पोखरामा एटिएफ जुनियर टेनिस शुरु, पोखराका खड्काको विजयी शुरुवात

पोखरा, ३ मंसिर ।

कास्की जिल्ला टेनिस संघको आयोजनामा सोमबारदेखि पोखरामा ट्रेकर्स इन यु–१४ जुनियर एटिएफ टेनिस च्याम्पियनशिप सर्किट १ र २ शुरु भएको छ । प्रतियोगिताको उद्घाटन खेलमा नेपालका सौगात खड्काले विजयी शुरुवात गरे । उनले नेपालकै सफल श्रेष्ठलाई ६–०, ६–३ को सोझो सेटमा जित हाँसिल गरेका हुन् । भारतका अचिन्ता बर्माले पनि पहिलो खेलमा जित दर्ता गराए । बर्माले नेपालका चिराग तिमिल्सीनामाथि ६–७, ६–४ र ६–२ को कठिन जित निकाले ।
नेपालकै इशान गुरुङ्गले स्लोक कैसर खड्कालाई ६–४, ६–१ ले, प्रितम परियारले निहाल जंगबहादुर थापालाई ६–१, ७–६ ले, श्रेयास पौडेलले श्रीयोग अधिकारीलाई ६–३, ३–६ र ६–३ ले पराजित गरे । नेपालका राज बिर प्रधानले भारतका आयुष भारद्वाजलाई ६–०, ६–३ ले, आयुष्मान अजुर घलेले सञ्जय पहारीलाई ६–०, ६–० ले, रक्षम बिक्रम शाहले आयुष पहारीलाई ६–०, ६–३ ले पराजित गर्दै दोश्रो चरणमा स्थान बनाएका छन् ।

महिलातर्फको खेलमा श्रीया भट्टराईले अद्या पौडेललाई ६–२, ६–२ ले, इशाश्री शाहले सुनिरा थापालाई ६–२, ६–२ ले तथा सुभाङ्गी लक्ष्मी शाहले प्रकृती श्रेष्ठलाई ६–४, ६–३ ले पराजित गरेकि छन् ।

यसअघि राष्ट्रिय खेलकुद परिषद्का सदस्य राजेश गुरुङले एक समारोहका विच प्रतियोगिताको उद्घाटन गरेका थिए । प्रतियोगिता उद्घाटन गर्दै गुरुङ्गले पछिल्लो समय नेपालको खेलकुद लथालिङ्ग अवस्थामा पुगेको बताए ।

नेपाली खेलकुद क्षेत्रमा देखिएको भताभुङ्ग अवस्थालाई सुधार्ने आफ्नों प्रयास हुने गुरुङको भनाई थियो । आफु यसअघि राष्ट्रिय खेलकुद परिषद्मा सदस्य भएको बेला पाएको भत्ता समेत खेलाडीलाई बाँड्ने गरेको उदाहरण प्रस्तुत गर्दै गुरुङले यो कार्यकालमा पनि खेलाडीकै हितमा काम गर्ने प्रतिवद्धता जाहेर गरे ।

कार्यक्रममा बोल्दै कास्की जिल्ला खेलकुद विकास समितिका अध्यक्ष यामबहादुर गुरुङले कास्की जिल्ला टेनिस संघले निजि क्षेत्रकै सहयोगमा प्रशंसनिय कार्य गरेको बताए । टेनिस विकासका लागि आगामी दिनहरुमा पनि सहकार्य गरि अघि बढ्नुपर्नेमा उनले जोड दिए ।

आयोजक संघ कास्कीका अध्यक्ष दोर्जे लामाले पोखरामा आयोजना भइरहेका अन्र्तराष्ट्रिय प्रतियोगिताहरुलाई अवसरको रुपमा लिएको बताउँदै संघले सबैको विश्वास जितेर देखाउने बताए । समारोहमा संघ कास्कीका उपाध्यक्ष नारायण पहारीले स्वागत तथा महासचिव नविन चालिसेले सञ्चालन गरेका थिए ।

You might also like

Comments are closed.