पोखरामा जोरबिजोर प्रभावकारी लागु भएन

 

पोखरा ।

पोखरामा सवारी साधनमा लागु गरिएको जोर बिजोर प्रणाली उलंघन भएको छ । जिल्ला प्रशासन कार्यालयले भदौ २० गतेसम्म खुकुलो निषेधाज्ञा लागु गर्दै जोरबिजोर प्रणाली लागु गर्ने बताएपनि कार्यान्वयन फितलो हुँदा प्रभावकारी रुपमा लागु नभएको पाइएको हो ।

प्रशासनले भदौ १३ गतेदेखि पोखरामा सवारी साधनमा जोर बिजोर प्रणाली लागु हुने बताएको छ । पोखरामा जोर गते जोर नम्बरका सवारी साधन र बिजोर गते बिजोर नम्बरका सवारी साधन मात्र चलाउन पाईन्छ । तर व्यवहारमा भने योपनि लागु भएको छैन । पोखरामा शनिबार र आइतबार दुबै दिन जोर तथा बिजोर दुबै सवारी साधन गुडेको पाइएका छन् । नागरिक समाज पोखराका अध्यक्ष बिष्णुराज अधिकारी भने कुन दिन आफ्नो सवारी साधन चलाउन पाउने भन्ने जानकारी नहुँदापनि यस्तो समस्या आएको बताउँछन् । प्रशासन वा महानगरले यसबारे सूसुचित गर्नुपर्ने उनको भनाई छ ।

सवारी साधनमा जोर बिजोर लागु गर्ने भनिएपनि यो लागु गर्न प्रशासनले कुनै ठोस प्रयास गरेको छैन । नत प्रशासनले जोरबिजोर लागु गर्न ट्राफिक नै खटाएको छ, नत चेकिङ नै राखेको छ । तर कास्कीका ट्राफिक प्रहरी प्रमुख सन्तोष रोका भने चेकिङ नियमित भइरहेको दाबी गर्छन् । प्रहरी विट भएका ठाउँहरुमा नियमित चेकिङ जारी छ,उनले भने,‘पोखराको मुख्य बजार क्षेत्र तथा चोकहरुमा राखेर चेकिङ गर्दा झन् भीडभाड हुने भएकाले हामीले चेकिङ नगरेका हौं ।’ उनले पोखरा भित्रिने नाकाहरुमा विशेष रुपमा कडाईका साथ चेकिङ भइरहेको बताए ।

चेकिङका क्रममा नियम उलंघन गरेको पाइए सम्झाएर छाडिने गरेको ट्राफिक प्रमुख रोकाले बताए । पहिलेजस्तो ठाउँको ठाउँ कार्वाही त हामीले गरेका छैनौं,उनले भने,‘जोर गते बिजोर वा बिजोर गते जोर नम्बरका सवारी साधन चलाउनेलाई हामीले रोकेर सम्झाउने र घर फर्काउने गरेका छौं ।’

उसो त पोखरामा होटल तथा रेष्टुरेण्टलाई टेक–अवे सुविधा मात्र दिन भनिएको छ । तर बजार क्षेत्रबाहिरका अधिकांश रेष्टुरेण्ट तथा होटलहरुले तत्स्थानमै सेवा दिइरहेका छन् । यसरी होटल तथा रेष्टुरेण्टहरुले तत्स्थानमै सेवा दिदा कोरोनाको जोखिम झनै बढेको भन्दै पोखरेलीले चिन्ता व्यक्त गरेका छन् ।

 

You might also like

Comments are closed.