पोखरामा बन्नेभयो आधुनिक बधशाला, महानगर र प्रदेशको अगुवाई

सन्देश श्रेष्ठ/आर्थिक आवाज

पोखरा । पोखरामा आधुनिक बधशाला निर्माण गरिने भएको छ । गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिकाको संयुक्त पहलमा पहिलो चरणमा १० करोडको लागतमा पशु बधशाला निर्माण गरिन लागेको हो । पहिलो चरणमा १० करोडको बधशाला निर्माण गरिने भएपनि पछि यसलाई एक अर्ब भन्दा बढीको लागतमा अत्याधुनिक बधशाला बनाउने गरी तयारी थालिएको बताइएको छ । २ चरणमा गरी बनाइने बधशाला पहिलो चरणमा ५ सय वटा खसी एकै दिन बध गर्न मिल्नेगरी निर्माण गर्न लागिएको पोखरा महानगरपालिका पशु विकास महाशाखा प्रमुख शिव वाग्लेले जानकारी दिए । यसका लागि जग्गाबाहेक करीब १० करोड लाग्ने अनुमान गरिएको उनले बताए । उनका अनुसार बधशाला सञ्चालनको सञ्चालन पुँजी भने ५ करोड रहनेछ ।

बधशाला निर्माणका लागि ८ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भइसकेको छ । बधशाला निर्माणका लागि गण्डकी प्रदेश सरकारले ५ करोड, पोखरा महानगरपालिकाले २ करोड र हेफर ईन्टरनेसनलले १ करोड ५० लाख प्रदान गरिसकेको हो । संघीय सरकारले भने ३ करोड दिने बचन दिएको श्रोतले बताएको छ ।

बधशाला पोखरा महानगरपालिका वडा नम्बर १४, १५ र २१ मध्ये कुनै एउटा वडामा बनाउने तयारी गरिएको छ । सबै हिसाबले पोखरा २१ स्थित दोबिल्लामा बधशाला निर्माण गर्न उपयुक्त रहेको प्रारम्भिक निश्कर्ष निकालिएको श्रोतले बताएको छ । श्रोतका अनुसार बधशाला निर्माणका लागि प्रशस्त रुपमा सरकारी जग्गा भएको, नजिकै खोला भएकाले पानीको श्रोत भएको र नजिकमा गाउँ नभएकाले दोबिल्ला उपयुक्त ठाउँ भएको समितिको निश्कर्ष छ । सो जग्गा यसअघी क्रसरका रुपमा प्रयोग गरिएपनि अहिले भने खाली बगरका रुपमा रहेको छ । समितिले भने यसलाई गोप्य राखेको छ । अहिले नै बधशाला स्थलबारे जानकारी दिदा बनाउने भन्दापनि बिगार्ने सकृय हुने डरले समितिले ठाउँलाई गोप्य राखेको श्रोत बताउँछ । श्रोतले भन्यो,‘बधशाला निर्माण स्थल थाहा पाउने वित्तिकै बाटो बनाइदे, रोजगारी दे लगायतका माग राख्दै आन्दोलन शुरु हुनसक्छ, त्यसैले यसलाई गोप्य नै राख्छौं ।’

बधशाला स्थलको अन्तिम निर्णय गर्न पोखरा महानगरपालिकाका पशु विकास महाशाखा प्रमुख शिव वाग्लेको संयोजकत्वमा ६ सदस्यीय प्राविधिक समिति बनाएको बुझिएको छ । प्रस्तावित बधशाला स्थल मध्ये जग्गाको उपलब्धता, वातावरणीय असर, लगानी, पूर्वाधार, फोहोरजन्य वस्तुको व्यवस्थापनलगायतको आधारमा बधशाला स्थल छनौट गरेर मूल समितिलाई ७ दिनभित्र बुझाउनेछ । त्यसपछि मूल समितिले निर्णय गरेर बधशाला निर्माण कार्य थालनी गर्ने बताइएको छ ।

पशु बधशाला निर्माणसँगै पोखरेलीले स्वस्थ मासु खान पाउनेछन् । पोखरामा हालसम्म बधशाला नहुँदा मासु ब्यबसायीले आफूखुशी जथाभावी रुपमा बध गर्दै आएका छन् । जसका कारण सहर दुर्गन्धित हुँदै आएको छ । उपभोक्ता मञ्च कास्कीका अध्यक्ष कपिलनाथ कोइरालाले नेपालको प्रचलित कानुन अनुसारको उपभोक्ताले गुणस्तरीय मासु खान पाउने अवस्था पशु बधशाला निर्माणले मात्र सम्भव हुने बताए । उनले पशु बधशाला अनिवार्य बन्नुपर्ने बताउँदै यसका लागि सबैको सहयोग आवश्यक रहेको बताए ।

You might also like

Comments are closed.