पोखराको भाटभटेनी माथिल्लो तलामा खुल्यो पोखरा स्काइ स्पोर्टस, फुटसलदेखी बारसम्म

 

पोखरा, १२ मंसीर ।

पोखराको भाटभटेनीको माथिल्लो तलामा स्काइ स्पोर्टस सञ्चालनमा आउने भएको छ । पोखरा स्काइ स्पोर्टसले भाटभटेनीको छतमा ६ करोडको लागतमा आवश्यक संरचना बनाई स्काइ स्पोर्टस सञ्चालनमा ल्याउन लागेको हो । स्काइ स्पोर्टसमा फुटसल, टेनिस, जिम, रेष्टुरेण्ट, बार, क्याफेलगायतका सेवा दिइने पोखरा स्काइ स्पोर्टसका अध्यक्ष सुजन गुरुङले बुधबार पोखरामा आयोजित पत्रकार भेटघाटमा जानकारी दिए । स्काइ स्पोर्टसमा लन टेनिस, जिम, जुम्बा, कार्डियो, साउना, स्टिम, ज्याकोजी, पुल हाउसलगायतका सेवा पनि दिइने उनले बताए । उनका अनुसार स्काइ स्पोर्टसमा भर्चुअल रियालिटी र प्ले स्टेशनको पनि सुविधा रहनेछ ।

स्काई स्पोर्टस मंसीर २८ गते सञ्चालनमा आउने सञ्चालक हर्कराज गुरुङ ‘भाई’ले जानकारी दिए । उनले स्वस्थ जीवनशैली अपनाउनका लागि पोखरेलीलाई सघाउन स्काई स्पोर्टस खोलिएको बताए । साथै उनले यो कन्सेप्ट नेपालकै पहिलो र नमूना हुनसक्ने दाबीसमेत गरे ।

स्काई स्पोर्टसको सेवा लिन कार्ड लागू गरिने भएको छ । युवा लक्षित गरेर सिल्भर, गोल्ड र प्लाटिनम गरी तीन प्रकारको कार्ड लागू गरिने स्काई स्पोर्टसका अध्यक्ष सुरज गुरुङले जानकारी दिए । तीन प्रकारको कार्डमा एक महिनादेखी एक वर्षसम्मको प्याकेज रहेको उनको भनाई छ । ८ सयदेखी एक लाख ५० हजारसम्मको प्याकेज रहने यी कार्डहरु मध्ये गोल्ड कार्डमा १० प्रतिशत, सिल्भरमा ७.५ प्रतिशत र प्लाटिनममा १५ प्रतिशत छुट दिइने उनले बताए ।

कार्डमा खेलसँगै खानामा पनि प्याकेज सहितको छुट रहेको स्काइ स्पोर्टसका प्रमुख कार्यकारी अधिकृत सुदीप दवाडीले जानकारी दिए । उनका अनुसार स्काइ स्पोर्टसमा रहेको रेष्टुरेण्ट एक सय जनाको क्षमताको छ ।

६ करोडको लागतमा सञ्चालनमा आउन लागेको स्काई स्पोर्टसमा सुरज गुरुङ, पप संगीत क्षेत्रमा चर्चित लेकाली व्याण्डका भोकलिष्ट हर्कराज गुरुङ ‘भाई’, सुदीप दवाडी, ओमकुमार लामा, शंकर भुजेल, आशिष गुरुङ र शरद पाठकको लगानी रहेको छ ।

You might also like

Comments are closed.