पोखरामा च्याङग्रा भित्रियो, पोहोरको भन्दा ५ हजार महंगो

सन्देश श्रेष्ठ

पोखरा । पोखरामा दशैंका लागि हिमाली च्याङ्ग्रा भित्रिन शुरु भएको छ । पोखरामा व्यवसायीले करिब १० हुल च्याङ्ग्रा ल्याइसकेका छन् । पोखरामा करिब २ हजार ५ सय च्याङ्ग्रा भित्रिएको व्यवसायीको भनाई छ । एउटा हुलमा कुनैमा १ सय त कुनैमा २ सय, ३ सय वटासम्म पनि हुनेगर्छ ।

पोखरा भित्रिएका च्याङ्ग्रा याम्दी क्षेत्रमा राखिएका छन् । यसअघी सुइखेत, मीलनचोक लगायत क्षेत्रमा राखिने गरेपनि यस वर्ष ६ लेनको मध्य पहाडि लोकमार्ग निर्माण कार्य भइरहेकाले यसपाली सिधै याम्दीमा ल्याएर च्याङ्ग्रा राखिएको हो । बाटो निर्माणका कारण बाटोको चरन क्षेत्र मासिएपछि याम्दीमा ल्याएर राख्नुपरेको व्यवसायीले बताएका छन् ।

च्याङ्ग्रा पोखरा भित्रिएपनि बिक्रीका लागि टुँडिखेलमा भने राखिएको छैन । बडादशैं अन्तर्गत फुलपातीदेखि मात्रै टुँडिखेलमा च्याङ्ग्रा राखिने व्यापारीहरुले बताएका छन् । टुँडिखेलमा राख्दा भाडा महंगो तिर्नुपर्ने भएकाले व्यापारीहरुले याम्दी क्षेत्रमै च्याङ्ग्रा राख्ने गर्छन् । यसैबीच पोखरेलीहरुले याम्दीबाटै च्याङ्ग्रा खरिद गर्न थालेका छन् । दशैंका लागि भन्दा पनि समूह मिलेर च्याङ्ग्रा काट्न उनीहरु याम्दी पुगेरै खरिद गर्न थालेका हुन् ।

हिमाली जिल्ला मुस्ताङबाट १६ हजार च्याङ्ग्रा खरिद भइसकेको बताइएको छ । कास्की, पर्वत, बागलुङ, तनहुँ, लमजुङ, स्याङ्जालगायतका जिल्लाका लागि ति च्याङ्ग्रा खरिद भएका हुन् । खरिद गरिएका मध्य एक हजार च्याङ्ग्रा काठमाडौं लगिने बताइएको छ । बाँकी मध्ये अधिकांश पोखरामा ल्याइने गर्दछ । मुस्ताङबाट बाहिरिएका च्याङ्ग्रा स्वास्थ्य परिक्षण गरेर पठाइएकाले स्वस्थ रहेको भेटेनेरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र म्याग्दी अन्र्तगत मुस्ताङ सम्पर्क शाखाका पशु चिकित्सक शिवलाल भुषालले बताए ।

अघिल्लो वर्ष पोखरामा २३ हजार च्याङग्रा भित्रिएको थियो । यस वर्ष भने सो संख्यामा च्याङ्ग्रा भित्रिने सम्भावना कम छ । च्याङ्ग्राको मूल्य बढेपछि व्यापारीले च्याङ्ग्राको संख्या कम गरेको बुझिएको छ । यद्यपि १६ हजार च्याङ्ग्रा मुस्ताङबाट खरिद भइसकेकाले अझै केहि च्याङ्ग्रा थपिने अनुमान गरिएको छ ।

गत वर्ष भन्दा अहिले च्याङ्ग्राको मूल्य महंगो हुने व्यापारीहरुले बताएका छन् । उनीहरुले आफैले महंगोमा खरिद गर्नुपरेकोले मूल्य बढेको बताए । च्याङ्ग्रा ब्यापारी राजेन्द्र खड्काले च्याङ्ग्राको मूल्य बढेकाले आफूले गत वर्ष भन्दा कम खरिद गरेको बताए । उनका अनुसार मुस्ताङमै अघिल्लो वर्षको तुलनामा यस वर्ष प्रति च्याङ्ग्रा २÷३ हजार रुपैयाँ महङ्गो परेको छ । त्यसमा स्थानिय तह पिच्छे लगाइएको करले पनि च्याङ्ग्रा महंगो भएको व्यापारीले बताएका छन् । हरेक स्थानिय तहमा प्रति च्याङ्ग्रा १५ रुपैयाँ र पोखरामा हरेक दिनको प्रतिगोटा १५ रुपैयाँको दरले च्याङ्ग्राको कर स्थानीय तहले लिदा आफूहरु मारमा परेको व्यापारीहरुले बताएका छन् ।

पोखरामा अहिले रोज्जा च्याङ्ग्राको मूल्य ३० हजार तोकिएको छ । जुन अघिल्लो वर्षकपो भन्दा ५ हजार बढी हो । याम्दीमा राखिएका च्याङ्ग्रा अहिले २५ हजारदेखी ३० हजारको बिचमा बिक्री भइरहेको छ । अघिल्लो वर्ष २० देखी २५ हजारको बिचमा च्याङ्ग्रा बिक्री भएको थियो । हिमाली भेगमा हुर्किएका च्याङग्राको मासु स्वास्थ्यको लागि पनि निकै राम्रो हुने भएकाले आम उपवभोक्ताहरुले च्याङग्राको मासु खाने गरेको पाईन्छ ।

You might also like

Comments are closed.