पोखरामा आइटी पार्क बन्दै, यसरी अगाडि बढ्दै छ प्रक्रिया

सन्देश श्रेष्ठ
पोखरा, २१ फागुन । गण्डकी प्रदेश सरकारले आफ्नो छुट्टै आइटी पार्क बनाउने भएको छ । प्रदेश सरकारले पोखरा महानगरपालिका वडा नम्बर १८ ज्ञारजातिमा ड्रिम प्रोजेक्टको रुपमा आइटी पार्क बनाउन लागेको हो । आइटीसँग सम्बन्धित नयाँनयाँ प्रविधि तथा प्रोडक्टहरुको उत्पादन गर्ने, प्रदेश सरकारको डाटा कलेक्सन गर्ने सुरक्षित भण्डार तथा गण्डकी प्रदेशमा रहेका सबै आइटीसँग सम्बन्धित संस्थाहरुको कार्यालय राख्ने गरी प्रदेश सरकारले आइटी पार्क बनाउन लागेको हो । आइटी पार्कका लागि प्रदेश सरकारले आर्थिक वर्ष २०७५÷७६ मा ७५ लाख रुपैयाँ बजेट बिनियोजन गरेको छ । यद्वपि जग्गा प्राप्तिको लागि संघीय सरकार र नापीलाई लेखेर पठाउनु बाहेक अन्य काम भएको छैन ।

आइटी पार्कमा प्रदेश सरकार, स्थानीय सरकारलगायतका सरकारी कार्यालयहरुले इन्टरनेटबाट चलाउने सबै डाटाहरु रहने सुरक्षित भण्डार हुने शाखा अधिकृत सुमन भट्टराईले जानकारी दिए । उनका अनुसार यो संघीय सरकारले सुरक्षित भण्डार गर्नका लागि हेटौंडामा राखेको रिकभरी सेन्टरजस्तै डाटा सेन्टर हुनेछ । आइटीसँग सम्बन्धित नवप्रवर्तन (इन्नोभेसन) र नया नयाँ प्रविधि पत्ता लगाउने (इन्भेन्सन)का कामहरु हुने कक्ष पनि आइटी पार्कमै हुनेछ । पार्कमा विश्वका विभिन्न इन्टरनेट कम्पनीले प्रदेशमा कार्यालय राख्ने हो भने उनीहरुका लागि स्टल पनि राख्न मिल्ने हुनेछ । पार्कमा हाइ स्पिड इन्टरनेट, चौविसै घण्टा बल्ने बत्ती र सहज सडक पूर्वाधार आइटी पार्कका लागि अत्यावश्यक पूर्वाधार हुनुपर्ने शर्त मानिन्छ । यसअघि बनेपाको धुलिखेलमा आइटी पार्क निर्माण गरिएको थियो । शरदचन्द्र शाह सूचना तथा सञ्चार मन्त्री भएको बेला निर्माण गरिएको यो आइटी पार्क द्वन्द्वकालको समयमा लथालिंग भएपछि हाल बन्द अवस्थामा छ । पोखरामा आइटी पार्क बनाउने अभियान शुरु भएपछि गण्डकी प्रदेशको आन्तरिक मामिला तथा योजना मन्त्री हरिबहादुर चुमानको नेतृत्वको एक टोलीले सो पार्क अवलोकन गरेको थियो ।

आइटी पार्कका लागि गण्डकी प्रदेश सरकारले ज्ञारजातिमा रहेको तत्कालीन रत्न प्राविको करिब एक सय रोपनी जग्गा रोजेको छ । सो विद्यालय विद्यार्थी अभावले हाल अर्को स्कुलमा गाभिइसकेको छ । विद्यालय गाभिएपनि जग्गा भने साविक विद्यालयकै नाममा रहेकाले सोही जग्गालाई प्रदेश सरकारले प्रयोग गर्ने तयारी गरेको हो । विद्यालयको कुल १३५ रोपनी जग्गा भएपनि ९६ रोपनी जग्गा एउटै प्लट भएकाले त्यसैमा आइटी पार्क बनाउने तयारी गरिएको आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव फडिन्द्रमणि पोखरेलले जानकारी दिए । स्कुलको बाँकी ३९ रोपनी जग्गा ज्ञारजति डाँडो भन्दा माथि भएकाले त्यसमा आइटी पार्क निर्माणका लागि अनुपयुक्त भएकाले त्यसलाई छाडेर पार्क निर्माण गर्न लागिएको उनको भनाई छ ।

विद्यालयको सो जग्गा पोखरा महानगरपालिकाले आइटी पार्कका लागि प्रदेशलाई प्रयोग गर्नका लागि सहमति दिइसकेको सूचना तथा सञ्चार प्रविधी शाखा अधिकृत सुमन भट्टराईले जानकारी दिए । महानगरपालिकाले सहमति दिएको पत्रसहित सो जग्गा प्रदेशको नाममा ल्याउन संघीय सरकारमा लेखेर पठाइएको उनले बताए । त्यस्तै नापीलाई पनि चार किल्ला छुट्याई दिनपनि लेखेर पठाइएको उनले जानकारी दिए ।

आइटी पार्कका लागि प्रारम्भिक अध्ययन भएपनि बिस्तृत अध्ययन भने बाँकी रहेको सूचना तथा सञ्चार शाखा अधिकृत सुमन भट्टराईले जानकारी दिए । प्रारम्भिक अध्ययनले आइटी पार्क बनाउन उपयुक्त रहेको रिपोर्ट दिएको उनले बताए । उनले आइटी पार्क बनाउनका लागि शुरुमा संघीय सरकारले जग्गा प्रदेशको नाममा नामसारी गर्ने अनुमति दिनुपर्ने बताए । प्रदेशको नाममा जग्गा आउने वित्तिकै आइटी पार्क बनाउने प्रक्रिया शुरु हुने उनको भनाई छ । उनका अनुसार जग्गा प्राप्त भएलगत्तै पुनः आइटी पार्कको बिस्तृत अध्ययन गरिनेछ । बिस्तृत अध्ययनमा आइटी पार्कको मोडालिटी कस्तो हुने ? के के कुराहरु राख्ने ? कति राख्ने ? कसरी राख्ने ? लगायतका कुराहरु तय गर्नेछ । त्यसपछि आइटी पार्कको गुरु योजना बनाइने छ । गुरु योजना बनिसकेपछि त्यसको डिपिआर निर्माण गरिनेछ ।

डिपिआर निर्माण भएपछि त्यसलाई बहुवर्षीय योजनामा पारेर काम शुरु गरिने सूचना तथा सञ्चार शाखा अधिकृत भट्टराईले बताए । उनले भने, ‘आइटी पार्क एक वर्षमा बन्ने कुरा होइन, ३÷४ वर्षमा बनाउने गरी यसै वर्षदेखि काम शुरु गर्ने तयारीमा छौं ।’ उनले यस वर्ष बिस्तृत अध्ययन सकेर गुरु योजनासम्म बनाउन सकिने देखिएको बताए । थप काम भने अर्को वर्ष हुने उनको भनाई छ ।

प्रदेश सरकारले आफैले प्रविधि उत्पादन गर्ने र नयाँनयाँ आइटी प्रोडक्टहरु उत्पादन गर्ने उद्देश्यले आइटी पार्क बनाउनका लागेको बताए । उनले भने, ‘हाम्रो प्रदेशबाटै नयाँनयाँ प्रविधि र प्रोडक्ट उत्पादन गर्ने उद्देश्य अनुरुप आइटी पार्क बनाउन खोजेको हौं, जुन प्रदेशले बनाउँदा गर्व गर्न पाइयोस् ।’ उनले आइटी पार्क पर्यटकीय हिसाबले पनि गन्तव्य स्थान बन्ने दाबी गरे । उनले सूचना प्रविधीले सुशासन कायम गर्नपनि सघाउने बताउँदै उनले थपे, ‘सूचना प्रविधीलाई जति जोड्यो त्यति सुशासन कायम गर्न सकिन्छ, त्यसका लागि पनि आइटी पार्कले सघाउँछ ।’ २१ औं शताब्दीमा सूचना प्रविधिबाट विमुख भएर मानिस टिक्न नसक्ने बताउँदै यो अहिलेको अपरिहार्य आवश्यक्ता भएकाले त्यसमा सहज पहुँच पु¥याउने प्रयास नै आइटी पार्क भएको उनको भनाई छ । आइटी पार्क निर्माण भएमा आइटीको क्षेत्रमा लगानी गर्न विदेशी पनि आउने उनले बताए ।

You might also like

Comments are closed.