पोखरामा ‘फिभर क्लिनिक’र ‘हेलो डाक्टर’सेवा शुरु

क्रिटिकल समस्याको आशंका गरिएका बिरामीलाई मात्र ‘फिभर क्लिनिक’मा जान सुझाव दिइने

पोखरा । गण्डकी प्रदेशको राजधानी पोखरामा ‘फिभर क्लिनिक’ शुरु भएको छ। प्रदेश स्वास्थ्य निर्देशनालय गण्डकीका निर्देशक तथा कोरोना भाइरस रोकथाम उच्च स्तरीय निर्देशक समितिका फोकल पर्सन डा.बिनोदबिन्दु शर्माका अनुसार पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानको पश्चिमान्चल क्षेत्रिय अस्पताल, मणिपाल शिक्षण अस्पताल फुलबारी र गण्डकी मेडिकल कलेज नयॉंबजारमा फिभर क्लिनिक शुभारम्भ गरिएको हो। ‘यसमा ज्वरो आएका भाइरस संक्रमणका आशंका भएका बिरामी जचाउन आउनेछन्’, डा.शर्माले भने ‘यो क्लिनिक बिहान ९ बजेदेखि ४ बजेसम्म चल्नेछ।’

नेपाल मेडिकल काउन्सिलले गत बिहीबार एक सूचना प्रकाशित गरी एक सय शैय्या भन्दा माथिका अस्पतालहरुले अलग्गै ज्वरो क्लिनिक (फिभर क्लिनिक) संचालन गर्नुपर्ने निर्देशन दिएको थियो। सोही निर्देशन पोखराका यी ३ अस्पतालले पालना गर्दै छुट्टै ‘फिभर क्लिनिक’ संचालनको व्यबश्था मिलाएका हुन्।

हेलो डाक्टर हटलाइन सेवा

पोखरामा आइतबारदेखि हेलो डाक्टर हटलाइन सेवा शुरु हुने भएको छ। कोरोना भाइरसको संक्रमणको त्रास फैलिरहेका बेला रुघा खोकी र ज्वरो आएका बिरामीले ०६१-५२४०७४ मा फोन गरि चिकित्सकबाट आवश्यक सोधपुछ र परामर्श लिन सक्नेछन्।

स्वास्थ्य निर्देशक डा. शर्माका अनुसार बिरामीले घरमै बसि बसि डाक्टरलाई फोन गरि आफ्नो आशंका, जिज्ञासा र हेल्थ टिप्स प्राप्त गर्न सक्नेछन्। हटलाइन सेवा प्रदेश स्वास्थ्य निर्देशनालयमा रहनेछ। यो सेवामा आवश्यक चिकित्सक र स्वास्थ्यकर्मीको व्यवस्थापन अन्य संघ संस्थाको सहकार्यमा नेपाल मेडिकल एसोसिएसन गण्डकीले गर्ने डा. शर्माले बताए ।

हेलो डाक्टर हटलाइनमा फोन गरि आवश्यक सोधपुछ गर्नेहरु मध्ये क्रिटिकल समस्याको आशंका गरिएका रुघा खोकी लागेका बिरामीलाई मात्र ‘फिभर क्लिनिक’मा जान सुझाव दिइनेछ। गण्डकी प्रदेशका सामाजिक बिकास मन्त्री नरदेबी पुनले यो सेवाले सामान्य रुघा खोकी लाग्दैमा आत्तिएका बिरामीलाई मनोबैज्ञानिक राहत दिने अपेक्षा लिएको बताइन ।

You might also like

Comments are closed.