पोखराबाट झण्डा दिवसको शुरुवात

पोखरा, १ बैशाख

पोखरेलीहरुले पोखराबाट झण्डा दिवसको शुरुवात गरेका छन् । सँधै अर्काको झण्डा बोकियो, अब राष्ट्रिय झण्डा बोकौं भन्दै पोखराबाट झण्डा दिवसको शुरुवात गरेका हुन् । नेपाली नयाँ वर्ष शुभारम्भको दिनलाई राष्ट्रिय झण्डा दिवस मनाऔं भन्दै निकालिएको सचेतना ¥यालीमा सहभागिहरुले विगतमा विभिन्न पार्टीको झण्डा बोकेपनि अब राष्ट्रियता बलियो बनाउनका लागि राष्ट्रिय झण्डा बोक्न आग्रहसमेत गरे ।

नेपाली नयाँ वर्षको अवसरमा युवा पत्रकार सञ्जाल गण्डकी प्रदेश र बागेश्वरी असल शासन क्लव (बास)को संयुक्त आयोजना तथा नागरिक समाज पोखराको समन्वयमा ‘राष्ट्रिय एकता, स्वाधिनता र सद्भावको प्रतिक’ भन्ने मूल नारासहित राष्ट्रिय झण्डा दिवस मनाइएको हो ।

कार्यक्रममा बोल्दै नागरिक समाज पोखराका पूर्व अध्यक्ष तथा नागरिक अभियन्ता रामबहादुर पौडेलले राष्ट्रिय झण्डाको महत्व घट्दै गएकोमा चिन्ता व्यक्त गरे । पौडेलले पार्टीको झण्डा उठ्ने र राष्ट्रको झण्डा झुक्ने प्रवृत्ति देखिएको भन्दै उनले भने,‘राष्ट्रिय झण्डा झुकाउँदा देश समृद्धीमा जाँदैन, बरु पार्टी भन्दा माथि उठौं र राष्ट्रिय झण्डको रक्षा गरौं, तबमात्र देशमा साँच्चिकै समृद्धी आउँछ ।’

युवा पत्रकार सञ्जाल गण्डकीका अध्यक्ष भीमबहादुर थापाले देश र समाजको पहिचान जोगाउने जिम्मा युवाको हातमा आएको बताए । युवाले नै परिवर्तनको नेतृत्व लिनुपर्ने बताउँदै उनले थपे,‘परिवर्तन सम्भव छ, तर त्यसको नेतृत्व हामी युवाले नै गर्नुपर्छ, हामीले नगरे कसले गर्ने ? अनि अहिले नगरे कहिले गर्ने ? ।’ उनले युवाहरुलाई विदेश पलायन हुनुभन्दा आफ्नै देशमा सानो भएपनि नयाँ काम गर्न आग्रह गरे ।

बागेश्वरी असल शासन (बास) क्लवका अध्यक्ष शिवराज बस्ताकोटी (शिबदाई)ले पार्टी भन्दा माथि उठेर देशको झण्डा बोक्न आग्रह गरे । अहिलेसम्म हामीले विभिन्न पार्टीको झण्डा बोक्यौं–उनले भने,‘अब देशको झण्डा बोकौं ।’ उनले राष्ट्रिय झण्डाप्रति नेपालीको वितृष्णा देखेर चिन्ता व्यक्त गरे ।

¥यालीमा सामाजिक संघसंस्थाहरुको संस्थागत सहभागिता रहेको थियो भने पत्रकार, कलाकार, नागरिक समाज, सर्वसाधारणलगायतको बाक्लो सहभागिता रहेको थियो । आयोजकले पहिलोपटक कार्यक्रम आयोजना गरेको र आगामी दिनमा यसलाई निरन्तरता दिइने बताएका छन् । यसअघी अंग्रेजी नया वर्षको दिन ढाकाटोपी दिवस मनाउने अभियान चलिसकेको छ ।

You might also like

Comments are closed.