पोखरामा हुने लायन्स महाधिवेशनको तयारी तिब्र

सुरेन्द्र पौडेल
पोखरा, ८ वैशाख । पोखरामा वैशाख १३ र १४ गते हुने लायन्स महाधिवेशनको तयारीलाई तिब्र बनाइएको छ । लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ बि १ नेपालको सातौं महाधिवेशन पोखराको नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा हुँदैछ । महाधिवेशनमा ३ हजार भन्दा बढी लायन्स सदस्यहरु सहभागी हुने मूल आयोजक समितिका संयोजक तथा डिष्ट्रिक्टका डिपार्टमेन्ट चिफ बिमला श्रेष्ठले जानकारी दिइन् ।

‘हालसम्म १ हजार ५ सय जनाले रजिस्टेसन गरिसकेका छन्,’ उनले भनिन्, ‘१३ गतेसम्म ३ हजार जनाले रजिस्टेसन गर्ने हाम्रो विश्वास छ ।’ लायन्स क्लब अफ पोखरा गण्डकीको संयोजनमा महिला मात्रै सदस्य रहेका पोखरा क्षेत्रका २६ वटा क्लबहरुको आयोजनामा महाधिवेशन हुँदैछ ।

पर्यटकीय नगरी पोखरामा हुने लायन्सको महाधिवेशनले पोखरा क्षेत्रको पर्यटन प्रवद्र्धनमा प्रत्यक्ष योगदान पुग्ने सहसंयोजक मीलन थापाले बताइन् । ‘देशभरबाट लायन्स सदस्यहरु पोखरा आउने हुँदा महाधिवेशनले पर्यटन क्षेत्रमा प्रत्यक्ष योगदान पु¥याउने छ,’ उनले भनिन् । पोखरा महाधिवेशनलाई सकेसम्म राम्रो र व्यवस्थित बनाइने सचिव विधाता द्वाले बताइन् ।

महाधिवेशन सफल पार्न विभिन्न २६ वटा विभिन्न उपसमितिहरु बनाइएको छ । सम्पूर्ण उपसमितिले आ–आफ्नो जिम्मेवारी अनुसार काम गरिरहेको महाधिवेशन आयोजक समितिका कोषाध्यक्ष तथा जोन चियरपर्सन विन्दुु श्रेष्ठले जानकारी दिइन् । महाधिवेशनका लागि गभर्नर पदमा ईन्दु लम्साल र फस्ट भाइस गभर्नर पदमा मन रोकाको उम्मेदवारी छ । उनीहरु दुवैले ‘एस’मत लिनुपर्नेछ । सेकेण्ड भाइस गभर्नर पदमा भने दुई पक्षबीच तिब्र प्रतिस्पर्धा हुँदैछ । विशेश्वर आचार्य र ध्रुवबहादुर श्रेष्ठ सेकेण्ड भाइस गभर्नर पदको लागि चुनावी अभियानमा छन् ।

You might also like

Comments are closed.