पोखरामा तायाःमचा नृत्य प्रतियोगिता साउन ३१ र ३२ गते 

पोखरा । पोखरामा यस पटक पनि तायाःमचा नृत्य प्रतियोगिता हुने भएको छ । नेवाः खल कास्कीको आह्वान तथा महेन्द्रपुल तायःमचा नाच समिति पोखराको आयोजनामा यहि साउन ३१ र ३२ गते तायाःमचा नृत्य प्रतियोगिता हुने भएको हो । प्रतियोगिता पोखराको ब्यस्त चोक महेन्द्रपुल भन्दा माथि बुद्ध बिशालबजार अगाडिको सडकमा हुने शनिबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो ।

लोपोन्मुख तायाःमचा नाचको संरक्षण गर्दै नेवारी परम्परा र संस्कृति बचाउने उद्धेश्यले गरिन लागेको आयोजकले जनाएको छ । प्रतियोगितामा ३० समूहले भाग लिने आयोजक महेन्द्रपुल तायाःमचा समितिका अध्यक्ष ओमलाल वडगामीले जानकारी दिए । प्रतियोगितामा पोखराबाट २३ र लेखनाथबाट ७ वटा समूहले प्रतिष्पर्धा गर्ने उनले बताए ।

सांस्कृतिक महोत्सव अन्तर्गत विभिन्न सांगीतिक प्रस्तुती, नेवारी नाच र खानाका स्टलहरु पनि राखिने प्रतियोगिता मूल आयोजक समितिका संयोजक मानकाजी माकाजुले जानकारी दिए ।

लोपोन्मुख संस्कृति र परम्परा जोगाउँदै नया पुस्तालाई तायाःमचा प्रति आकर्षित गराउन प्रतियोगिता गरिदै आएको नेवा खलः कास्कीका अध्यक्ष अशोक पालिखेले बताए । २०५४ सालबाट शुरु भएको तायःमचा नृत्य प्रतियोगिता यसपटक २१ औं पटक हुन लागेको उनले बताए । ८ वटा समूहबाट शुरु भएको प्रतियोगिता अहिले बढेर ३० वटा पुगेको उनको भनाई छ । उनका अनुसार पोखरामा नेवा खलःका ४१ वटा कचाः खल, ३३ वटा मिसा पुचः, २६ वटा ल्याम्ह पुचः र मिस नेवा पुचः र नेवा पत्रकार पुचः १÷१ वटा रहेका छन् ।

प्रतियोगिताको बिजेतालाई ३० हजार, उपबिजेतालाई २० हजार, तेश्रो हुनेलाई १० हजार र सान्त्वना हुने एक समूहलाई ५ हजारसहित प्रमाणपत्र प्रदान गरिने प्रतियोगिता संयोजक माकाजुले बताए । त्यस्तै, उत्कृष्ट महिला समूहलाई १५ हजार तथा उत्कृष्ट परी, उत्कृष्ट जोकर, उत्कृष्ट ख्याली, उत्कृष्ट बाद्यबादकलाई जनही २ हजार ५ सय प्रदान गरिने उनले बताए ।

You might also like

Comments are closed.