यू इयर इभमा गाला डिनरसहित लाइभ म्यूजिक विथ कल्चरल प्रोग्रामले पनि प्रिबुकिङमा सघाएको उनको भनाई छ । होटल पोखरा ग्राण्डमा १ सय ४० कोठाहरु छन् । सबै कोठामा डबल बेड रहेका कारण यस होटलमा २ सय ८० जनासम्म अटाउँछन् ।

पोखराको घारीपाटनमा रहेको अर्को चर्चित सांग्रीला होटलमा पनि अकुपेन्सी फुल भएको छ । थ्रीस्टार लेवलको मानिने यस होटलमा पनि डिसेम्बर २७ गतेदेखि नै अकुपेन्सी फुल रहेको होटलका रेसिडेन्ट म्यानेजर गुप्त गिरीले जानकारी दिए । उनका अनुसार जनवरी १ तारिखसम्मका लागि प्रिबुकिङ सकिएका छन् । उनले भने, ‘प्रिबुकिङ राम्रो भयो, अकुपेन्सी फुल भयो, अब कोठा छैन ।’ सांग्रिला होटलमा कुल ६१ वटा कोठाहरु छन् । सबै एकै प्रकार र सबै कोठामा डबल बेड भएकाले यो होटलमा १२२ जनासम्म अटाउँछन् । यद्वपि, एउटा कोठामा ३ जनासम्म एडजस्ट गर्न सकिने हुँदा १८३ जनासम्म पनि बस्न मिल्ने रेसिडेन्ट म्यानेजर गिरीले बताए ।

पोखराको अर्को ठूलो होटल वाराहीमा पनि अकुपेन्सी फुल भएको छ । यसमा पनि डिसेम्बर २७ देखि जनवरी १ तारिखसम्मका लागि अकुपेन्सी फुल भएको हो । लेकसाइडस्थित होटल वाराहीका महाप्रबन्धक राजकुमार केसीले होटलका सबै कोठा प्रिबुकिङ भइसकेको बताए । होटल वाराहीमा पनि न्यू इयर इभका दिन लाइभ म्यूजिकसहित कल्चरल प्रोग्राम हुँदैछ । होटल वाराहीमा कुल ८० वटा कोठाहरु छन् । २ वटा स्विट रुम, ८ वटा सेमी स्विट रुम रहेको यो होटलमा ७३ वटा डिलक्स रुम छन् । होटल वाराहीमा कुल १६० जनासम्म अटाउने क्षमता रहेको महाप्रबन्धक केसीले जानकारी दिए ।

पोखराको राम्रो होटलमा पर्ने लेकसाइडस्थित माउण्ट कैलाश रिसोर्टमा पनि अकुपेन्सी फुल रहेको छ । डिसेम्बर २७ देखि डिसेम्बर ३१ सम्मै अकुपेन्सी फुल रहेको होटलका सञ्चालक नरेशबहादुर भट्टराईले जानकारी दिए । उनका अनुसार जनवरी १ तारिखलाई भने प्रिबुकिङका लागि केही कोठाहरु खाली रहेका छन् । माउण्ट कैलाश रिसोर्टमा कुल ५१ वटा कोठाहरु छन् । जसमा सबै कोठामा डबल बेड रहँदा दोब्बर संख्यामा बस्न मिल्ने सञ्चालक भट्टराईले बताए ।

पोखराका प्रायः भरिभराउ हुने अतिथि रिसोर्टमा नयाँ वर्षमा फुल अकुपेन्सी छ । अतिथि रिसोर्टमा डिसेम्बर २५ गतेदेखी नै फुल अकुपेन्सी रहेको र जनवरी २ तारिखसम्मै प्रि बुकिङ भई अकुपेन्सी फुल भएको रिसोर्टका सञ्चालक भरत शर्माले जानकारी दिए । अतिथि रिसोर्टमा कुल ४९ रुमहरु छन् । एउटा स्विट, ३ वटा लक्जरियस र बाँकी ४५ वटा डिलक्स रुम रहेको र यी होटलमा करिब एक सय जना अटाउने क्षमता रहेको उनले बताए । उनका अनुसार होटलका रुमहरु ७ हजारदेखि २५ हजारसम्ममा उपलब्ध हुनेछन् ।

पछिल्लो क्रममा चर्चित बन्दै आएको होटल ग्लासियरमा पनि फुल अकुपेन्सी रहेको छ । डिसेम्बर २६ तारिखदेखि जनवरी १ तारिखसम्मै फुल अकुपेन्सी रहेको होटलका सञ्चालक राजेन्द्र ढकालले जानकारी दिए । उनका अनुसार होटलमा अधिकांश विदेशी पाहुना छन् । रेटमा कहिल्यै तलमाथि नगर्ने होटलका रुपमा लेकसाइडको गौरीघाटमा रहेको होटल ग्लासियर परिचित छ । होटल ग्लासियरमा हाल ८० प्रतिशत विदेशी र २० प्रतिशतमात्र नेपाली पाहुना छन् । होटल ग्लासियरमा ८ हजारदेखि माथिका कोठाहरु मात्र पाइन्छन् ।

पोखराको कुटि रिसोर्टमा पनि फुल अकुपेन्सी रहेको सञ्चालक देवेन्द्र केसीले जानकारी दिए । कुटी रिसोर्टमा ५१ वटा कोठा छन् । कुटी रिसोर्ट पनि क्रिसमसदेखि नै पुरै प्याक छ । ‘हामीले यहाँ आउने पर्यटकलाई स्तरीय सेवा प्रदान गर्न सफल छौं,’ उनले भने । रिसोर्टमा १ सय जना भन्दा बढी पर्यटक राख्ने क्षमता छ ।

लेकसाइडमै रहेको होटल रानीवन आर्केडमा पनि अकुपेन्सी फुल छ । डिसेम्बर २७ देखि जनवरी १ तारिखसम्मै अकुपेन्सी फुल रहेको होटलका सञ्चालक हरि भुजेलले जानकारी दिए । स्ट्याण्डर्ड होटल मध्येको यो होटलमा प्रिबुकिङ राम्रो भएको सञ्चालक भुजेलले बताए । उनका अनुसार होटलमा ८० प्रतिशत विदेशी र २० प्रतिशत नेपाली पाहुना छन् । यो होटलमा कुल ४५ वटा कोठाहरु छन् । होटलमा स्विट रुम २ वटा, ५ वटा सुपर डिलक्स, २० वटा डिलक्स र १८ वटा स्ट्याडर्ड रुम रहेको भुजेलले बताए । उनका अनुसार यस होटलमा प्रति रात ३ हजार ५ सयदेखि ७ हजारसम्मका कोठाहरु छन् ।

पोखराको होटल क्राउन हिमालयजमा पनि अकुपेन्सी फुल छ । लेकसाइडको यस होटलमा डिसेम्बर २७ तारिखदेखि जनवरी १ तारिखसम्मै अकुपेन्सी फुल रहेको होटलका सञ्चालक आग्रह अर्यालले जानकारी दिए । उनका अनुसार एक तारिखसम्म होटलका सबै कोठाहरु प्रिबुकिङ भइसकेका छन् । होटल हिमालयजमा कुल ३८ वटा कोठाहरु छन् । २ वटा स्विट रुम र बाँकी सबै डिलक्स रुम रहेको यस होटल कुल ८० जना क्षमताको छ । होटलमा ३ हजारदेखि ४ हजार ५ सयसम्मको कोठा उपलब्ध हुने सञ्चालक अर्यालले जानकारी दिए ।

ठूला होटलमा पर्यटक बढेर अकुपेन्सी फुल हुँदा साना होटलहरु भने अझै आधा भन्दा बढी होटलका कोठाहरु खाली रहेका छन् । पश्चिमाञ्चल होटल संघका अध्यक्ष विकल तुलाचनका अनुसार २७ र २८ तारिखसम्म ४० प्रतिशत मात्रै अकुपेन्सी रहेका छन् । यो बढेर आइतबारदेखि ७० प्रतिशतसम्म अकुपेन्सी पुग्ने अपेक्षा गरिएको अध्यक्ष तुलाचनले बताए । उनका अनुसार तनहुँ, चितवन, बन्दीपुरलगायतका ठाउँमा पनि कार्यक्रम भएकाले त्यसको असर पोखरामा देखिएको छ । उनले भने, ‘अहिलेसम्म होटलको अकुपेन्सी र प्रि बुकिङ उत्साहजनक छैन, आजदेखि जनवरी १ सम्म बढेर ७० प्रतिशतसम्म पुग्ने आशा छ ।’ नेपालीले पहिल्यै बुकिङ गर्ने बानी नभएका कारण प्रिबुकिङ कम भएको हुनसक्ने अध्यक्ष तुलाचनको बुझाई छ । अध्यक्ष तुलाचनले अकुपेन्सी कम भएको र प्रि बुकिङसमेत नभएको बताइरहँदा कोठा खोज्दै हिंड्नेहरुले साना होटलहरुमासमेत कोठा नपाएको बताएका छन् । पोखरेली पत्रकार सागरराज तिमिल्सिनाले काठमाडौंबाट आउने २ जनाका लागि कोठा खोज्दा लेकसाइडमा कहिंपनि कोठा नपाउँदा आफूले हैरानी बेहोर्नुपरेको बताए ।

पश्चिमाञ्चल होटल संघका अध्यक्ष विकल तुलाचनले भने आफ्नै होटलमा पनि अहिलेसम्म ४० प्रतिशत अकुपेन्सी रहेको बताए । लेकसाइडमै रहेको उनको होटल फेयरमाउण्टमा प्रिबुकिङपनि ३० प्रतिशत मात्रै रहेको उनले बताए । फेयरमाउन्ट होटलमा कुल १८ वटा कोठाहरु छन् । ६ वटा डिलक्स र १२ वटा स्ट्याण्डर्ड रुम रहेको होटल फेयरमाउण्टमा १ हजार २ सयदेखि २ हजारसम्ममा कोठाहरु उपलब्ध हुन्छन् । पोखरामा पर्यटक स्तरीय ४ सय भन्दा बढी होटलहरुमा १० हजार कोठाहरु रहेको पश्चिमाञ्चल होटल संघले जनाएको छ । यी होटलहरुमा २० हजार पर्यटक अटाउने क्षमता रहेको संघको दाबी छ । त्यसबाहेक केही साना होटलहरु पनि पोखरामा छन् । त्यसका अलावा पोखराबाट नजिकका क्षेत्रमा होमस्टेहरु पनि छन् ।

You might also like

Comments are closed.