पोखरा–अर्मला पुग्ने बाटो बन्दै

आर्थिक आवाज
पोखरा, ५ असोज । पोखरा र अर्मला जोड्ने पुल बन्ने भएको छ । पोखरा महानगरपालिका वडा नम्बर १६ मा पर्ने जोगीमुरे तुम्के र घोरकुना जोड्ने पुल निर्माण हुन लागेको हो । पुलको आइतबार गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले शिलान्यास गरे ।

पोखरा महानगरपालिकाको ३ करोड ३० लाखको लागतमा पुल २५ मिटर लम्बाई र ५ मिटर चौडाईको पुल निर्माण हुने पोखरा महानगरपालिका–१६ का वडाध्यक्ष जीवन आचार्यले जानकारी दिए । डबल लेनको बन्ने यो पक्की पुलमा सिंगल स्पार्क हुने जनाइएको छ । वडाले लागत स्टिमेट गर्दा ४ करोड ६२ लाख ३९ हजार लाग्ने अनुमान गरेपनि फेवा÷पि.एल.जेभी निर्माण कम्पनीले लागत स्टिमेटको २१.४५ प्रतिशत घटेर ३ करोड ३० लाखमा पुल बनाउने ठेक्का लिएको हो ।

पोखरा महानगरपालिका र निर्माण कम्पनी फेवा÷पि.एल.जेभी बिच गत भदौ ५ गते पुल बनाउने सम्झौता भएको थियो । पुल आगामी २०७७ साल मंसीर ८ गतेसम्ममा निर्माण सम्पन्न गरिसक्नुपर्ने सम्झौतामा उल्लेख छ ।

पुल निर्माणको ठेक्का पाएको फेवा÷पि.एल.जेभी कम्पनीका प्रोपाइटर ध्रुव भट्टराईले पुल निर्माण समयमै सक्ने र गुणस्तरीय काम गर्ने प्रतिबद्धता जनाएका छन् । उनले पुल निर्माणमा स्थानियबासीको सहयोगको अपेक्षा गरेको बताए ।

पुल निर्मासँगै पोखरा–१६ का जोगिमुरे, तुम्केलाई घोरकुना, काउरे, ¥यालेचौरदेखि अर्मलाकोटसम्मका बासिन्दा लाभान्वित हुनेछन् । पुल नहुँदा बर्खामा आवतजावतमा समस्या भोगिरहेका उनीहरुले पुल बनेसँगै सहज रुपमा आवतजावत गर्न पाउनेछन् भने गाडीपनि पुग्न सहज हुनेछ ।

You might also like

Comments are closed.