पोखरामा सुरु भयो, प्रमाणपत्र नदिने एउटा तालीम

पोखरा, १७ चैत ।

अक्सर तालीमपछि प्रमाणपत्र दिइन्छ । प्रमाणपत्र भित्तामा झुण्डिन्छ । तालीम लिनेले सीप भुलिसकेको हुन्छ । सीप भुलेपछि प्रमाणपत्रको काम भित्तो सजाउने र अतित सम्झाउने त हो !

तर, सबै तालीम यस्ता हुँदैनन् । पोखरामा आइतबारबाट एउटा तालीम सुरु भयो । तालीमको विषय थियो, सिलाई कटाई । प्राविधिक शिक्षा तथा व्यावसाययीक तालीम परिषद ( सिटिइभिटी) र पोखरा उद्योग वाणिज्य संघ तालीमका आयोजक थिए । तालीमेहरुलाई उद्घाटनकै बेला भनियो,‘हामी तालिम दिन्छौँ तर सर्टिफिकेट दिँदैनौँ ।’ तालीमेहरु मुखामुख गर्न थाले ।

यस्तैमा सिटिइभिटीका प्राचार्य जीवन भण्डारीले भने,‘हामीले दिने सीप हो, त्यो सीपमा तपाईँ खरो उत्रनुभयो भनेचाहिँ प्रमाणपत्र पनि पाइन्छ तर जाँच दिएपछि मात्र ।’ उनका अनुसार ६५ दिनसम्म दैनिक ६ घण्टाको दरले तालीम लिएपछि प्रशिक्षार्थीहरुको परीक्षा हुन्छ । राष्ट्रिय सीप परीक्षा केन्द्रले लिने जाँचमा प्रयोगात्मक काम गर्न लगाइन्छ । ‘तपाईँहरुले आफ्नो नामको हस्ताक्षर गरे पुग्छ तर कामचाहिँ राम्रो गर्नैपर्छ’, भण्डारीले थपे,‘बजारमा यति धेरै मान्छे चाहिएको छ, तपाईँहरुलाई हामी बजारले खोजेजस्तो वा आफै केही गर्न सक्ने बनाउने हो ।’

उनले त्यसो भनेपछि पोखरा उद्योग वाणिज्य संघ तथा तालीम उद्घाटन कार्यक्रमका अध्यक्ष दामु अधिकारीले थपे,‘ हामी तालीमबाट जिविकोपार्जन गर्न सिकाउँछौँ, चाहे त्यो स्वरोजगारबाट होस् कि अन्यत्र कतै काम गरेर ।’ उनले स्वरोजगार सृजनाको लागि पोखरा उद्योग वाणिज्य संघले बिभिन्न किसिमका तालीमहरु प्रदान गर्दै आएको इतिहास पनि सम्झे । पछिल्लो समयमा हामीलाई अधिकार माग्न सिकाइएको तर काम गर्न नसिकाइएको तीतो यथार्थबारे ब्याख्या गर्दै उनले तालीमपछि स्वरोजगारको बाटोमा लाग्न प्रशिक्षार्थीहरुलाई आग्रह गरे ।

संघका पूर्व अध्यक्ष बसन्त उदासले महिलाहरु आत्मनिर्भर हुनु भनेको परिवार नै आत्मनिर्भर हुनु हो भन्दै स्वरोजगा सृजनाको लागि सिलाई तालीमले सिकाउने आशा व्यक्त गरे । पोखरा उद्योग वाणिज्य संघका महासचिव अर्जुन पोखरेलका अनुसार तालीममा २० जना प्रशिक्षार्थीहरु सहभागि रहेका छन् । तालीमका मूख्य प्रशिक्षकमा रामबहादुर घले परियार रहेका छन् भने १० जना प्रशिक्षार्थी बराबर एकजना प्रशिक्षार्थीको व्यवस्था गरिएको छ । सिलाई तालीम प्रयोगात्मक हुने पनि उनले जानकारी दिए ।

संघका उपमहासचिव तथा तालीम व्यवस्थापन उपसमितिका संयोजक चिनु गुरुङका अनुसार कडा छनौट परीक्षा उत्र्तीर्ण गरेपछि मात्र तालीमका सहभागिहरुको चयन गरिएको हो । इच्छाशक्ति, भविष्यमा केही गर्छु भन्ने चाहना, पारिवारिक अवस्थालगायतका विषयहरुको अध्ययनपछि २० जना छनौट गरिएको बताउँदै उनले पोखरा उद्योग वाणिज्य संघले आवश्यकताको आधारमा तालीमहरु आयोजना गर्दै जाने बताइन् ।

You might also like
Ram Tulasi Palpa

Comments are closed.