पोखरामा पहिलोपटक नेपाली फुड फेष्टिबल हुँदै

आर्थिक आवाज
पोखरा । पोखरामै पहिलोपटक नेपाली फुड फेष्टिवल हुने भएको छ । रेष्टुरेण्ट एण्ड बार एशोसियसन पोखराको आयोजनामा पोखरामै पहिलोपटक यही असार १३ गते पोखराको लेकसाइडमा नेपाली फुड फेष्टिवल हुने भएको हो ।

फेष्टिवल लेकसाइडको वाराहीघाटस्थित खेल मैदानमा असार १३ गते शुक्रबार अपराह्न ५ बजेदेखि राती ११ बजेसम्म हुने सोमबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । फेष्टिवलको उद्घाटन गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले गर्ने रेबान पोखराले जानकारी दिएको छ ।

नेपाली स्वादको परिकार पहिला विदेशीलाई खुवाउने भन्दा अघि नेपाली (आन्तरिक पर्यटक)लाई चखाउने उद्देश्यले रेबानले फुड फेष्टिवल आयोजना गरेको रेबान अध्यक्ष भीमसेन भुजेलले बताए । उनले नेपाली खानाको परिकारलाई ब्राण्डिङ गर्दै पर्यटन प्रवद्र्धन गर्नु नै महोत्सवको मुख्य उद्धेश्य रहेको प्रष्ट्याए ।

उनका अनुसार फेष्टिवलमा थकाली खाना, गुरुङ खाना, नेवारी खाना, थारु खाना र केराका परिकारहरुको स्वाद आम सर्वसाधारणलाई खुवाईने छ । फेष्टिवलमा यी जातिका परिकारहरु प्रदर्शनीका साथै खरिद गरेर खानसमेत व्यवस्था गरिएको उनले बताए । अहिले प्रवद्र्धन गरेपनि निकट भविष्यमा यी परिकारहरुको सूची बनाएर होटल तथा रेष्टुरेण्टको मेनुमै राखेर पर्यटकलाई पस्कने योजना रहेको अध्यक्ष भुजेलले बताए ।

रेबानका महासचिव गणेशबहादुर थापाले नेपाली खानाका परिकारलाई ब्राण्डिङ गर्दै ती खानाको परिचय र पहिचान स्थापित गर्नका लागि फेष्टिवल आयोजना गरिएको बताए । उनले खानाका परिकारको ब्राण्डिङको शुरुवात भएको र यसलाई निरन्तरता दिइने बताए । ‘अन्तर्राष्ट्रिय बजारमा नेपाली परिकार बिक्ने तागत छ,’ उनले भने, ‘तर त्यसको परिचय स्थापित गर्न चुकिरहेका छौं ।’ स्वदेशी मौलिक खानाको अन्तर्राष्ट्रियकरण गर्ने जिम्मेवारी र दायित्व बोध गरी खानाको महोत्सव गर्ने तयारी गरिएको बताए ।

आउँदो शुक्रबार हुने फेष्टिवलमा ५ वटा स्टल राखिने र ती स्टलमा पर्यटकलाई खाना खुवाइने छ । खानाका शुल्क न्युनतम रहने महासचिव थापाले स्पष्ट पारे । शुल्क तोक्ने जिम्मेवारी नेपाल पर्यटन बोर्ड तथा पर्यटनसँग सम्बन्धित निकायसँग समन्वय गरिने उनले बताए । अपराह्न ५ बजेदेखि राति ११ बजेसम्म हुने फेष्टिवलमा सांगीतिक कार्यक्रमसमेत राखेर पर्यटकलाई मनोरञ्जन प्रदान गरिने रेबान पोखराले जनाएको छ ।

एक दिने महोत्सवमा पाँच हजार पर्यटक आउने रेबान पोखराले दाबी गरेको छ । महोत्सवलाई नेपाल पर्यटन वोर्डसँगै गोर्खा ब्रुअरी, जावलाखेल ग्रुप अफ इण्डष्ट्रिज, बोटलर्स नेपाल(तराई) लि.ले सहकार्य गरेका छन् ।

You might also like

Comments are closed.