पोखरामा राष्ट्रिय औद्योगिक व्यापार मेला, आजबाट सबै कार्यक्रम प्रदर्शनी केन्द्रमा

आर्थिक आवाज
पोखरा, १८ पुस । पोखराको नयाँबजारमा आयोजित समृद्धि स्टिल्स राष्ट्रिय औद्योगिक व्यापार मेलाको औपचारिक उद्घाटन भएको छ । झरिका बावजुद सयौँ महिला समूह, सांस्कृतिक टोली, टोल विकास संस्था तथा उद्योगी÷व्यवसायीहरुको समुपस्थितिमा गण्डकी प्रदेशका पर्यटन, उद्योग, वन तथा वातावरणमन्त्री विकास लम्सालले शुक्रबार महोत्सवको उद्घाटन गरे । हजारौँ महिला तथा शुभेच्छुकहरुलाई पानीमा रुझाउन उचित नहुने भन्दै आयोजक संस्थाले उद्घाटन कार्यक्रम संघको सचिवालयमा नै आयोजना गरेको हो । मेलामा निर्धारित सबै कार्यक्रमहरु भने प्रदर्शनी केन्द्र नयाँबजारमा नै आयोजना हुने उनले बताए ।

‘मौषमको प्रतिकूलतालाई ध्यान दिई हामीले निर्धारित कार्यक्रमलाई परिर्वतन गरि संघको सचिवालय गैह्रापाटनमा नै मेलाको समुद्घाटन ग¥यौँ, हाम्रा शुभेच्छुकहरुको मायालाई हार्न सकेनौँ र मौषमलाई जित्दै मेलाको समुद्घाटन ग¥यौँ’, आयोजक संस्था पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष दामु अधिकारीले भने,‘ मेलाप्रति पोखरेली र अझ बढी महिलाहरुले देखाएको गुणलाई हामी कहिल्यै भुल्न सक्दैनौँ ।’ उनले मेलामा भएको भव्य उपस्थिति र उत्साहलाई ध्यानमा राख्दै पुस २१ गते पुनः प्रभातफेरीको आयोजना गर्ने तयारी भएको जानकारी समेत दिए । प्रभातफेरी कार्यक्रमको संयोजनको भूमिका निर्वाह गरेकी संघकी उपमहासचिव चिनु गुरुङले महिला उद्यमशिलता विकासको लागि संघले आयोजना गरेको कार्यक्रमलाई सघाउन सबैसँग आग्रह गरिन् ।

मेला पुस २८ गतेसम्म चल्नेछ । मेलामा पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका औद्यौगिक तथा घरेलु उत्पादनहरुका स्टल रहेको संघका महासचिव अर्जुन पोखरेलले जानकारी दिए । यसैगरि दैनिक उपभोग्य बस्तु, लत्ताकपडादेखि गाडी र फूलहरु पनि मेलामा प्रदर्शन तथा बिक्रीको लागि राखिएको छ । चालीसको दशकमा संघले नै पहिलो पटक व्यवस्थित रुपमा मेला आयोजनाको थालनी गरेको थियो । त्यसपछि २०५२ सालमा आयोजित पोखरा महोत्सव तथा राष्ट्रिय औद्योगिक व्यापार मेलाका पछिल्ला संस्करणहरु उद्यमशीलता वृद्धि तथा आर्थिक गतिविधि चलायमान बनाउन सहायक रहँदै आएको संघको दावी छ । अहिले देशभर मेला र महोत्सव आयोजना गर्ने लहर चले पनि पोखरामा आयोजना हुने व्यापार मेला तीभन्दा फरक रहेको महासचिव पोखरेलले दावी गरे । उनले यो मेला नाफामूलक नभई सहभागितामूलक भएको जिकिर गर्दै मेलामा सहभागिताको लागि सबै पोखरेलीसँग आग्रह पनि गरे । मेलाको प्रवेश टिकट सर्वसाधारणको लागि ६० र विद्यार्थीको लागि ४० रुपैयाँ राखिएको छ । त्यो टिकट काटेबापत नेपाल टेलिकमसँगको सहकार्यमा ५० रुपैयाँ ब्यालेन्स भएको नेपाल टेलिकमको प्रिपेड सिम दिइने व्यवस्था मिलाइएको संघका उपाध्यक्ष तथा प्रायोजन व्यवस्थापन उपसमिति संयोजक पवनकुमार प्रजापतिले बताए । एउटा फोटो र नागरिकताको फोटोकपी पनि साथै ल्याउन आग्रह गर्दै उनले भने,‘ यो भनेको क्याँस ब्याक योजना नै हो, टिकटमा खर्चेको पैसा फिर्ता भएको मान्दा पनि हुन्छ ।’ उनले प्रवेश टिकटमा दैनिक एकजनालाई लक्की ड्रमार्फत प्याराग्लाइडिङको व्यवस्थासहित अन्य आकर्षक उपहार र बम्बर उपहार पनि राखिएको बताए ।

मेलाको उद्घाटन गर्दै गण्डकी प्रदेशका उद्योग,पर्यटन,वन तथा वातावरण मन्त्री विकास लम्सालले सरकार र निजि क्षेत्र मिलेर उत्पादन वृद्धिका साथै रोजगारी सिर्जना गर्नुपर्नेमा जोड दिए । निजी क्षेत्रसँगको साझेदारीमा देशमा उत्पादन वृद्धिसँगै रोजगारी सिर्जना गर्ने धेरै अवसरहरु भएको बताउदै उत्पादन वद्धि हुने क्षेत्रमा लगानी बढाउन निजी क्षेत्रलाई अपिल समेत गरे । मन्त्री लम्सालले स्वदेशी उत्पादनहरुले बजार भाउ नपाउदा मुलकले दिनानुदिन चर्को व्यापार घाटा व्योहोर्नुपरेको वर्तमान अवस्थामा निजी क्षेत्र सँगको सहकार्य बाटनै स्थानिय स्तरमा उत्पादित बस्तुहरुलाई अन्तराष्ट्रिय बजार पु¥याउन सकिने बताए ।

मन्त्री लम्सालले स्वदेशी गुणस्तरिय बस्तुले बजार भाउँ नपाउने तर गुणस्तरहीन विदेशी सामाग्रहरुले नेपाली बजार कब्जा गर्दै गएको बताउदै आयातित सामान प्रयोग गरेर मुलूकले कहिले पनि आर्थिक विकास र समृद्धि हासिल नगर्ने बतए ।

देशमा आर्थिक विकास र समृद्धि हासिल गर्न स्थानिय उत्पादन हुनुपर्नेमा जोड दिँदै मन्त्री लम्सालले एक गाउँ एक उत्पादन हुने गरी अब गाउँ गाउँबाट उत्पादन, रोजगारलाई बिषेश जोड दिनुपर्ने बताए । प्रदेशको राजधानी पोखराबाट आगामी करिब एक बर्षमा अन्तर्राष्ट्रिय हवाई उडान हुने हुदा आगन्तुक पाहुनालाई खुवाउने देखि आफ्नो देशमा नेपालको चिनोको रुपमा लैजाने सामानहरुको लागि कोसेली हाउस स्थापना गर्नुपर्ने मन्त्री लम्सालले बताए ।

प्रदेश सरकारले गत बर्ष कोसेली घर स्थापना गर्न ५० लाख रुपैया विनियोजन गरे पनि प्राविधिक कारणले गर्दा काम अघि बढ्न नसकेकोको उल्लेख गर्दै मन्त्री लम्सालले यस वर्ष भने कोसेली घर स्थापना गर्न निजी क्षेत्रसंग प्रदेश सरकारले सहकार्य गर्न तयार रहेको बताए । प्रदेश सांसद एवं संघका पूर्वअध्यक्ष विन्दुकुमार थापाले मेला महोत्सवले देशको आर्थिक विकास र समृद्धिमा टेवा पुगेको जनाए । अहिले उद्यम गर्न खोजे पनि उचित वातावरण नभएको उनको भनाई थियो । उनले निजी क्षेत्रसँगको सहकार्य बिना उद्यमशीलता संभव नहुने बताए ।

कार्यक्रममा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघका मेला समितिका सभापति श्री दिलसुन्दर श्रेष्ठले आर्थिक गतिविधि चलायमान बनाउने यस्ता मेला र महोत्सवलाई राज्यबाट पनि सहयोग हुनुपर्ने माग गरे । यता, गण्डकी प्रदेशका अध्यक्ष संजिवबहादुर कोइरालाले मेला र महोत्सवहरु आयोजनाको जिम्मा उद्योग वाणिज्य संघलाई नै दिनुपर्ने माग गरे । उनले निजी क्षेत्र सरकारसँग सहकार्य गर्न तयार रहेको पनि बताए ।

पोखरा उद्योग,वाणिज्य संघका अध्यक्ष दामु अधिकारीले उद्योग क्षेत्र बलियो बन्न नसकेमा मुलुकमा रोजगारी र समृद्धि प्राप्त गर्न नसकिने बताए । उद्योग क्षेत्रको चौतफी विकासका लागि सरकारले ठोस कार्ययोजना ल्याउनुपर्ने धारणा राखे । संघका वरिष्ठ उपाध्यक्ष नारायण कोइरालाले मेलामा सहभागिता जनाउनेहरुलाई धन्यवाद ज्ञापन गर्दै निजी क्षेत्रलाई उत्साहित बनाउने खालका वातावरण बनाउनेतर्फ ध्यान दिन प्रदेश सरकारसँग आग्रह गरे । उनका अनुसार मेलाबाट बचत भएको रकम प्रदर्शनी केन्द्रको पूर्वाधार निर्माण तथा सामाजिक कार्यका लागि मात्र खर्च गरिने छ ।

पोखरा पर्यटन परिषदका अध्यक्ष चिरञ्जिवी पोख्रेलले आगन्तुक पाहुनाको लागि स्थानीय उत्पादनको मायाको चिनो (कोसेली) अति आवश्यक भएको बताए । यही पुष २८ गतेसम्म चल्ने उक्त मेलामा २०७६ मा २ सय ७० वटा व्यापारिक स्टलहरु रहने भएकाछन् । सो मेलामा विभिन्न औद्योगिक उत्पादनका सामाग्रीहरु, हस्तकला, बगैचा, बैंक तथा वित्तीय क्षेत्र, फ्लोरिकल्चर, अटोमेला, सूचना तथा प्रविधिहरुको प्रदर्शनी, दैनिक उपभोग्य घरायासी सामानहरु, लत्ता कपडा तथा श्रृगारका सामग्रीहरु मेलामा खरिद गर्न सकिने छ ।मेलामा थप आर्कषकमा ख्यातिप्राप्त व्याण्डद्वारा सांगितिक कार्यक्रमको प्रस्तुति, खुल्ला तथा एकल नृत्य प्रतियोगिता, प्रहशन लगायत मेलाको बम्पर उपहारका रुपमा हिरो कम्पनीको स्कुटर राखिने आयोजक संस्था पोखरा उद्योग वाणिज्य संघका कोषाध्यक्ष सुरेन्द्रमान विजुक्छेले जानकारी दिए ।

You might also like

Comments are closed.