पोखरामा इको ब्लक उद्योग सुरु

आर्थिक आवाज
पोखरा, १७ चैत । पोखरामा ब्लक उद्योग सञ्चालनमा आएको छ । पोखराको चाउथेमा इराकोन ब्लक उद्योग सञ्चालनमा आएको हो । वातावरणमैत्री ब्लकहरु उत्पादन गर्ने लक्ष्यसहित पोखराका युवा व्यवसायीहरुको संयुक्त लगानीमा उद्योग सञ्चालनमा आएको हो ।

उद्योगमा राजू कायश्थ, निर्मल जोजिजू, ध्रुव पोखरेल, वीरेन्द्रनारायण बिजुक्छे, कृष्णराज पोखरेल र हरेराम जोजिजूको संयुक्त लगानी छ । उद्योग अन्तर्गत ग्रिनसिटी सर्भिसेस पनि सञ्चालन रहेको उद्योगका कम्पनी सचिव कृष्णराज पोखरेलले जानकारी दिए । पोखरामा पहिलोपटक इको ब्लक उद्योग सञ्चालनमा आएको उनले बताए । कम्पनीले एल ब्लक, हलो ब्लक र इको ब्लक उत्पादन सुरु गरेको अध्यक्ष निर्मल जोजिजूले बताए ।

ग्रिन सिटी सर्भिसेस प्रालि अन्तर्गत वातावरणमैत्री घर निर्माणको सेवा प्रदान गरिने शनिबार पोखरामा आयोजित कार्यक्रममा जानकारी दिइयो । भूकम्प प्रतिरोधी, जाडोमा न्यानो र गर्मिमा चिसो हुने खालका सामान उत्पादन र बिक्री वितरण गरिने ग्रिन सिटीका अध्यक्ष राजु कायश्थले जानकारी दिए । ‘इको ब्लक इन्डष्ट्रिज र ग्रिनसिटी सर्भिसेसले संयुक्त रुपमा ब्लक उत्पादन तथा बिक्री वितरण सुरु गरेका हुन् । उद्योगमा करिब ४ करोड रुपैयाँ लगानी भएको बताइएको छ ।

यसैबीच, उद्योगले शनिबार पोखरामा उद्योगका उत्पादनबारे जानकारीमूलक कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा इन्जिनियर, कन्सल्टेन्सी, निर्माणसँग सम्बन्धित व्यवसायीसहित अन्य उद्योगी व्यवसायीहरुको उपस्थिति थियो । कार्यक्रममा बोल्दै इन्जिनियर सुरज श्रेष्ठ र एभरेष्ट इन्डष्ट्रिज प्रालि इण्डियाका मार्केटिङ अफिसर अनुपम क्षेत्रीले इको ब्लक प्रयोग गर्दा हुने फाइदाहरु सहित कम्पनीका उत्पादनहरुका बारेमा जानकारी दिए । एभरेष्ट इन्डष्ट्रिज प्रालि इण्डियाका उत्पादनहरु समेत कम्पनीले पोखरा क्षेत्रमा बिक्री वितरणको जिम्मेवारी पाएको छ ।

You might also like

Comments are closed.