पोखरामा माघ १ देखी ५ गतेसम्म सभामुख कप राष्ट्रिय भलिवल प्रतियोगिता हुने

 

पोखरा, २९ पुस

पोखरामा दोश्रो सभामुख कप राष्ट्रिय भलिवल प्रतियोगिता हुने भएको छ । राष्ट्रिय खेलकुद परिषदको आयोजनामा हुने प्रतियोगिता यहि माघ १ गतेदेखी ५ गतेसम्म पोखरा रंगशालामा हुने आइतबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो । यसअघी यस प्रतियोगिताको पहिलो संस्करण रोल्पामा भएको थियो । पुरुषतर्फको दोश्रो संस्करण भने पुस २३ गतेदेखी २७ गतेसम्म सुनसरीको ईटहरीमा सम्पन्न भइसकेको छ ।

प्रतियोगितामा ७ प्रदेश र ३ विभागीयसहित १० टिमले सहभागिता जनाउने पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष सम्पन्न श्रेष्ठले जानकारी दिए । प्रतियोगितामा विभागिय क्लवहरु नेपाल पुलिस क्लव, त्रिभूवन आर्मी क्लव र सशस्त्र प्रहरी वलको एपिएफ क्लवले सहभागिता जनाउने उनले बताए । उनका अनुसार प्रतियोगितामा प्रदेश नम्बर १, प्रदेश नम्बर २, प्रदेश नम्बर ३, गण्डकी प्रदेश, प्रदेश नम्बर ५, सुदूर पश्चिम प्रदेश र कर्णाली प्रदेशले सहभागिता जनाउने छन् । लिगकम नकाउटका आधारमा हुने प्रतियोगिताको पोल ‘ए’ मा एपिएफ क्लव, १ नम्बर प्रदेश र सुदूरपश्चिम प्रदेश, पोल ‘बी’ मा प्रदेश नम्बर ५, प्रदेश नम्बर २ र कर्णाली प्रदेश, पोल ‘सी’मा त्रिभूवन आर्मी क्लव प्रदेश नम्बर ३ तथा पोल ‘डी’मा नेपाल पुलिस क्लव र गण्डकी प्रदेश रहेका छन् ।

प्रतियोगिताको बिजेताले नगद ३ लाख ५० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपबिजेताले १ लाख ७० हजार, तृतीयले १ लाख र सान्त्वना टिमले नगद ५० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका कार्यालय प्रमुख लक्ष्मणप्रसाद योगीले जानकारी दिए । प्रतियोगितामा सर्बोत्कृष्ट खेलाडीलाई नगद १० हजारसहित ट्रफी र प्रमाण पत्र तथा उत्कृष्ट स्पाइकर, उत्कृष्ट ब्लकर, उत्कृष्ट सर्भर, उत्कृष्ट सेटर, उत्कृष्ट लिबेरो र उत्कृष्ट प्रशिक्षकलाई पनि नगद ५ हजारसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिने उनले बताए ।

प्रतियोगिता सम्पन्न गर्न ३८ लाख खर्च लाग्ने अनुमान गरिएको कास्की जिल्ला खेलकुद विकास समितिका अध्यक्ष यामबहादुर गुरुङले जानकारी दिए । प्रतियोगितामा सहभागि टिमहरुलाई दैनिक भ्रमण खर्च, यातायात खर्च र ट्रयाक सुटसहित अन्य सम्पूर्ण खर्च आयोजकले नै प्रदान गर्ने उनले बताए ।

लिग कम नकाउटको आधारमा हुने प्रतियोगिताका लागि एक सय र दुई सय गरी दुई प्रकारको टिकट दर कायम गरिएको छ । लिग र क्वाटरफाइनलसम्म एक सय र सेमीफाइनल तथा फाइनल खेलका लागि २ सय टिकट दर कायम गरिएको पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष सम्पन्न श्रेष्ठले जानकारी दिए ।

You might also like

Comments are closed.