पोखराको कोरोना कोषमा गुप्तेश्वर गुफाको ५ लाख, डेभिजफल क्लबको १ लाख

पोखरा । पोखरा महानगरपालिकाले स्थापना गरेको राहत कोषमा गुप्तेश्वर महादेव गुफा व्यवस्थापन समिति छोरेपाटनले ५ लाख रुपैयाँ सहयोग गरेको छ । समितिका अध्यक्ष विष्णुप्रसाद पौडेल लगायतको टोलीले ५ लाखको चेक पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीलाई हस्तान्तरण गरेको हो ।

सहयोग हस्तान्तरण कार्यक्रममा प्रमुख जिसीले सहयोग सानो÷ठूलो नहुने भन्दै गुप्तेश्वर गुफा व्यवस्थापन समितिले गरेको सहयोग सह्रानीय रहेको बताए । महानगरले करिब २५ हजार परिवारलाई राहत वितरण गरिसकेको बताउँदै राहत वितरणमा भएका कमी कमजोरीको बारेमा मसिनो गरी अध्ययन अनुसन्धान गरिएको बताए ।

गुप्तेश्वर गुफा व्यवस्थापन समितिका अध्यक्ष विष्णुप्रसाद पौडेलले गुफाको आम्दानीबाट नै महानगरलाई सहयोग गरेको बताउँदै दुई शिक्षण संस्था पनि त्यसैको आम्दानीबाट सञ्चालन भइरहेको बताए । गुफा अवलोकन बन्द हुँदा आम्दानी घटेको उनको भनाइ छ । कोरोना संक्रमण जोखिमबाट उत्पन्न विपदको समयमा महानगरलाई सहयोग गर्न पाउँदा खुसी लागेको वरिष्ठ उपाध्यक्ष गोपाल बरालले बताए । समितिका सचिव हरि लम्सालले लकडाउनका कारण समस्यामा परेका पीडितले राहत पाउने वातावरण मिलाउन मिडियाले पनि भूमिका खेल्नुपर्ने बताउँदै सतही भन्दा पनि अध्ययन र अनुसन्धान गरेर सामाचार सम्प्रेषण गर्न उनले आग्रह गरे ।

यसैगरी छोरेपाटनकै डेभिजफल क्लबले पनि महानगरको राहत कोषमा १ लाख सहयोग गरेको छ । क्लबका अध्यक्ष खेमराज बराल पुष्पले राहत वितरण गर्दा वास्तविक सेवाग्राहीलाई दिने वातावरण सबैले मिलाउनुपर्ने बताए । क्लबका उपाध्यक्ष कमलबहादुर भुजेलले समस्यामा परेकालाई महानगरले राहत वितरण गर्नु राम्रो कार्य भएको भन्दै यसमा सबैले सहयोग गर्नुपर्ने बताए । पोखरा महानगरपालिकाको राहत कोषमा शनिबार सम्म ३ करोड ८८ लाख ७५ हजार ५ सय १ रुपैंया जम्मा भएको छ ।

You might also like

Comments are closed.