पोखरा अन्नपूर्णले मनायो ३२औं चार्टर नाइट, चुनाव रणनीतिक पार्टी !

आर्थिक आवाज
पोखरा, २३ पुस । लायन्स क्लब अफ पोखरा अन्नपूर्णले क्लब स्थापनाको ३२औं चार्टर नाइट मनाएको छ । आइतबार पोखराको प्रदर्शनी केन्द्रमा भव्य कार्यक्रमका बीच क्लबले चार्टर नाइट मनाएको हो । लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ बि १ नेपाल अन्तर्गतको उक्त क्लब स्थापनादेखि नै सामाजिक कार्यमा अग्रणी छ ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि डिष्ट्रिक्ट गभर्नर अशोक कुमार श्रेष्ठले अन्नपूर्णले गरेका सामाजिक कार्यहरु अनुकरणीय भएको बताए । ‘अन्नपूर्णका सामाजिक कार्यबाट धेरै क्लबले पाठ सिक्नुपर्छ,’ उनले भने ।

कार्यक्रममा बोल्दै निबर्तमान डिष्ट्रिक्ट गभर्नर तथा ‘किनोट स्पिकर’ धनराज आचार्यले अन्नपूर्णका प्रोजेक्टहरुले नेपालको लायन्सलाई विश्वभर चिनाउन योगदान पुगेको बताए । ‘एउटा क्लबको सक्रियतामा कतिसम्म राम्रा र धेरै कार्यसम्पादन हुनसक्छ भन्ने उदाहरण अन्नपूर्णले प्रस्तुत गरेको छ,’ उनले भने, ‘एउटा डिष्ट्रिक्टले गर्नेभन्दा धेरै राम्रा काम क्लबले गरेको छ ।’

कार्यक्रममा लायन्समा पास्ट मल्टिपल काउन्सिल चियरपर्सन दीपक श्रेष्ठ, प्रेम श्रेष्ठ, पूर्व डिष्ट्रिक्ट गभर्नर ध्रुव थापा, योगेन्द्र प्रधान, युक्त श्रेष्ठ, क्लबका संस्थापक अध्यक्ष आजाद श्रेष्ठ, संस्थापक सचिव तथा लायन्स लिडर सोनाम साङपो, रिजन चियरपर्सन अर्जुन थापा लगायतले बोलेका थिए । क्लबका संस्थापकहरुलाई उक्त अवसरमा सम्मान गरिएको थियो । अपाङगता भएका सात जना व्यक्तिहरुलाई ह्विलचियर वितरण गरिएको जोन चियरपर्सन अर्जुन पोखरेलले जानकारी दिए । क्लबका अध्यक्ष दीनेश तुलाचनको अध्यक्षतामा कार्यक्रम भएको हो ।

चुनावी रणनीति
लायन्स क्लबहरुले चार्टर नाइटलाई महत्वपूर्ण कार्यक्रम मानेर मनाउने प्रचलन छ । सबै क्लबले चार्टर नाइट मनाउँछन् । डिष्ट्रिक्टबाट अतिथि बोलाएर क्लबका सदस्य तथा सदस्यहरुका परिवार जमघट गरेर प्राय क्लबहरुले चार्टर नाइट मनाउँछन् ।

लायन्स क्लब अफ पोखरा अन्नपूर्णले आइतबार मनाएको चार्टर नाइट भने फरक देखियो । क्लबले मनाएको चार्टर नाइटलाई चुनावी तयारीका रुपमा हेरिएको छ । डिष्ट्रिक्टका प्राय सबै लिडरहरु र पोखरा क्षेत्रका सबै क्लब अध्यक्षहरुलाई बोलाएर चार्टर नाइटका अवसरमा भव्य पार्टी दिइएको छ । क्लबका पूर्व अध्यक्ष ध्रुव श्रेष्ठलाई आगामी वर्षको सेकेण्ड भाइस डिष्ट्रिक्ट गभर्नर पदमा क्लबले अगाडि सारेको छ । श्रेष्ठसँग विशेश्वर आचार्यले प्रतिस्पर्धा गर्ने पक्कापक्की छ ।

You might also like

Comments are closed.