पोखरामा व्यवसाय व्यवस्थापन तालिम, व्यवसाय बिस्तारमा सघाउँछः कोइराला

आर्थिक आवाज
पोखरा, १ फागुन । पोखरा उद्योग वाणिज्य संघले आफ्नो ६५औं वार्षिकोत्सवको अवसरमा आयोजना गरिएको व्यवसाय व्यवस्थापन विषयक ५ दिने तालीम बुधबार सम्पन्न भएको छ । तालीममा पोखराका विभिन्न व्यावसायिक संस्थाका १६ जना प्रशिक्षार्थीको सहभागिता रहेको थियो । तालीम व्यवसाय विस्तार, व्यवसाय र बजारीकरणमा नयाँ प्रविधी तथा सीपको प्रयोगमा केन्द्रित रहेकाे कार्यबहाक अध्यक्ष नारायण कोइरालाले जानकारी दिए ।

‘सामान उही भए पनि त्यसलाई तलमाथि गरेर सजावट परिवर्तन गर्दा ग्राहक आकर्षित हुन्छन्,’ उनले भने, ‘तालीमले पनि आफूले थाहा पाइरहेको विषयलाई नयाँ तरिकाले प्रयोग गर्न सिकाउँछ ।’ कार्यवाहक अध्यक्ष कोइरालाले बजारमा भित्रिएका विज्ञापनका नयाँ शैली, प्रविधीको प्रयोग तथा नयाँ व्यवसायका सम्भावनाबारे पनि व्यवसायीहरुले ध्यान दिनुपर्नेमा जोड दिए ।

संघका महासचिव अर्जुन पोखरेलको संचालन रहेको समापन कार्यक्रममा कोषाध्यक्ष सुरेन्द्रमान बिजुक्छे र प्रशिक्षक रामप्रसाद त्रिपाठीले पनि सहभागीहरुलाई प्रमाणपत्र बितरण गरेका थिए । समापन कार्यक्रममा बोल्दै तालीमका प्रशिक्षक तथा आयोजक संस्था औद्योगिक व्यवसाय विकास प्रतिष्ठान पोखराका प्रमुख रामप्रसाद तिवारीले सिकेका कुरा व्यवहारमा उतार्न आग्रह गरे । संघका कोषाध्यक्ष तथा तालीम व्यवस्थापन उपसमितिका संयोजक चिनु गुरुङले आउँदा दिनहरुमा पनि यस्ता तालीमहरु आयोजना गरिने बताइन् । प्रशिक्षार्थी उमा सापकोटा र जगदिश लामिछानेले आफूहरुलाई लेखा लगायतका थप तालीमको व्यवस्था गर्न आग्रह गरे ।

You might also like

Comments are closed.