पोखरामा वाइवाइ तीज मेला, देश अब समाजबादमा जानुपर्छः अध्यक्ष तिमिल्सिना

पोखरा । राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले देश अब समाजबादमा जानुपर्ने बताएका छन् । पुष्पाञ्जली फेसन एण्ड इभेन्टको आयोजना तथा इन्द्रेणी एकीकृत विकास केन्द्र बगर पोखराको सह–आयोजनामा पोखराको टुँडिखेलमा बुधबारदेखि आयोजित तीज मेलाको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष तिमिल्निाले कोहिपनि भोकै र नाङ्गै नहुनेगरी देश समाजबादमा जानुपर्ने बताएका हुन् । उनले देशलाई आर्थिक, सामाजिक र राजनीतिक विभेदमुक्त भएको समाजबादमा लैजानु आवश्यक रहेको बताए । उनले भने,‘यस्तो समाजबाद जहाँ अन्याय, अत्याचार, विभेदलगायत सबै शोषणहरुको अन्त्य हुनुपर्छ ।’

अध्यक्ष तिमिल्सिनाले आरक्षण केहि समयका लागि मात्र दिइनुपर्ने बताए । आरक्षण कमजोरहरुलाई दिइने सुविधा हो,‘उनले भने,‘तर यो सँधैका लागि हुनुहुँदैन ।’ उनले देशमा कोहिपनि कमजोर हुन नहुने बताउँदै सबैलाई प्रतिष्पर्धी रुपमा आउन सक्ने वातावरण सरकारले बनाउनुपर्ने बताए ।

अध्यक्ष तिमिल्सिनाले सरकार आवाज विहिन्हरुको आवाज र सहारा विहिन्हरुको सहारा बन्नुपर्ने बताएका हुन् । उनले सबैले समान अवसर र सुविधा पाउनुपर्ने भन्दै त्यो वातावरण बनाउने जिम्मा सरकारको भएको बताए ।

अध्यक्ष तिमिल्सिनाले संस्कृतिलाई भड्किलो र खर्चिलो नबनाउन आग्रह गरे । हामी भड्किलो र खर्चिलो नबनाईपनि तीज, दशैं, तिहारलगायतका चाँडपर्व मनाउन सक्छौं,‘उनले भने,‘भड्किलो र खर्चिलो बन्दै जाँदा यो संस्कृति नभई विकृति बन्न सक्छ, त्यसैले बेलैमा सचेत होऔं ।’

अध्यक्ष तिमिल्सिनाले पोखराको टुँडिखेल बचाउन आग्रह गरे । उनले भने,‘टुँडिखेल टुँडिखेल नै छ कि अर्कै खेल भइसक्यो ? टुँडिखेललाई टुँडिखेल नै बन्न दिनुस् ।’ टुँडिखेलमा रहेको जमिनमाथि अतिक्रमण भइरहेको भन्दै त्यसको संरक्षणका लागि सबै जुट्नुपर्ने बताए ।

प्रतिनिधि सभाकी सांसद दुर्गा विकले हिजोजस्तो आजका महिला उत्पीडनमा नरहेको बताइन् । उनले संविधानमा उल्लेख गरिएका महिलाका हक अधिकार कार्यान्वयनमा जोड दिइन् ।

प्रदेश सांसद रामजीप्रसाद बरालले हिजोको उत्पीडनमा रहँदाजस्ता तीज गीत अहिलेको सन्दर्भमा मेल नखाने भएकाले समृद्धीलाई योगदान दिने खालका गीत÷संगीत गाउन आग्रह गरे ।

अर्का प्रदेश सांसद विन्दुकुमार थापाले सासु बुहारीको बिलौना गाएर विरक्तिनु भन्दा महिला सशक्तिकरणका गीत गाएर समाजलाई सचेत बनाउन सुझाव दिए ।

बुधबारदेखि शुरु भएको तीज मेला भदौ १६ गतेसम्म जारी रहने पुष्पाञ्जली फेसन एण्ड इभेन्टकी सञ्चालिका शोभा गौतमले जानकारी दिइन् । तीजलाई उत्सवका रुपमा मनाउँदै महिला सशक्तिकरणमा सघाउने उद्धेश्यले मेला आयोजना गरिएको उनले बताइन् । मेलामा तीज गीत गायन प्रतियोगिता, नृत्य प्रतियोगिता, टपरी गाँस्नेलगायत हास्यव्यंग्य र दोहोरी गीतलगायतका मनोरञ्जनात्मक कार्यक्रमपनि हुने सह–आयोजक इन्द्रेणी एकीकृत विकास केन्द्रका अध्यक्ष भानुभक्त अधिकारीले जानकारी दिए ।

You might also like

Comments are closed.