पोखरामा खुल्यो ‘होटल बेइजिङ लु’

चैत, ३० पोखरा ।

पोखरा आउने चिनियाँ पर्यटकलाई लक्षित गरी रिसोर्टमा लगानी गर्ने क्रम बढेको छ । चाइनिज पर्यटकको आकर्षण देखिएसँगै पोखरामा यसरी एउटामात्र देशलाई लक्षित गरेर होटल तथा रिसोर्ट खुल्न थालेका हुन् । यसैक्रममा युवा व्यवसायी विवेक गौतमले शान्तिपाटनचोक, लेकसाइडमा चिनीया पर्यटकलाई लक्षित गरी १५ करोड रुपैयाँ लगानीमा होटल खोलेका छन् ।

वैशाख १ गतेबाट होटलले औपचारिक सेवा शुभारम्भ गर्ने गौतमले जानकारी दिए । पाँच तारे होटलले प्रदान गर्ने सेवा सुविधासहित बेइजिङ लु सञ्चालन गर्न लागेको उनले जानकारी दिए । ‘चिनीयाँ पर्यटकलाई लक्षित गरी होटल सञ्चालन हुँदैछ,’ उनले भने, ‘आन्तरिक तथा अन्य देशका पर्यटकलाई पनि सेवा प्रदान हुन्छ ।’

होटलमा १७ वटा सुपर डिलक्स कोठा रहेको गौतमले जानकारी दिए । रुफटपसहित २ वटा रेस्टुराँ तथा मिटिङ हलको सुविधा रहेको होटलमा ओपन किचनको व्यवस्था छ । चाइनिज, नेपाली, कन्टिनेन्टल सहित अर्डर अनुसारको खाना तथा खाजाको सुविधा उपलब्ध हुनेछ । उनले भने, ‘पाहुनाका लागि जिम हल तथा सनवाथ चियरको सुविधा पनि छ ।’

३ हजार रुपैयाँमा कोठा उपलब्ध गराइने गौतमले बताए । ‘पर्यटन व्यवसायमा राम्रो सम्भावना देखेर लगानी गरेको हुँ,’ उनले भने, ‘लगानी सँगसँगै नेपालमा पर्यटकको संख्या पनि बढाउनुपर्छ ।’ पारिवारिक वातावरणमा स्तरीय सेवा प्रदान गरिने गौतमले बताए । पर्यटन व्यवसायमा लगानी गरेका गौतम अटो तथा निर्माण व्यवसायमा पनि आबद्ध छन् ।

You might also like

Comments are closed.