पोखरामा यस्तो बन्दैछ पहिलो आकाशेपुल

पोखरा । पोखराको सृजनाचोकमा आकाशेपुल बनाइने भएको छ । पोखराका ब्यस्त चोकहरु मध्येको एक पोखरा महानगरपालिका वडा नम्बर ८ स्थित सृजनाचोकमा आकाशे पुल निर्माण हुने भएको हो । मुख्यचोकमाहरुमा बढदो ट्राफिक जामलाई घटाउने उद्देश्यले पोखरा महानगरपालिकाको २ करोड ३० लाख ११ हजारको लागतमा आकाशे पुल निर्माण गर्न लागेको हो । पुलको शुक्रबार विहान गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले शिलान्यास गरे ।

आउँदो चैत मसान्तसम्ममा निर्माण गरिसक्ने लक्ष्यसहित आकाशेपुलको निर्माण कार्य शुरु गरिएको पोखरा महानगरपालिका वडा नम्वर ८ का वडाध्यक्ष रुद्रनाथ बरालले जानकारी दिए । चैत मसान्तसम्ममा बनाइसक्ने भनिएपनि साउन २७ गतेसम्म बनाइसक्ने भनी निर्माण कम्पनीसँग सम्झौता छ ।

महानगरपालिकाको २ करोड र स्वः रवीन्द्र अधिकारीले सांसद विकास कोर्षबाट विनियोजित गरेको ५० लाखबाट पुल निर्माण गर्न लागिएको वडाध्यक्ष बरालले बताए । पुल निर्माणको जिम्मा के.एम. जे.बि.एन.एस. पोखराले ठेक्का लिएको छ । पृथ्वीचोकबाट लेकसाइड र विरौटाबाट विन्ध्यबासिनी जोड्ने सृजनाचोकको चारैतिर आकाशेपुल हुनेगरी पुल निर्माण गरिनेछ । पुल स्टील जडित भएकाले निर्माणका लागि समय धेरै नलाग्ने र निर्धारित समयमै सम्पन्न हुने इन्जिनियर बाबुराम भण्डारीले बताए । पुल निर्माणका लागि गत जेठ ५ गते नै सम्झौता भइसकेको र कम्पनीले आन्तरिक काम भइरहेको निर्माण कम्पनीले जनाएको छ ।

आकाशे पुल निर्माणपछि पोखराको जाम केहि कम हुने आशा गरिएको छ । सृजनाचोक ब्यस्त चोकहरु मध्येको एक भएकाले यहाँको जामले अन्य चोकहरुमापनि असर पर्ने भएकाले यहाँ आकाशेपुल निर्माण भएपछि अन्य चोकको जामलाईपनि कम गर्न मद्धत पुग्नेछ । यद्वपी सृजनाचोक भन्दा पृथ्वीचोक र सभागृहचोक अझ बढी ब्यस्त हुने भएपनि त्यहाँ अहिलेसम्म आकाशेपुल निर्माण हुन सकेको छैन । सृजनाचोकमा पुल निर्माण सम्पन्न भए यो पोखराको पहिलो आकाशे पुल हुनेछ ।

You might also like

Comments are closed.