पोखराको पर्यटन विकासका लागि फेवाताल जोगाऔं– राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिना

पोखरा, ४ चैत

राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले पोखराको पर्यटनको विकासकालागि फेवातालको संरक्षणको लागि एकिकृत योजनाको खाँचो रहेको बताएका छन् । पोखरा चेम्बर अफ कमर्शले पोखरामा आयोजना गरेको पोखराको पर्यटन क्षेत्रको सम्भावना, चुनौती र नयाँ लगानीको विषयमा पर्यटन ब्यवसायीसँग गरेको अन्तक्रिया कार्यक्रममा सो कुरा बताएका हुन् ।

“फेवाताल छ पोखरा छ, फेवातालबाट कमाउनेहरु मात्रै निस्किए तर जोगाउनु पर्छ भन्नेहरु भएनन्” उनले भने “संरक्षणको नाममा पैसाको खोलो बग्यो तर नतीजामुखि हुन सकेन ।” फेवाताल वरिपरि साइकल लेन बनाएर पर्यटकलाई आर्कषण गर्न सकिने उनको भनाई छ । पोखरा र आसपासका जिल्लाहरुको पर्यटन प्रवद्र्धनमा पनि सामुहिक पहलको खाँचो औल्याए । व्यवसायमा विविधता ल्याएर उत्पादनलाई पर्यटनसँग जोड्नु पर्ने उनको भनाइ थियो । उनले लगानी मैत्रीेवातावरण बनाएर देशमा विदेशी पुँजी भित्र्याउन सकिने बताए । पर्यटन विकासको सम्भावना प्रचुर रहेको भन्दै व्यवसाय सृजनशिलता आवश्यक हुने धारणा व्यक्त गरे ।

पोखरा पर्यटन परिषद्का अध्यक्ष चिरञ्जीवि पोखरेलले पर्यटन क्षेत्रमा सरकारको लगानी शून्य रहेको बताए । पर्यटन व्यवसायी पटक पटक आफ्ना समस्याहरु राखेपनि सरकारले समस्या समाधान तफै ठोस कदम नचालेको उनको आरोप छ । पर्यटकको साढे एक दिनको पोखरा बसाइले पोखराको पर्यटन व्यवसायलाई धान्न मुस्किल परेको भन्दै पूर्वाधार विकास विना गरेको भ्रमण वर्षले खासै अर्थ नराख्ने उनको भनाइ छ । कार्यक्रममा परिषद्का पूर्व अध्यक्ष टिकाराम सापकोटा, केदार शर्मा, महासचिव दिल गौतम, कोषाध्यक्ष तारानाथ पहारी, ट्रेकिङ्ग एजेन्सिज एशोसिएशन अफ पश्चिमाञ्चलका अध्यक्ष हरि भुजेल, नाट्टा गण्डकीका अध्यक्ष सन्तोष पोखरेल, होटल एशोसिएशनका अध्यक्ष विकल तुलाचन लगायतले पोखरा पर्यटन क्षेत्रमा धेरै चुनौतीहरु थपिदै गएको बताए । अन्तराष्ट्रिय विमान स्थलको काम तिव्र रुपमा अघि बढि रहँदा सडकहरुको अवस्था भने दयनीय रहेको, सरकार व्यवसायी मैत्री हुन नसक्दा बैंकको चर्को व्याज, कर र पर्यटक आर्कषित पूर्वाधार अभावमा पर्यटन क्षेत्रमा चुनौती थपिदै गएको व्यवसायीहरुले गुनासो गरे । लेकसाइडमा राज्यलाई कर तिर्ने भन्दा नतिर्ने र एउटै व्यवसाय दर्ताबाट थुप्रै व्यवसाय सञ्चालन गर्ने काश्मिरी व्यवसायीबाट राज्यप्रति उत्तरदायी व्यवसायीलाइ मर्कामा परेको भन्दै सम्बन्धित निकायलाई ध्यान दिन उनीहरुको आग्रह थियो ।
पोखरा चेम्बर अफ कमर्शका अध्यक्ष किसान सुनारले पर्यटन व्यवसायनै आर्थिक समृद्धिको बलियो आधार भएको भन्दै उठेका सवालहरुलाइ लिपिवद्ध गरेर सम्बन्धित निकायसमक्ष पुर्याएर कार्यान्वयनका लागि पहल गरिने बताए ।

You might also like

Comments are closed.