सन्देश श्रेष्ठ
पोखरा । पोखराको हार्डवयर व्यवसायमा करिब सवा अर्ब रुपैयाँ लगानी भएको छ । पोखरामा निर्माण सामग्री बिक्री गर्ने उद्देश्यले खोलिएका करिब तीन सय हार्डवयर पसलमा १ अर्ब २५ करोड रुपैयाँ भन्दा बढी लगानी भएको हो । पोखरामा सानादेखि ठूलासम्म हार्डवयर व्यवसाय छन् । साना हार्डवयरहरुले ३० देखि ४० लाख रुपैयाँसम्म लगानी गरेका छन् भने ठूला हार्डवयरहरुले एक करोड भन्दा पनि बढी लगानी गरेका छन् ।
पोखरामा रहेका तीन सय बढी हार्डवयर पसल मध्ये २०९ वटा हार्डवयर पसल पोखरा हार्डवयर एशोसियसन कास्कीमा आबद्ध छन् । बाँकी हार्डवयरहरु एशोसियसनमा आबद्ध हुन बाँकी रहेको हार्डवयर एशोसियसन कास्कीका अध्यक्ष राजेशकुमार गुप्ताले बताए । ‘आबद्ध नभएका हार्डवयर व्यवसायीहरुलाई पनि समेट्ने प्रयास भइरहेको छ,’ उनले भने, ‘हामीले प्रयास गरिहेका छौं, सायद चाँडै उनीहरुलाई पनि आबद्ध गराउन सफल हुनेछौं ।’ उनका अनुसार आबद्ध नभएका हार्डवयर पसलहरुले एशोसियसनमा आबद्ध हुन चाहना देखाइरहेका छन् । तर विविध कारणले सबैलाई आबद्ध गराउन नसकेको उनको भनाई छ । उनले अब आउने नेतृत्वले उनीहरुलाई समेट्ने बताए ।
एशोसियसनमा आबद्ध नभएका हार्डवयरहरुले मनोमानी मूल्य तोक्दा आफूहरुलाई मर्का परेको एशोसियसनमा आबद्ध हार्डवयर व्यवसायीहरु गुनासो गर्छन् । खास गरेर त्यस्ता व्यवसायीहरुले मूल्य कम गरेर ग्राहक भड्काउने र तौल कम दिएर ग्राहक ठग्ने गरेको उनीहरुको आरोप छ । यसले गर्दा हार्डवयर व्यवसाय नै बद्नाम हुँदै गएको भन्दै उनीहरुले अनुगमन तिव्र पारेर कार्वाही गर्नुपर्ने बताएका छन् । तर एशोसियसनका अध्यक्षका राजेशकुमार गुप्ता भने यो आंशिक सत्य मात्र भएको बताउँछन् । एशोसियसनमा आबद्ध नभएका सबैले भन्दा पनि केहीले मात्र ठग्ने र ग्राहक भड्काउने काम गर्ने उनको भनाई छ । यसका लागि सरकारले अनुगमन गरेर कार्वाहीको दायरामा ल्याउनुपर्ने उनले पनि बताए । साथै ग्राहक आफैपनि सचेत हुनुपर्ने उनको भनाई छ ।
अध्यक्ष गुप्ताले भने, ‘अन्य ठाउँमा भन्दा कसैले सस्तो दियो भने ग्राहकले पनि किन सस्तो दियो भनेर बुझ्नुपर्छ, कसैले घाटा खाएर त दिन सक्दैन नि, त्यस्तै सामान किन्दा जोखेर मात्रै किन्ने गरियो भनेपनि ठग्नबाट बच्न सकिन्छ, यसका लागि ग्राहक आफै हो सचेत हुने ।’ यद्यपि ठगिएको गुनासो आए कार्वाही गर्ने गरिएको उनले बताए ।
पोखरामा रहेका करिब तीन सय हार्डवयर पसलमा १ हजार २ सय बढीले प्रत्यक्ष रोजगारी पाएका छन् । एशोसियसनका अध्यक्ष गुप्ताका अनुसार पोखरामा रहेका साना हार्डवयरमा ३ देखि ४ जनासम्म र ठूला हार्डवयरमा ७ देखि ८ जनासम्मले प्रत्यक्ष रोजगारी पाएका छन् । त्यसबाहेक अप्रत्यक्ष रुपमा ट्रक, मजदुर, ठेकेदारलगायतले पनि काम पाउने उनको भनाई छ ।
हार्डवयर व्यवसायीलाई सरकारले सहयोग नगरेको एशोसियसनका अध्यक्ष गुप्ताको गुनासो छ । प्रायः सबै सामानमा भ्याट तिरेपनि सरकारले हार्डवयर व्यवसाय विकासमा सहयोग नगरेको उनको भनाई छ । हार्डवयर व्यवसायी मध्ये करिब ९० प्रतिशतले भ्याटमा काम गर्ने दाबी गर्दै उनले भ्याट बिल नदिने ठाउँमा आफूहरुले कारोबार नै नगर्ने दाबी गरे । भन्सार नीति राम्रो नहुँदा नेपाली हार्डवयर व्यवसायी ठगिने गरेको उनले बताए । सीमा नाकाको भन्सारमा भारतले जिएसटी लगाउँदा व्यवसायीले पैसा बढी तिरेर सामान ल्याएपनि त्यो पैसा फिर्ता नहुँदा व्यवसायी ठगिने गरेको उनको भनाई छ । जिएसटी पछि व्यवसायीलाई फिर्ता दिनुपर्ने पैसा भएपनि त्यो पैसा भारत सरकारले फिर्ता नगर्दा व्यवसायी ठगिएको उनले बताए ।
यसैगरी बैंकले वर्षमा २÷३ पटक व्याज बढाउँदा पनि व्यवसायी मर्कामा परेको उनले बताए । प्रायः सबै व्यवसायीले बैंकबाट लोन लिएर व्यवसाय गर्ने गरेको बताउँदै उनले भने, ‘तर शुरुमा सस्तो भनेर लिएको लोनको व्याज ६ महिना नपुग्दै बढ्न थाल्छ, अझ वर्षमा २÷३ पटक बढ्दा हामी व्यवसायी समस्यमा परेका छौं ।’ यस विषयमा सरकारले नै एउटा नीति बनाएर लोन लिएको निश्चित समयसम्म शुरुको ब्याज बढाउन नपाउने नियम बनाउनुपर्ने उनको भनाई छ ।
Comments are closed.