पोखरामा पाल्पा दरबार !

आर्थिक आवाज
पोखरा, ४ माघ । पाल्पा घुम्न जाने जोकोहीको पहिलो रोजाई पाल्पा दरबार पुग्नु नै हुन्छ । ऐतिहासिक महत्वसँगै दरबारको आकर्षक डिजाइनले त्यहाँ पुग्नेहरुको मन लोभ्याउँछ । तर, यति बेला पोखराबाटै पाल्पा दरबार घुमेको अनुभव लिन सकिने भएको छ ।

दरबार मात्रै होइन पाल्पाका अन्य पुरातात्विक तथा धार्मिक महत्वका संरचनाहरु अध्ययन अवलोकन पोखराबाटै गर्न सकिनेछ । पोखराको सभागृहलाई यतिबेला पाल्पामय बनाएर सिंगारिएको छ । शनिबार हुने पाल्पाली सांगीतिक साँझ तथा सम्मान कार्यक्रमलाई लक्षित गरेर सभागृहलाई पाल्पामय बनाइएको हो ।

सभागृहको प्रवेशद्वारा दुरुस्त पाल्पा दरबारको झझल्को दिनेगरी तयार गरिएको कार्यक्रम संयोजक अनन्त अधिकारीले जानकारी दिए । शनिबार बिहान साढे ११ बजेबाट कार्यक्रम हुँदैछ । ‘कार्यक्रमस्थल सभागृहमा शनिबार उपस्थित हुने सम्पूर्ण सहभागीलाई पाल्पा नै पुगेको अनुुभूति दिनेछौं,’ अधिकारीले भने ।

पाल्पाली समाज पोखरा स्थापनाको २५ वर्ष पुगेको अवसरमा माघ ५ गते शनिबार पोखरा सभागृहमा कार्यक्रम आयोजना गरिएको हो । पाल्पाको रहनसहन, मौलिक संस्कृति, कला, भेषभूषा लगायतको प्रदर्शनी कार्यक्रममा हुनेछ । पाल्पाको ऐतिहासिक, साँस्कृतिक, धार्मिक तथा पर्यटकीयस्थलको श्रव्यदृश्य सामग्रीमार्फत प्रदर्शन गरिनुका साथै पाल्पाको मौलिक संस्कृतिको रुपमा रहेका वालन, कौरा, सोरठी (मारुनी) नृत्य प्रदर्शन गरिने समाजका अध्यक्ष कुलप्रसाद घिमिरेले जानकारी दिए ।

You might also like

Comments are closed.