पोखरा, २६ भदौ ।
होटल संघ नेपाल (हान) ले पोखरा महानगरलाई पर्यटकीय राजधानीको रुपमा विकास गर्न प्रस्ताव आगाडि सारेको छ । पोखरामा मंगलबार आयोजित अन्तरक्रियामा पर्यटन व्यवसायी, प्रदेशका मुख्यमन्त्री, मन्त्री र पोखराका मेयरलाई सँगै राखेर संघले पोखरालाई दक्षिण एसियाको पर्यटकीय प्रवेशद्वार बनाउन सकिने भन्दै पर्यटकीय राजधानीको प्रस्ताव राखेको हो ।
संघका अध्यक्ष अमरमान शाक्यले गण्डकी प्रदेशमा दीगो पर्यटन विकास गर्दै यसलाई समृद्ध प्रदेशको रुपमा अगाडि बढाउन सकिने भन्दै यसका लागि संघीय सरकारले पोखरालाई नेपालको पर्यटकीय राजधानी घोषणा गर्नुपर्ने सुझाव राखे । प्रदेश सरकारले पर्यटनमैत्री तथा लगानीमैत्री नीति तर्जुमा गर्दै पोखरालाई विशेष पर्यटकीय क्षेत्रका रुपमा अगाडि बढाएर दशौं लाख पर्यटक भित्र्याउन सकिने उनले सुनाए ।
संघका पूर्व अध्यक्ष एवं होटल संघ नेपाल पूर्व अध्यक्ष परिषद् गण्डकी प्रदेशका संयोजक प्रसिद्ध बहादुर पाण्डेले हरेक उमेर, क्षमता र अवस्था भएका पर्यटकका लागि पोखरा उपयुक्त पर्यटकीय गन्तव्य भएको अवधारणापत्र प्रस्तुत गरे । पोखरालाई मास तथा माइस (एमआईसीई) टुरिजमको गन्तव्यको रुपमा विकास गर्न आक्रमक तथा आकर्षक पर्यटकीय नीति तर्जुमा गर्दै सन् २०२० को नेपाल भ्रमण वर्षको लक्ष्य हाँसिल गर्नेतर्फ अग्रसर हुन पाण्डेले सरकारको ध्यानाकर्षण गराएका छन् ।
यस अन्तर्गत सरकारी जग्गाहरु होटल तथा रिसोर्टहरु खोल्न भाडामा दिन सकिने व्यवस्था हुनुपर्ने, करिव पाँच प्रतिशत व्याजदरमा बैंक कर्जा उपलब्ध हुनुपर्ने, पूर्वाधार विकासमा सरकारले जोड दिनुपर्ने, सरकारले १० वर्षका लागि कर मिनाह अर्थात ट्याक्स होलिडेको व्यवस्था गर्नुपर्ने, विदेशबाट ल्याइने वस्तुको आयातकार छुट हुनुपर्ने र स्थानीय उपजमा भ्याट आधा कम हुनुपर्ने प्रस्ताव पनि पाण्डेले अवधारणापत्रमा उल्लेख गरेका छन् ।
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले हानले ल्याएको अवधारणा सकारात्मक भएको भन्दै प्रदेश सरकार अहिले नीति निर्माणकै विषयलाई केन्द्रमा राखेर अगाडि बढीरहेको जानकारी दिए । काठमाडौं, पोखरा, भैरहवा र निजगढमा विमानस्थल सुधार तथा निर्माण सम्पन्न भएपछि र पोखरा जोड्ने मध्यपहाडी, पृथ्वी, सिद्धार्थ र कोरला हुँदै त्रिवेणी जोड्न राजमार्गहरु निर्माण तथा विकास भएपछि पोखरा पर्यटनको सशक्त हव हुने भनाई राखे ।
यसका लागि कम्तिमा लेकसाइडलाई २४ घण्टा नै खोल्ने वातावरण बनाउनुपर्ने, डाँडाकाँडामा होटल र क्यासिनो खोल्नुपर्ने, आबश्यक देखिए यौनकर्मीलाई परिचयपत्र दिएर सो पेशालाई बैधता दिनुपर्ने भनाई पनि उनले राखे । मुस्ताङमा हाइ अल्टिच्युड खेल केन्द्र र खोल्ने विचार पनि प्रदेश सरकारको रहेको र लगानी सम्मेलन समेत प्रदेश सरकारले गर्न लागेको जानकारी उनले गराए ।
गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले लिगलिगकोटमा इतिहास सम्बन्धी संग्रहालय र पोखराको विजयपुर खोलामाथि आकर्षक सिग्नेचर ब्रिज निर्माण गर्ने योजना सुनाए । नागरिकमा कर तिर्नुपर्छ भन्ने भावना भयो भने सरकारले विकास निर्माणमा खर्च गर्ने रकम प्राप्त गर्ने भनाई उनको थियो । पोखरा महानगरपालिकाका मेयर मानवहादुर जिसीले पोखरालाई पर्यटकको ट्रान्जिटको रुपमा नभई हवको रुपमा विकास गर्नुपर्र्नेे, फेवा तालको संरक्षण गर्नुपर्ने र भाषण मात्र नभई कार्यान्वयनतर्फ अग्रसर हुनुपर्ने सुझाव राखे ।
कार्यक्रमको अर्को आयोजक पश्चिमाञ्चल होटल संघ पोखराका अध्यक्ष विकल तुलाचनले पर्यटकीय पूर्वाधारको विकास, पर्यटकलाई सहज पहुँचको व्यवस्था र बैंकको चर्को व्याज दरलाई न्यून गर्न सके पर्यटनमा लगानी र पर्यटक आगमन समेत बढ्न सक्ने भनाई राखे । नेपाल पर्यटन बोर्डका पूर्व सदस्य विश्वशंकर पालिखेले सरकारी कर्मचारीका लागि पेड होलिडेको व्यवस्था गर्नुपर्ने बताउँदै मानव निर्मित पर्यटकीय गन्तव्यहरुको विकास पनि पोखरामा जरुरी भएको भनाई राखे । पोखरा पर्यटन परिषद्का अध्यक्ष केदारनाथ शर्माले पर्यटन क्षेत्रमा समेत सिण्डिकेट रहेको भन्दै यसलाई अन्तत्य गरिनुपर्ने बताए ।
कार्यक्रममा गण्डकी प्रदेशका सभासद दीपक कोइराला, मनबहादुर गुरुङ, हानकी उपाध्यक्ष श्रृजना राणा, अन्नपूर्ण गाउँपालिकाका प्रमुख युवराज कुँवर, माछापुच्छ«े गाउँपालिकाका प्रतिनिधि, पोखरा पर्यटन परिषद्का पूर्व अध्यक्ष सूर्यबहादुर भुजेल, पश्चिमाञ्चल होटल संघ पोखराका सल्लाहकारद्वय बच्चुराम तिवारी, गोविन्दराज पहारी, पोखरा– ६ का वडाअध्यक्ष जगत पहारी, पर्यटन व्यवसायी दामोदरभक्त थापा, कृष्ण तिमिल्सिना, नागरिक समाज पोखराका संयोजक विष्णुहरी अधिकारी, व्यवसायी कमल थापा, युवराज श्रेष्ठ लगायतले पर्यटन सम्बन्धी सुझाव र जिज्ञासा राखेका थिए ।
Comments are closed.