पोखरामा गुजुल्टिएको तार हटाउन शुरु

 

सन्देश श्रेष्ठ

पोखरा, २७ मंसीर

पोखरामा गुजुल्टिएका तार हटाउने अभियान शुरु भएको छ । पोखरा महानगरापलिकाले पोखराका मुख्य चोकहरुका पोलहरुमा रहेका अव्यवस्थित (गुजुल्टा) परेका तार हटाउने अभियान शुरु गरेको हो । पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले पोखराको सिद्धार्थचोकमा गुजुल्टा परेका तार काटेर विहीबार विहान अभियानको शुभारम्भ गरे ।

अभियान ४० दिनसम्म जारी रहने महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले जानकारी दिए । उनका अनुसार चार चरणमा विभाजन गरेर काम थालिएको छ । पहिलो चरणको १० दिनमा सिद्धार्थचोकदेखी चिप्लेढुंगा न्यूरोड हुँदै सभागृृहचोकसम्मको तार हटाइनेछ ।

पहिलो चरण सकिएलगत्तै दोश्रो चरण शुरु हुनेछ । दोश्रो चरणमा दोश्रो चरणमा चिप्लेढुंगाबाट पालिखेचोक, साँघुकोमुख, महेन्द्रपुल, नयाँबजार, पृथ्वीचोकहुँदै सभागृहचोकसम्मका तार हटाइनेछ ।

अभियानको तेश्रो चरणमा सभागृहचोकदेखी सृजनाचोक, जिरो किलोमिटरहुँदै हल्लनचोकसम्मका तार हटाइनेछ भने चौथो चरणमा हल्लनचोकबाट सहिदचोकहुँदै मुस्ताङ्गचोक सम्मका पोलका तारलाई तार हटाईने महानगरका प्रमुख जिसीले जानकारी दिए । चौथो चरण सकिएपछि अभियानको समीक्षा गरेर थप अभियान सञ्चालन गरिने उनले बताए ।

 

गुजुल्टिएका तार हटाउने अभियानमा नेपाल विद्युत प्राधिकरण, इन्टरनेट सेवा प्रदायक संस्था, नेपाल टेलिकम, केबल व्यवसायी लगायतका सेवा प्रदायक संस्थाहरुलाई सँगसँगै लिएर हिंडिएको महानगर प्रमुख जिसीले बताए । यसअघी महानगरले सुचना प्रकाशित गरेर नेपाल टेलिकम, नेपाल विद्युत प्राधिरण, एनसेल सहित बाराहि इन्टरनेट, टेलनेट प्रा.लि., पोखरा केबल, वल्र्डलिङ्क कम्यूनिकेशन र पोखरा इन्टरनेट संस्थाहरुसंग छलफल गरि महानगरभित्रका अव्यवस्थित तार हटाएर व्यवस्थित गर्ने निर्णय गरेको थियो । अभियान सफल बनाउन तार ब्यवस्थापन सहजिकरण समिति गरेको थियो । समितिको संयोजकमा महानगरका उपसचिव तथा सुचना अधिकारी गंगालाल सुवेदीको संयोजकत्वमा तार ब्यवस्थपान सहजीकरण समिति गठन गरेको छ । समितिको सदस्यहरुमा नेपाल टेलिकमका शेषकान्त बस्याल, नेपाल विद्युत प्राधिकरणका इन्जिनियर आनन्द सापकोटा, एनसेलका सुवोध रेग्मी, वाराही ईन्टरनेटका सुरेन्द्र बहादुर थापा, व्ल्क्ष्ऋत् का सोमराज गुरुङ, टेलनेट प्रा.लिका बिनोद हुगाई, पोखरा केवलका मनोज गुरुङ्ग, पोखरा ईन्टरनेटका अजित तामाङ, वल्र्डलिङ्क कम्यूनिकेसनका विनोद के.सी., महानगरका नगर प्रहरीका असई पुरुषोत्तम थापा, पोखरा महानगरपालिकाका सूचना प्रविधि अधिकृत ईञ्जिनियर अशोक द्वारे छन् ।

पोखरालाई सुन्दर बनाउने अभियान शुरु : प्रमुख जिसी

तार हटाउने अभियनको शुभारम्भ गर्दै महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले तार हटाउने अभियान कुरुप पोखरालाई सुन्दर बनाउने अभियान भएको बताए । उनले यहि अभियानबाटै पोखरालाई स्मार्ट सिटी बनाउने अभियानपनि शुरु भएको उद्घोष गरे । प्रमुख जिसीले भने,‘पोखरा अब स्मार्ट सिटी बन्नेतर्फ गयो, यस्तै गर्दै गएमा महानगर आफै स्मार्ट सिटी बन्छ ।’ उनले तार हटाउने क्रममा सेवामा केहिबेर समस्या आएपनि सेवा प्रदायक संस्थाले तुरुन्तै सेवा सञ्चालनको वातावरण बनाउनेपनि उल्लेख गरे । उनले सेवा प्रदायक संस्थालाई जिम्मेवार बनाउने प्रयास अन्तर्गत अभियान चालिएको पनि प्रष्ट पारे ।

You might also like

Comments are closed.