पोखरामा २ करोडको तरुल र सखरखण्ड भित्रियो, बिक्री घट्यो

सन्देश श्रेष्ठ/पोखरा

पोखरामा यस हप्ता २ करोड रुपैयाँ बराबरको तरुल तथा सखरखण्ड भित्रिएको छ । माघे सक्रान्तिका लागि यस हप्ता घर तरुल, वन तरुल र सखरखण्ड गरी २ करोड बराबरको तरुल पोखरामा भित्रिएको हो । पोखरामा १ करोड ५० लाखको तरुल र ५० लाखको सखरखण्ड भित्रिएको कृषि उपज बजार सञ्चालक समितिले जनाएको छ । यो अघिल्लो वर्षको तुलनामा करिब ३० लाखले कमी हो । गत वर्ष पोखरामा २ करोड ३० लाखको तरुल तथा सखरखण्ड भित्रिएको थियो ।

पोखरामा यस हप्ता १ सय ५० मेट्रिक टन तरुल र ५० हजार मेट्रिक टन सखरखण्ड भित्रिएकोे कृषि उपज बजार सञ्चालक समितिका निमित्त बजार व्यवस्थापक रुपाकुमारी दाहालले जानकारी दिइन् । उनका अनुसार १ सय ५० मेट्रिक टन तरुल मध्ये करीब ९५ प्रतिशत घर तरुल र ५ प्रतिशत वन तरुल भित्रिएको छ ।

पोखरामा नेपालका विभिन्न जिल्ला तथा भारतबाट तरुल तथा सखरखण्ड आयात हुने गर्दछ । पोखरामा आयात हुने तरुल मध्ये ७५ प्रतिशत नेपालका विभिन्न जिल्लाबाट र २५ प्रतिशत भारतबाट आयात हुने बताइएको छ । नेपालका नवलपरासी, नवलपुर, गोर्खा, धादिङ, मकवानपुर, सर्लाही, पाल्पा, स्याङ्जा लगायतका जिल्लाबाट तरुल तथा सखरखण्ड आउने गर्दछ । मकवानपुर र पाल्पाबाट घर तरुल तथा सर्लाहीबाट सिमल तरुल बढी आयात हुने गरेको कृषि उपज बजार सञ्चालक समितिका निमित्त व्यवस्थापक दहालले जानकारी दिइन् । उनका अनुसार पोखराका बहुमारा, हेमजा लगायतका क्षेत्रमा उत्पादित तरुल पनि पोखरामा ल्याएर बेच्ने गरिन्छ ।  भारतबाट भने नेपालका तराईसँग जोडिएका क्षेत्रबाट घर तरुल र सिमल तरुल आयात हुने गरेको दाहालले बताईन् ।

पोखरा भित्रिएका तरुलको होलसेल मूल्य ४० देखी २ सय सम्म कायम भएको छ । तरुलको जात अनुसार तरुलको मूल्य फरक÷फरक रहेको कृषि उपज बजार सञ्चालक समितिका निमित्त बजार ब्यबस्थापक दाहालले बताईन् । घर तरुलको मूल्य ४० देखी जात अनुसार एक सय सम्म छ भने वन तरुलको होलसेल मूल्य २ सयसम्म कायम छ । सखरखण्डको मूल्य भने ६० कायम छ । तर खुद्रा मूल्य भने बढी छ । बजार अनुसार घर तरुलको मूल्य ६० देखी १ सय ५० रुपैयाँसम्म छ भने वन तरुलको मूल्य २ सय ५० देखी ३ सयसम्म कायम छ ।

पोखरामा तरुलको आयात कम भएपनि मूल्य गत वर्षको नै कायम छ । आयात भएका तरुल पनि राम्रोसँग बिक्री नभएको व्यवसायीहरुले बताएका छन् ।

कृषि उपज बजार केन्द्रका होलसेल व्यापारी सोनुप्रसाद गुप्ताले गत वर्ष भन्दा यस वर्ष व्यापार ह्वात्तै घटेको गुनासो गरे । उनले ८ मेट्रिक टन तरुल मगाएपनि १० प्रतिशत पनि बिक्री नभएको जानकारी दिए । अघिल्ला वर्षहरुमा माघे सक्रान्ति भन्दा २ दिन अगाडि नै प्रायः सबै बिक्री हुने गरेपनि यस वर्ष तरुल बिक्री नै नभएको उनको भनाई छ । त्यस्तै, अर्का व्यापारी लल्लन साहले अघिल्लो वर्षको तुलनामा यस वर्ष तरुल आधा कम मगाउँदा पनि राम्रो बिक्री नभएको बताए । उनले अहिलेसम्म बिक्री भइसक्नुपर्ने तरुल तथा सखरखण्ड आधा पनि बिक्री नभएको बताए ।

आफ्नै बारीबाट उत्पादित घर तरुल पोखरास्थित कृषि उपज बजार केन्द्रमा ल्याएर बेच्न बसेका सागर थापाले पनि ब्यापार नहुँदा निराश बनेको बताए । उनले स्याङ्जा ठूलाडिही सादिखोलाबाट तरुल ल्याएपनि आधा भन्दा कम बिक्री भएको बताए । मानिसहरु स्वास्थ्यप्रति सचेत हुँदा तरुलको बिक्रीमा कमी आएको हुनसक्ने कृषि उपज बजार सञ्चालक समितिका निमित्त बजार ब्यबस्थापक रुपाकुमारी दहालले बताईन् । उनले भनिन्,‘पहिले पहिले मानिसहरु चाँडबाँडमा मात्र खाने भएकाले खरिद धेरै गर्थे, तर अहिले ब्यालेन्स मिलाएर खाने गर्छन्, स्वास्थ्यलाई ख्याल गरेर ठिक्क मात्र खाने बानीले थोरैमात्र खरिद गर्नेगर्दा बिक्रीमा कमी आएको हुनसक्छ ।’ उसो त मानिसहरुले आफ्नै बारीमा पनि उत्पादन गरेर खानी प्रचलन बढेका कारणले पनि तरुल तथा सखरखण्डको बिक्रीमा कमी आएको हुनसक्ने अनुमान गरिन्छ । पोखरामा सेतो तरुल, पञ्जे तरुल, जाँते तरुल, सिमल तरुल, वन तरुल, सखरखण्डलगायतका तरुलहरु आउँछन् ।

You might also like

Comments are closed.