पोखरामा प्याराग्लाइडिङ टिमलाई मंगलबार भब्य स्वागत सहित नगर परिक्रमा गराइने

पोखरा, १८ भदौ ।
इण्डोनेसियामा सम्पन्न १८ औं एसियाली खेलकुदमा २० वर्ष पछि रजत पदक जित्दै आइतबारस्वदेश फर्किएको नेपाली प्याराग्लाइडिङ टिमलाई मंगलबार पोखरामा भब्य स्वागतको तयारी गरिएको छ ।

मंगलबार बिहान ११ः३० मा पोखरा विमानस्थलमा आउने ऐतिहासिक रजत पदक बिजेता टोलीलाई विमानस्थलमा भब्य स्वागतको तयारी गरिएको पश्चिमाञ्चल क्षेत्रिय खेलकुद बिकास समितीका अध्यक्ष सम्पन्न श्रेष्ठले बताए ।

स्वागतका लागि सम्पन्न बैठकमा, पश्चिमाञ्चल क्षेत्रिय खेलकुद बिकास समिती, जिल्ला खेलकुद बिकास समिती कास्की, नेपाल ह्याङग्लाइडिङ तथा प्याराग्लाइडिङ संघ (नेफा), नेपाल हवाइ खेलकुद संस्था (ना), प्याराग्लाइडिङ पाइलट क्लब, नेपाल खेलकुद पत्रकार मंच कास्की, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ कास्कीले प्याराग्लाइडिङ टिमलाई भब्य स्वागत गर्ने योजना बनाएका हुन् ।
उक्त बैठकले राष्ट्रको गरिमा उचो राख्न र इतिहास रच्न सफल प्याराग्लाइडिङ टिमलाई सम्पूर्ण पर्यटन,उद्योगी व्यबसायी, शिक्षक, विद्यार्थी, खेलाडी, पत्रकार, नागरिक समाज तथा पोखरेली खेलप्रेमीहरुलाई स्वागतका लागि आह्वान समेत गरेको छ ।

कार्यक्रम अनुसार मंगलबार पोखरा विमानस्थलमा स्वागत पश्चात खेलाडीलाई नगरपरिक्रमा गराउने कार्यक्रम रहेको छ भने पोखरा रंगशालामा भव्य सम्मान समारोहको आयोजना गरिएको छ । पोखरा विमानस्थल बाट शुरु हुने ¥याली मुस्ताङचोक, बिरौटाचोक, ड्याम साइड, राष्ट्रबैंक चोक, सहिद चोक, लेकसाइड, हल्लनचोक, जिरोकिमी, सृजनाचोक, न्यूरोड, चिप्लेढुङा, महेन्द्रपुल, नयाँबजार, पृथ्बीचोक हुँदै नगरपरिक्रमा पश्चात पोखरा रंगशालामा पुगेर सम्पन्न हुनेछ ।

उक्त समारोहमा नेपाल सरकारका यूवा तथा खेलकुद मन्त्रि जगत बहादुर विश्वकर्मा प्रमुख अतिथी र राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिब केशब कुमार विष्ट विशेष अतिथीका रुपमा उपस्थिती रहने जनाइएको छ ।

नेपाली प्याराग्लाइडिङ पाइलट विमल अधिकारी (टिम क्याप्टेन), बिशाल थापा, युकेश गुरुङ, शुसिल गुरुङ र बिजय गौतमले टिम इभेन्टमा पहिलो पटक रजत पदक दिलाएका थिए । टिम गेममा नेपालका लागि यो नै पहिलो र २० वर्ष पछिको रजत पदक हो । नेपाली प्याराग्लाइडिङको प्रशिक्षकमा योगेश भट्टराई, प्रशिक्षक सानुबाबु सुनुवार र टिम म्यानेजरमा शैलेन्द्र राउत रहेका छन् ।

You might also like

Comments are closed.