आर्थिक आवाज
पोखरा । पोखराको लेकसाइडस्थित वाराहीघाटमा एक युवा टाउकोमा प्लाष्टिक बेरेर उभिएर बसे । उनलाई सास फेर्न ग्राहो भएको थियो । युवा हुन गौरव पौडेल ।
ग्राहो भएको देखेर भिडबाट नै एकजना गएर उनको प्लाष्टिक खोलिदिए । त्यसपछि उनी नो एक्जिट शीर्षकमा प्रफमेन्स आर्ट गरेको बताउँदै सबैलाई पर्यावरण जोगाउन आग्रह गरे ।
वाराहीघाटमा नै अर्का एक युवा २ हात र खुट्टामा भारतको झण्डा झुण्डाएर यताउता हल्लिरहेका थिए । उनी कलाकार टीकाराम पौडेल थिए । टीकारामले अस्तित्व शीर्षकमा प्रफमेन्स आर्ट गरेको बताउँदै नेपाली हामी रहौला कहाँ नेपालै नरहे ? प्रश्न गरेका थिए ।
वाराहीघाटमा नै अर्का एक युवा आए । कपाससहित विभिन्न रंगहरु र सेतो कपडा भुईंमा ओछ्याए । अनि कपास रंगहरुमा डुबाउदै सेतोमा फाल्दै थिए । उनी रेवन राई थिए । उनले विभिन्न रंगहरु मार्फत विदेशिएका युवाहरुको इच्छा र खुसी खोजेको बताए ।
वराहीघाटमा नै अर्की एक युवती आइन्, गर्भवती भएर । तर, उनको नक्कली पेट रहेछ । उनी सविता सापकोटा थिइन् । सविताले पुरुषप्रधान समाज शीर्षकमा प्रफमेन्स आर्ट गर्दै हाम्रो समाजमा महिला गर्भवती हुँदा पनि छोरा पाउनुपर्छ भन्दै दबाब सहनुपर्दाको पीडा प्रफमेन्स आर्ट मार्फत देखाएको बताइन् ।
लेकसाइडको फुट ट्रयाकमा एक युवा माक्स नै माक्सको बिचमा थिए । उनी उज्ज्वल पौडेल हुन् । उनले माक्स घरी मुखमा लगाउछन घरी खुट्टा, हातमा लगाउछन् । उनी सास फेर्न नसकेर छटपटाइरहेका थिए । उज्ज्वलले स्वास शीर्षकमा प्रफमेन्स आर्ट गरेको बताउँदै पृथ्वी जोगाउन सबैलाई आग्रह गरेका थिए ।
लेकसाइडको फुट ट्रयाकमा नै अर्का एक युवा प्लाष्टिक भित्र छटपटाइरहेका थिए र बाहिर पत्रपत्रिका छरिएका थिए । उनी बिनोद रसाइली हुन् । उनले देश बलियो हुनका लागि अभिव्यक्ति स्वतन्त्रता जनतादेखि सत्तासम्म समान पहुँच हुनुपर्ने बताए ।
लेकसाइडको फुट ट्रयाकमा नै अर्का एक युवा गितार बोकेर आइरहदा दमाहा देखेर रोकिएर दमाहा सफा गरेर लिएर बजाउँदै जान्छन् । उनी अनुप अधिकारी हुन् । उनले विकाससँगै अगाडि बढ्दा हाम्रो पहिचान, संस्कृति, संस्कार, नैतिकताको जर्गेना गर्न आग्रह गरे ।
पोखराको लेकसाइड हल्लनचोकमा एक युवा जाली भित्र छटपटाइएहेका थिए । उनी रोशन ज्ञवाली हुन् । उनले जनावरलाई कैद गर्दाको पीडा प्रफमेन्स आर्ट देखाएका थिए ।
लेकसाइड हल्लनचोकबाट वाराहिचोकसम्म एक महिला जन्जिरमा बेरिएर हिडिरहेही थिइन् । उनी ज्योती हमाल हुन् । उनले महिलालाई बाहिर त निस्किन दिन्छन् तर समाजले जन्जिरमा बेरिदिएकाले त्यो तोडिदिन समाजलाई आग्रह गरिन् ।
न्यारेटर अ स्टोरी टेलर समूहले पोखराको लेकसाइडस्थित विभिन्न ठाउँमा प्रशिक्षक चे शंकरको नेतृत्वमा शनिबार ९ वटा भावनाटिका कला (प्रफमेन्स आर्ट) प्रर्दशनी गरेको थियो । प्रदर्शनी हेर्नेहरुको भिड लागेको थियो ।
Comments are closed.