पोखरामा क्यान इन्फोटेक जारी, हाजिरीजवाफको फाइनलमा ४ वटा कलेज

पोखरा, ६ फागुन । क्यान महासंघ कास्कीले आयोजना गरेको नवौं क्यान इन्फोटेक जारी छ । इन्फोटेकको अवसरमा आइतबार आइसिटी हाजिरीजवाफ प्रतियोगिताको पहिलो चरण सम्पन्न भएको छ । १० वटा कलेजको सहभागिता रहेको प्रतियोगितामा ४ वटा कलेज फाइनलमा प्रवेश गरेको प्रतियोगिता संयोजक घननाथ सापकोटाले जानकारी दिए । फाइनलमा राष्ट्रिय उच्च मावि, ग्लोबल कलिजिएट, बालमन्दिर उच्च मावि र केफ उच्च मावि प्रवेश गरेका छन् । फाइनल प्रतियोगिता इन्फोटेकको चौथो दिन सोमबार हुने उनले बताए ।

इन्फोटेकमा कम्प्युटर तथा ल्यापटपको निःशुल्क मर्मत सेवा उपलब्ध गराइरहेको अध्यक्ष युवराज पौडेलले जानकारी दिए । ‘आइसिटी क्षेत्रमा स्थानीयस्तरबाट गरिएका उत्पादनको प्रदर्शनी तथा अन्य आइसिटीसँग सम्बन्धित नविनतम गतिविधिहरु प्रदर्शनी गरिएको छ,’ उनले भने, ‘वैज्ञानिक आइसिटी उपकरण प्रदर्शनीले इन्फोटेकमा अवलोकनकर्ताहरु आकर्षित भएका छन् ।’

यसैबीच, इन्फोटेकमा आयुसा इन्टरनेशनल प्रालिले दाहुवा ब्राण्डको सिसी टिभी प्रदर्शनीमा राखेको छ । विश्वप्रशिद्ध उक्त ब्राण्डको प्रविधिलाई बुझ्नेहरुको आकर्षण देखिएको आयुसाका प्रवन्ध निर्देशक अनिल श्रेष्ठले जानकारी दिए । ‘इन्फोटेकमा आएर धेरै जनाले आयुसा सिसी टिभी बुकिङ गर्नुभएको छ,’ उनले भने ।

सूचना प्रविधिको व्यवसायमा पोखराको अग्रणी संस्था हिमालयन कम्प्युटरले हिमालयन प्याभिलियनमा विभिन्न ब्राण्डलाई विशेष छुटमा बिक्री गरिरहेको सञ्चालक जगन गुरुङले जानकारी दिए । इन्फोटेकलाई लक्षित गरी माक्ससेल नोट काउन्टिङ मेसिन भारी छुटमा बिक्री गरिरहेको उनले बताए । इन्फोटेकमा हिमालयन कम्प्युटरका १० वटा स्टल छन् । क्यान केन्द्रका सचिव तथा कास्कीका संस्थापक अध्यक्ष समेत रहेका गुरुङले इन्फोटेकको अवलोकन गरेर सूचना प्रविधि क्षेत्रमा भित्रिएको नविनतम प्रविधिबारे बुझ्न सबैलाई आग्रह गरे ।

You might also like

Comments are closed.