लेकसाइडमा ‘पोखरा सडक महोत्सव’ शुरु, विकासको थुंगा थुंगा उनीरहेका छौं, माला बनाउन मात्र बाँकी छ : मुख्यमन्त्री गुरुङ

सन्देश श्रेष्ठ
पोखरा, १३ पुष

पोखराको पर्यटकीय केन्द्र लेकसाइडमा ‘पोखरा सडक महोत्सव’ शुरु भएको छ । अंग्रेजी नयाँ वर्षको स्वागतार्थ रेष्टुरेण्ट एण्ड बार एशोसियसन (रेवान) पोखराको आयोजनामा आजदेखी शुरु भएको महोत्सव पुष १७ गतेसम्म जारी रहनेछ । महोत्सवको गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले उद्घाटन गरे ।

उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री गुरुङले पोखरालाई पर्यटकीय राजधानी बनाएरै छाड्ने उद्घोष गरेका छन् । उनले भने,‘पोखरा प्रदेशको राजधानी त हो नै, सँगसँगै पर्यटकीय केन्द्र हो, लेकसाइड पोखराको मुटु हो, हामीले यसलाई पर्यटकीय राजधानी बनाउने निर्णय गरेर संघीय सरकारलाई सिफारिस गरिसकेका छौं, पोखरा चाँडै नै पर्यटकीय राजधानी बनाउँछौं ।’

मुख्यमन्त्री गुरुङले पोखरा प्रकृतिको बरदान भएकाले यसलाई समृद्धीमा परिणत गर्नुपर्ने र त्यसका लागि प्रदेश सरकारले प्रयास गरिरहेको उल्लेख गरे । पर्यटन नै गण्डकी प्रदेशको समृद्धीको आधार भएको बताउँदै उनले भने,‘हामीसँग के छैन ? प्रकृतिको खानी छ, संस्कृतिको धनी छौं, हिमाल छ, ताल छ, सबै सबै छ, अब यसलाई व्यवसायीकता दिनमात्र बाँकी हो, त्यसका लागि प्रदेश सरकारले तयारी गरिरहेको छ ।’

मुख्यमन्त्री गुरुङले पोखरालाई चौविसै घण्टा खुलाइने बताए । उनले भने,‘पोखराका मुख्य क्षेत्रहरु चौविसै घण्टा खुलोस् भन्ने चाहन्छ प्रदेश सरकार, चौविसै घण्टा होटल, रेष्टुरेण्ट खुलोस्, व्यापार व्यवसाय होस् भन्ने चाहन्छ, त्यसका लागि हामीले तयारी तिव्र बनाएका छौं ।’ उनले पोखराका डाँडाकाँडामा होटल र रेष्टुरेण्टले भरिउन् भन्ने चाहना भएको बताए । पोखरा आसपासका क्षेत्रमा पर्यटकीय पूर्वाधार निर्माण भइरहेको बताउँदै उनले भने,‘दक्षिणमा रहेको पुम्दीभुम्दीमा शान्ति स्तुप छ, अर्को महादेवको अग्लो मुर्ती बन्दै छ, पूर्वोत्तरमा काहुँडाँडा छ, काहुँडाँडामा बुद्ध विहार बन्दैछ, उत्तरमा हिमाल छ, पश्चिममा सराङ्कोट छ, यो निर्माण सम्पन्न भएपछि पोखरामा पर्यटक आगमनमा बृद्धि हुन्छ ।’ उनले पूर्वाधारमा फड्को मार्ने प्रयास गरिरहेको बताउँदै भने,‘विकासका कार्यहरु एकपछि अर्को गर्दै बनिरहेका छन्, विकासका प्रोडक्टहरुको थुंगा थुंगा उनीरहेका छौं, अब यो माला बनाउन मात्र बाँकी छ ।’

मुख्यमन्त्री गुरुङले कोरला–पोखराको बाटो निर्माण अन्तिम चरणमा रहेको बताउँदै पोखरा–भैरहवा, पोखरा–काठमाडौंको बाटो कम्तिमा चार लेनको बनाइने र त्यसपछि पोखरामा पर्यटकको आगमन दोब्बरले बृद्धि हुने दाबी गरे । उनले मध्य पहाडी लोकमार्ग निर्माण सम्पन्न भएर सञ्चालनमा आएसँगै त्यसको प्रभावपनि पर्यटनमा देखिने उल्लेख गरे ।

उनले पर्यटकलाई आकर्षित गर्न पोखरामा बहुजातिय, बहु सांस्कृतिक ग्राम बनाउने घोषणा गरे । बहुजातिय, बहु सांस्कृतिक ग्राममा गण्डकी प्रदेशका सबै जातिको घर निर्माण गर्ने र संस्कृतिपनि जीवन्त राखिने बताए । अबको केहि वर्षभित्र गण्डकी प्रदेशका होमस्टेहरुलाई स्मार्ट होमस्टेमा रुपान्तरण गरिसक्नेपनि उनले उल्लेख गरे । साथै उनले पोखरामा सबै खेल हुने खालको अन्र्तराष्ट्रिय रंगशाला, अन्र्तराष्ट्रिय सभाहललगायत बनाइने उल्लेख गरे ।

मुख्यमन्त्री गुरुङले गण्डकी प्रदेशमा रोजगारी सृजना, गरिबी हटाउने र उत्पादन बढाउनेलाई लगानीका लागि सँधै खुल्ला गरिने बताए । तर लगानीका लागि रोजगारी सृजना, गरिबी हटाउने र उत्पादन बढाउने कुरा भने पूर्व शर्तको रुपमा रहने स्पष्ट पारे । साथै उनले फेवाताल पोखरेलीको जीवनसँग जोडिएको बताउँदै यसको संरक्षण, सम्बद्र्धन, प्रवद्र्धनसँग व्यवसायीकरणपनि गरिनुपर्नेमा जोड दिए ।

महोत्सव पोखराको शहिदचोकदेखि खहरे डिहिकोपाटनसम्म करीब साढे तीन किलोमिटर क्षेत्रमा रहेको छ । ‘अगेंजी नयाँ बर्षको गन्तव्य स्थल’ बनाउनका लागि आयोजित महोत्सवको मूल नारा ‘सडकमै खाऔं, सडकमै नाचौं र सडकमै रमाऔं रहेको छ । आन्तरिक तथा वाह्य पर्यटन प्रवद्र्धन, जनजातिसँग सम्बन्धित लोपोन्मुख भेषभुषा, कला, संस्कृति, ग्रामिण क्षेत्रमा उत्पादित घरेलु सामाग्रीहरुको संरक्षणका साथै प्रवद्र्धन गर्ने महोत्सवको उद्धेश्य रहेको रेवान पोखराका अध्यक्ष बुधराज भुजेल ‘भीमसेन’ले जानकारी दिए ।

महोत्सवमा सडकमै राष्ट्रिय तथा अन्र्तराष्ट्रिय खानाका परिकारहरु, विभिन्न मनोरञ्जनात्मक खेलकुदका कार्यक्रमहरु, हस्तकला प्रदर्शनी, साहसिक पर्यटक खेलकुद, वृत्तचित्र प्रदर्शनी, वाल उद्यानलगायत आकर्षणका रुपमा रहने अध्यक्ष भुजेलले जानकारी दिए ।

महोत्सवमा राष्ट्रिय तथा अन्र्तराष्ट्रिय सांस्कृतिक कार्यक्रम विशेष आकर्षणको रुपमा रहने रेवान पोखराका निवर्तमान अध्यक्ष सूर्यबहादुर भुजेलले बताए । उनका अनुसार महोत्सवमा देशका सातै प्रदेशका पहिचान झल्कने सांस्कृतिक टोली तथा भारत, पाकिस्तान र चीनको सांस्कृतिक टोलीले पनि विशेष प्रस्तुती दिनेछन् । त्यस्तै ख्यातिप्राप्त कलाकारहरुको दोहोरी, हास्य प्रहसन र साँझमा लाइभ कन्सर्ट आयोजना हुने रेवान पोखराका महासचिव गणेशबहादुर थापाले जानकारी दिए । यसैगरी सडकमा मिनि स्टेजका रुपमा ट्रक राखेर लाइभ कन्सर्ट आयोजना गरिने उनले बताए ।

महोत्सवको अवसरमा पर्यटक दौड प्रतियोगिता, डुंगा खियाउने प्रतियोगिता, खुल्ला दौड प्रतियोगिता, रेष्टुरेण्टका कर्मचारीबीच ट्रे रेस प्रतियोगितालगायतका खेलकुदका कार्यक्रम पनि रहेको रेवान पोखराका निवर्तमान अध्यक्ष चौबहादुर गुरुङले जानकारी दिए ।

footwear exchange
You might also like

Comments are closed.