पोखरामा १ अर्ब २८ करोडको फुटवल स्टेडियम बनाइने, सर्भे शुरु

सन्देश श्रेष्ठ
पोखरा, २३ पुष

पोखरा रंगशालामा आधुनिक फुटवल स्टेडियम बन्ने पक्का भएको छ । पोखरा रंगशालाको साविक फुटवल स्टेडियममा १ अर्ब २८ करोडको लागतमा आधुनिक फुटवल स्टेडियम बन्ने पक्का भएको हो । रंगशाला निर्माणका लागि दुई संयुक्त कम्पनी राष्ट्रिय खेलकुद परिषदले भारतीय कम्पनी जे.भी.एम.ए र नेपाली कम्पनी जि.एस.आई.कम्पनीसँग गत पुष १३ गते सम्झौता गरेको हो । सम्झौता अनुसार ६ महिना भित्रमा फुटवल स्टेडियम बनिसक्नुपर्ने छ ।

यसअघी पोखरा रंगशाला निर्माणका लागि राष्ट्रिय खेलकुद परिषदले १ अर्ब ७३ करोड ५५ लाख रुपैयाँ सुनिश्चित गरेको थियो । तर पछिल्लोपटक रंगशालामा निर्माण गरिने पूर्वाधार कम भएपछि बजेट घटेको बताइएको छ । यसअघी नाइट लाइट प्रयोग गरेर रातीपनि खेल्न मिल्नेगरी बनाउन लागिएको थियो भने हाल लाइट नराख्ने गरी स्टेडियम बनाउने सम्झौता भएको छ । पोखरा विमानस्थलले राती लाइट बाल्दा जहाज उडानमा समस्या आउने भन्दै ध्यानाकर्षण गराएपछि लाइट नराखी स्टेडियम बनाउन लागिएको बताइएको छ ।

सम्झौतासँगै जेभीएमए र जिएसआई कम्पनीका प्रतिनिधि प्राविधिक टोलीसहित फुटवल स्टेडियमको सर्भे गर्न पोखरा आएको छ । टोलीमा राष्ट्रिय खेलकुद परिषदका निर्माण शाखा प्रमुख अरुण उपाध्याय, जेभीएमए कम्पनीका प्रोजेक्ट म्यानेजर अवनिश अग्रवाल, जिएसआई कम्पनीका प्रोजेक्ट म्यानेजर द्वय हरिबाबु न्यौपाने र दीपक बराल तथा प्राविधिक ग्रेट स्पोर्टस इन्फ्राका प्रमुख सुशान्त परदेशीलगायत छन् । टोलीले सोमबार पोखरा रंगशाला पुगेर फुटवल स्टेडियम बन्ने स्थल अवलोकन ग¥यो । टोलीले २१ दिनमा फुटवल स्टेडियमको सर्भे र डिजाइन दुबै गरिसक्नेछ । टोलीले पहिलो ७ दिन रंगशालाको माटोको स्थिति, पूर्वाधार कसरी बनाउने ? के गर्दा उपयुक्त हुन्छ भन्नेलगायतको सर्भे गर्नेछ । त्यसपछि थप १४ दिन स्टेडियमको डिजाइन तयार पार्ने राष्ट्रिय खेलकुद परिषदका निर्माण शाखा प्रमुख अरुण उपाध्यायले जानकारी दिए । डिजाइन तयार भइसकेपछि रंगशाला निर्माण शुरु हुने उनले बताए ।

१ अर्ब २८ करोड खर्चेर बनाउन लागिएको रंगशाला १६ हजार ५ सय दर्शक क्षमताको हुनेछ । प्रारम्भिक रुपमा १६ हजार ५ सय दर्शक बस्न मिल्नेगरी बनाउने भनिएपनि त्यसमा दश प्रतिशत तलमाथी हुनसक्ने राष्ट्रिय खेलकुद परिषदका निर्माण शाखा प्रमुख उपाध्यायले बताए । उनका अनुसार भौगोलिक अवस्थाका आधारमा दर्शक प्याराफिटको क्षमता तलमाथी हुनेछ । दर्शक प्याराफिट सि आकार अर्थात क्लोज प्याराफिट हुने भएको छ । भीआइपी प्याराफिट भन्दा उत्तर र दक्षिणपट्टीसहित पूर्वीय भागमा दर्शक प्याराफिट बनाइने भएको हो ।

स्टेडियम भित्र २५ जना क्षमताको अति विशिष्ट पाहुना बस्ने भिभिआइपी प्याराफिट बनाइनेछ । भिभिआइपी प्याराफिटसँगै जोडिएको अर्को अतिथि बस्ने भिआइपी प्याराफिट बनाइने राष्ट्रिय खेलकुद परिषदका निर्माण शाखा प्रमुख उपाध्यायले जानकारी दिए । उनका अनुसार भिआइपी प्याराफिट नजिकै मिडिया सेन्टर बन्नेछ । त्यस्तै खेलाडीका लागि प्लेयर बक्स, चेञ्जीङ रुम २÷२ वटा बन्ने उनले बताए । एउटा फष्र्ट एड बक्ससमेत बनाइउने उनको भनाई छ ।

स्टेडियम भित्र फुटवलको नियामक निकाय फिफाको मापदण्ड अनुसार १०५ मिटर लम्बाई र ६८ मिटर चौडाईंको फुटवल मैदान बनाइने छ । मैदानमा ४ सय मिटर गोलाई भएको एथ्लेटिक ट्रयाकसमेत बनाइने भएको छ । सिन्थेटिकले बनाइने एथ्लेटिक ट्रयाक एथ्लेटिकको अन्र्तराष्ट्रिय संस्था आइएएएफको मापदण्ड अनुसार हुने जेभिएमए कम्पनीका प्रोजेक्ट म्यानेजर हरिबाबु न्यौपानेले जानकारी दिए ।

स्टेडियम फ्रेञ्च टेक्नोलोजीमा बन्ने भारतीय कम्पनी जिएसआईका प्रोजेक्ट म्यानेजर अवनिश अग्रवालले जानकारी दिए । उनका अनुसार फ्रान्समा निर्मित सामान यहाँ ल्याएर जोड्ने काम मात्र हुनेछ ।

निरन्तरको प्रयासपछि फुटवल मैदान बन्ने पक्का भएको पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष सम्पन्न श्रेष्ठले बताए । उनले तेह्रौं सागका लागि रंगशाला तयार भइसक्ने दाबी गरे । उनले भने,‘सबैको साथ र सहयोग मिल्यो भने ६ महिनामै रंगशाला तयार भइसक्छ र तेह्रौं सागको महिला फुटवल खेल यहिं हुन्छ ।’ स्टेडियम निर्माणको सम्झौतालगत्तै प्राविधिक टोली पोखरा आएपछि निक्कै हौसिएका श्रेष्ठले रंगशाला अब जुनसुकै हालतमा बन्ने ठोकुवा गरे ।

तर जिएसआई कम्पनीका प्रोजेक्ट म्यानेजर दीपक बरालले भने ६ महिनामा स्टेडियम बनिसक्न कठीन भएको बताए । यस वर्ष ५३ करोडमात्र निकासा भएको र बाँकी रकम अर्को आर्थिक वर्षमा निकासा हुने भएकाले स्टेडियमको निर्माण सम्पन्न हुने समय लम्बिन सक्ने संकेत गरे । यद्वपी ऋण गरेर भएपनि आयोजकले पैसा उपलब्ध गराए तोकिएकै समयमा स्टेडियम बन्ने उनको भनाई थियो ।

You might also like

Comments are closed.