पोखरामा सडक महोत्सवको तयारी, भिजिट वर्ष लक्षित कार्यक्रम गरिने

आर्थिक आवाज
पोखरा । रेवान पोखराको आयोजनामा २१औं संस्करणको सडक महोत्सव हुने भएको छ । अँग्रेजी नयाँ वर्षलाई लक्षित गरी कार्यक्रम गर्न लागिएको हो । रेवान पोखराले पर्यटकीय गतिविधि बढाउने लक्ष्यसहित पोखराको लेकसाइडमा वर्षेनी सडक महोत्सव गर्दै आइरहेको छ । पुस १२ देखि १६ गतेसम्म महोत्सव चल्ने रेवान पोखराका प्रथम उपाध्यक्ष लक्ष्मण बरालले जानकारी दिए ।

भिजिट वर्ष २०२० लाई लक्षित महोत्सवमा पर्यटकीय गतिविधि सञ्चालन गरिने बरालले बताए । ‘जनवरी फस्टमा सडक महोत्सवकै अवसरमा भिजिट वर्ष २०२० लक्षित कार्यक्रमको सुरुवात गरिन्छ,’ बरालले भने, ‘रेवानले वर्षभरी भिजिट वर्ष लक्षित गतिविधिलाई प्राथमिकतामा राख्छ ।’ लेकसाइडस्थित खुल्ला सडकमा आयोजना गरिएको महोत्सवकै अवसरमा अँग्रेजी नयाँ वर्ष २०२० लाई स्वागत गरिनेछ ।

महोत्सव अवधिभर पोखरामा आन्तरिक तथा बाह्य पर्यटकको भिड लाग्ने अध्यक्ष भीमसेन भुजेल ‘बुधराज’ले बताए । ‘महोत्सव अवधिभर पोखराका सम्पूर्ण होटलहरु भरिभराउ हुनेछन्,’ उनले भने, ‘नेपालमै पृथक खालको महोत्सव हामीले पोखरामा आयोजना गर्दै आइरहेका छौं । यो महोत्सवले आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याउँछ ।’ रेवानले आयोजना गरेपनि समग्र पोखराको प्रतिष्ठासँग महोत्सव जोडिएको उनले बताए ।

महोत्सवमा कास्की तथा आसपासका जिल्लामा उत्पादित बस्तुहरुको प्रदर्शनी गरिनेछ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खानाका परिकार, विभिन्न मनोरञ्जनात्मक कार्यक्रम, पर्यटन खेलकुद, हस्तकला प्रदर्शनी, बालउद्यान, साहसिक पर्यटक खेलकुद, वृत्तचित्र प्रदर्शनी, लोकदोहोरी, लाइभ कन्सर्ट पनि महोत्सवको आकर्षण बन्ने सचिव विकास भट्टराई जानकारी दिए । ‘विभिन्न देशका सांस्कृतिक कार्यक्रमहरु पनि प्रस्तुत हुनेछन्,’ उनले भने । महोत्सवको तयारीलाई तिब्र बनाइएको भट्टराईले जानकारी दिए ।

You might also like

Comments are closed.