पोखरामा पेट तथा कलेजो उपचार केन्द्र

पोखरा, १७ पुस । ग्यास्ट्रो केयर प्राइभेट लिमिटेडले पोखराको पृथ्वीचोकमा पेट तथा कलेजो उपचार केन्द्र सञ्चालनमा ल्याएको छ । पेट तथा कलेजोको समस्याबाट ग्रसित बिरामीलाई त्यससम्बन्धी विशेषज्ञ सेवा प्रदान गर्ने र विशेषज्ञसहितका उपचार सेवाका लागि पोखरा बाहिर जानुपर्ने बाध्यता न्यूनीकरण गर्ने उद्देश्यका साथ सेवा सञ्चालनमा ल्याएको केन्द्रको पोखरा लेखनाथ महानगरका मेयर मानबहादुर जिसीले शुभारम्भ गरे ।

मेयर जिसीले आफ्नै स्वास्थ्यको ख्याल नगर्दा विभिन्न समस्याबाट ग्रसित बन्नुपरेको बताउँदै नागरिक चेतना बढाउन र सामाजिक उत्तरदायित्वसमेत निर्वाह गर्न आग्रह गरे । विलासी जीवनशैली र अस्वस्थ खानपान छाडेर दिनमा आधा घन्टा भए पनि परिवारमा स्वास्थ्यबारे छलफल गर्न आग्रह गरे ।

नेपाल संगीत नाट्य प्रतिष्ठानका कुलपति सुरुभक्तले विशेषज्ञहरुले यस्ता सेवा सुरु गर्दा प्रतिभा पलायन रोक्न र सर्वसाधारणलाई आर्थिक भार कम गर्नसमेत सहयोग पुग्ने बताए । युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि (युआरएल) का प्रबन्ध निर्देशक ठाकुरप्रसाद पन्तले धेरै नेपाली कलेजो र ग्यास्ट्रिकको समस्याबाट ग्रसित भएको समयमा सुपर स्पेसालिटी सेवा देशका सबैजसो सहर उपलब्ध गराउन लाग्नुपर्ने बताए ।

पेट तथा कलेजो उपचार केन्द्रका सञ्चालक डा सुवास भट्टराईले आफ्नै जन्मस्थानमा योगदान गर्ने लक्ष्यले केन्द्र सञ्चालन गरेको बताए । पेट तथा कलेजो रोगबारे डिएम गरेका आफूबाहेक सबै राजधानीमा रहेकाले यो क्षेत्रका बिरामीलाई सुलभ, सरल र सही उपचार सेवा दिन केन्द्र स्थापना गरेको र सेवासँगै सामाजिक उत्तरदायित्वसमेत निर्वाह गर्ने प्रतिवद्धता जनाए । केन्द्रमा क्लिकिनसँगै अल्ट्रा साउन्ड, इसिजी, अत्याधुनिक इन्डोस्कोपी, एक्सरे, भिडियो एक्सरे, फार्मेसी सुविधा पनि उपलब्ध छ ।

कार्यक्रममा सामुदायिक सेवा जिल्ला समन्वय समितिका संयोजक विष्णुबहादुर भट्टराई, डा. मेरिना ज्ञवाली, पोखरा लेखनाथ वडा नं ८ का वडाध्यक्ष रुद्रनाथ बराल, वडा नं ९ का वडाध्यक्ष रामराज लामिछाने, पत्रकार नारायण कार्की लगायतले बोलेका थिए । कार्यक्रममा स्वागत ग्यास्ट्रो केयर सञ्चालक तथा बायोक्यामिस्ट भूपेन्द्रराज पाण्डेय र सञ्चालन केन्द्रका सञ्चालक गिरबहादुर खत्रीले गरेका थिए ।

You might also like

Comments are closed.