सुरेन्द्र पौडेल
पोखरा, ३ मंसिर । पोखरा १७ सीतापाइलामा अन्तर्राष्ट्रियस्तरको सुविधा सम्पन्न फनपार्क बन्ने भएको छ । आगामी वैशाखदेखि सञ्चालन गर्ने लक्ष्यसहित ‘फिस्टेल ड्रिम फन पार्क’ निर्माण भइरहेको छ । ६५ रोपनी जग्गामा निर्माण भइरहेको पार्कमा करिब ४० करोड रुपैयाँ लगानी हुने मार्केटिङ डाइरेक्टर हिराबहादुर केसीले जानकारी दिए ।
पार्कमा विभिन्न प्रकारका २४ वटा खेलका संरचनाहरु तयार पारिदैछ । फ्रिफल, ५ वटा स्विमिङ पुल, वेव पुल, रोलर कस्टर, १२ वटा इनडोर गेम लगायत विभिन्न गतिविधि पार्कमा समावेश गरिने केसीले जानकारी दिए । सुविधा सम्पन्न रेष्टुरेन्ट पनि बनाइने बताइएको छ ।
पोखरा आउने आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरी पार्क सञ्चालनमा ल्याउन लागिएको अपरेसन इन्चार्ज मदनकुमार श्रेष्ठले जानकारी दिए । भारत र चीनबाट सामानहरु आयात गरी पार्क निर्माणको काम धमाधम भइरहेको श्रेष्ठले बताए । ‘पोखरामा हामीले पर्यटकीय गतिविधि बढाउन योगदान पु¥याउनेछौं,’ उनले भने, ‘यहाँ आएका पर्यटकले एक दिन सजिलै कटाउन सक्छन् ।’ पोखरा आउने पर्यटकको बसाईं अवधि बढाउन समेत पार्कले सहयोगी भूमिका खेल्ने श्रेष्ठले बताए ।
विभिन्न पेशा व्यवसायमा आवद्ध १५ जना व्यवसायीले पार्कमा संयुक्त लगानी गरेका छन् । पार्क सञ्चालनमा आएपछि करिब २ सय जनाले प्रत्यक्ष रोजगारी पाउने केसीले जानकारी दिए । ‘नेपालमै हालसम्म सुरु नभएका खेल गतिविधिलाई समेत पार्कमा समावेश गर्ने तयारी भइरहेको छ,’ केसीले भने, ‘यो पार्कलाई नेपालकै नमूना प्रोजेक्टमा रुपमा विकास गर्ने हाम्रो लक्ष्य हो ।’
Comments are closed.