पोखरामा कुकुरलाई बन्ध्याकरण र एन्टी रेविज सुई हालिदै

 

सन्देश श्रेष्ठ
पोखरा, १९ पुष

पोखरा महानगरपालिकाले सडकमा रहेका भुस्याहा कुकुरको बन्ध्याकरण गर्ने अभियान शुरु गरेको छ । महानगरपालिकाले हिमालयन एनिमल रेस्क्यू ट्रष्टसँग सहकार्य गरेर भुस्याहा कुकुरलाई बन्ध्याकरण गर्नुका साथै एन्टी रेविज सुई हाल्ने अभियान शुरु गरेको हो । भुस्याहा कुकुर नियन्त्रण र रेबिजबाट मुक्त गर्न यो अभियान शुरु गरेको महानगरपालिकाले जनाएको छ ।

करीब एक महिना अघिबाट शुरु भएको यो अभियान अन्तर्गत हालसम्म करीब ८ सय कुकुरहरुलाई बन्ध्याकरण तथा एन्टी रेविज सुई हालिसकिएको हिमालयन एण्ड रेस्क्यू टिमका प्राविधिक सरोज जिरेलले जानकारी दिए । उनका अनुसार यो अभियान अझै २ महिना जारी रहनेछ ।

हालसम्म पोखरा महानगरपालिका वडा नम्बर ६, ७, ८ र १७ का वडाहरुमा पुगेर सडकमा भेटिएका कुकुरहरुलाई बन्ध्याकरण र एन्टी रेविज सुई हालिएको प्राविधिक जिरेलले बताए । उनले सुई हालिएको कुकुर चिह्नका लागि रंग लगाएर छाडिने र अघिल्लो दिन सुई हालिएको क्षेत्रमा त्यसको भोलिपल्ट अनुगमन गर्दै सुई नलगाएका कुकुर पाइए तत्काल समातेर बन्ध्याकरण गर्नुका साथै एन्टी रेविज सुई हालिने जानकारी दिए । सहरका मुख्य मुख्य सडकलाई प्राथमिकता दिएर काम भइरहेको जिरेलले बताए । उनका अनुसार कुकुरलाई सुई हाल्ने काम विहान ६ः३० बजेदेखी पूर्वाह्न १० बजेसम्म भइरहेको छ ।

महानगरपालिकाले हरेक वर्ष कुकुरलाई बन्ध्याकरण र एन्टी रेविज सुई हाल्ने अभियान सञ्चालन गर्दै आएको छ । पोखरामा सडकमा छाडिने भुस्याहा कुकुरहरु ५ हजार बढी रहेको अनुमान गरिएको छ ।

You might also like

Comments are closed.