मोती भुजेल
यहाँ म कुनै विद्वान, समाजशास्त्री, अर्थशास्त्री वा वैज्ञानिकको भनाई राख्न चाहन्न । जव पशुवत भन्दा भिन्न व्यवहार गर्न सक्ने जीवको जन्महुन्छ भने त्यो मनुष्य हो । मनुष्य जीवनमा आए पछि जो कोहि पनि ब्यापारमा लाग्दछ । व्यापार गर्दछ । यसमा दुईमत छैन । पुरानो अर्थ शास्त्रीय भाषामा बस्तु विनिमय मात्र व्यापार होइन । अहिलेको २१ औ सताब्दिमा आइपुग्दा मनुष्यले गर्ने व्यापारहरु धेरै छन् ।
प्रत्येक मनुष्यले पाइला पाइलामा व्यापार गरिरहेको हुन्छ । हो, कसैले प्रत्यक्ष लेनदेनको व्यापार गर्छन् । कसैले अप्रत्यक्ष लेनदेनको व्यापार गर्छन् । कसैले पैसासँगको व्यापार गर्छन् । कसैले भावनात्मक सम्बन्धको व्यापार त कसैले सरसापटको व्यापार गरिरहन्छन् । अहिले समाजमा व्यपार गर्ने ब्यापारीहरु धेरै छन् । कलाकार आफ्नो कलालाई मूर्त या अमूर्त चित्र बनाएर व्यापार गरिरहेको हुन्छ । साहित्यकार आफ्नो रचनाहरु छापेर पुस्तकाकार बनाएर व्यापार गरिरहेको हुन्छ । संगीतकार आफ्नो धुन बेचिरहेको हुन्छ । गायक आफ्नो गलाको कला बेचिरहेको हुन्छ । एउटा प्रोफेसर आफ्नो ज्ञान बेचिरहेको हुन्छ । यस्तै राजनीतिज्ञ, पत्रकार, खेलाडी फोटोग्राफरहरुले आफ्नो कौसल बेचिरहेका हुन्छन् । बैकर्सले पैसा दिएर ब्याज फाइदा लिएर व्यापार गर्छ । एउटी आमाले आफ्नो बच्चालाई राम्रोसंग पढ, पढेर परीक्षामा राम्रो अंक ल्याएर पास भयौ भने यस्तो किन्दिन्छु, उस्तो किनिदिन्छु भन्दा पनि त भावनात्मक व्यापार भयो । जसले गर्दा राम्रो अंक ल्याउन फाइदा गर्यो । जहाँ फाइदाको लागि काम गरिन्छ त्यो व्यापार हो । एउटा फकिरले पनि व्यापार गरिरहेको हुन्छ । उ आफ्नो प्रबचन सुनाएर स्रोतालाई आकर्षक गर्छ र केही प्राप्त गर्छ त्यो पनि व्यापार हो । एउटा ब्यापारीलाई पनि यति बेची सक्नु बेचेपछि यति फाइदा दिन्छु भनेर त व्यापार गरेको हो । नबेचे त फाइदा दिदैन । यसरी समाजमा सबैले एक न एकथरिको व्यापार गरेकै हुन्छ । त्यसैले हामी सबै ब्यापारी । ब्यापारीको सस्था पोखरा उद्योग वाणिज्य संघ ।
इतिहास
२००८ सालमा गठित पोखरा व्यापार संघ वर्तमान पोखरा उद्योग वाणिज्य संघमा चार सदस्यीय कार्यसमितीको टोली जसमा टेक बहादुर ढेबाजू, अमृत प्रसाद शेरचन, दान बहादुर शेरचन र पूर्णलाल कायस्थ हुनुहुन्थ्यो । त्यही पोखरा व्यापार संघ २०११ सालमा आएर विधिवत दर्ता पश्चात अमृत प्रसाद शेरचनको अध्यक्षतामा एघार सदस्यीय कार्यसमिती चयन भयो २०११ देखि २०१३ सालसम्म सो कार्यसमितीले कार्यभार सम्हालेको थियो । उक्त कार्यकालमा महत्वपूर्ण कामहरु भएका थिए । त्यस मध्ये पृथ्वीनारायण क्यापस निर्माण र सञ्चालनमा प्रमुख भुमिका पोखरा व्यापार संघले खेलेको थियो । व्यापारीहरुको हितमा काम गर्ने र व्यापारीहरु बाटै केहि रकम संकलन गरी शिक्षा क्षेत्रलाई अगाडी बढाउने तथा समाज सेवामा खर्च गर्ने मुख्य उद्देश्य राखेर स्थापना भएको व्यापार संघमा अहिले सो उद्देश्य विर्सँदै त छैनन् नयाँ पुस्ता ? पदलोलुपता नभएकाहरुको वर्चस्व थियो । संस्थाका लागी केहि गर्छु भन्नेहरुको भिड लाग्थ्यो । धेरै कार्यकाल सहमतिमा पद बाँडफाँड हुन्थ्यो । संघमा पहिलो प्रत्यक्ष चुनाब भनेको कृष्णप्रसाद कर्माचार्यको कार्यकाल २०२३/२०२५ पछि भएको थियो । पोखरा उद्योग वाणिज्य संघको पहिलो निर्र्वािचत अध्यक्ष सुरेशकुमार राजभण्डारी हुनुहुन्थ्योे । २०२५/२०३३ सम्म लगातार चार कार्यकालमा उहाँले पु¥याउनु भएको योगदानको आधारमा सफल कार्यकाल मानिन्छ । उहाँको कार्यकालमा बालमन्दिरको निर्माण र काहुँडाँडाको भ्यूटावर निर्माण, सँघकोलागी जग्गा खरिद र भबन निर्माण भएको थियो । किन बालमन्दिर र काहुँडाँडाको भ्यूटावर प्रति नयाँ उम्मेदवारको सोच साँगुरीएको ? बालमन्दिरलाई एउटा नमुना विद्यालय बनाउने प्रतिबद्वता खै ? तत्कालीन पोखरा व्यापार संघलाई वर्तमान पोखरा उद्योग बाणिज्य संघका रुपमा रुपान्तरण गर्ने काम हेम बहादुर प्रधानको २०३५/२०४१ को कार्यकालमा भएकोले पनि उहाँको पनि सफल कार्यकाल मानिन्छ । पोखरेलीहरुले भुल्नै नसक्ने अर्को काम दिपेन्द्र सभागृह वर्तमान पोखरा सभागृहको निर्माणमा पनि पोखरा उद्योग वाणिज्य संघले रामचन्द्र वास्तोलाको कार्यकालमा गरेको थियो । हाल पोखरा सभागृह प्रति वाणिज्य संघका पदाधिकारीहरुको ध्यान किन जान नसकेको होला त ? प्रजातन्त्रको पुनस्र्थापना पश्चात पोखरा सभागृहको बाँकी निर्माण कार्यमा र महेन्द्रपुलको पुन निर्माण कार्यमा आनन्दराज मुल्मीको टिमले २०४३/२०४७ मा सक्रिय भुमिका निर्वाह गरेको थियो । यसबाट के प्रस्ट हुन्छ भने संघ जहिले पनि सामाजिक सेवा र कार्यमा अगाडी लम्किरहेको हुन्छ । तर पछिल्ला कार्यकालमा त्यो देख्न पाइएको छैन । विधानमा अनुसन्धान आयोजनाहरु सञ्चालन गर्नु,सुचनामूलक पुस्तकालय स्थापना गरी पुस्तक पत्रपत्रिका प्रकाशन गर्नु भन्ने छ । त्यो विधानमै सिमित छ । व्यवहारमा छैन ।
२०११ सालदेखि पोखरा उद्योग वाणिज्य संघमा नयाँ नेतृत्वको लागी प्रत्येक २ बर्षमा घम्साघम्सी हुने गर्दछ । स्वभाविक हो नयाँ कार्यसमितिको लागि आवश्यक चुनाब प्रकृया पनि । तर अध्यक्ष पदको लागी भने धेरै कार्यकाल सहमतिमा टुङ्गो लाग्ने गर्दथ्यो । बिगतका वर्षमा भएका महाधिबेसन बाट १२ कार्यकालमा चुनाब भएको थियो भने बाँकी १९ कार्यकालमा अध्यक्ष पदकालागी सहमतिमै टुङ्गो लागेकै थियो । तर प्रजातान्त्रीक प्रणालिमा र पोखरा उद्योग वाणिज्य ंसघको विधान संशोधन पश्चात सबै पद निर्वाचन प्रणालिबाट आउने नयाँ परिपाटी आएको छ । व्यापारिक प्रतिष्ठानहरुको छाता सँगठन पो. उ. वा. संघ हो तर जहिले पनि पुरानैहरुको बाहुल्यता र वर्चस्व देखिने हुँदा नयाँ अनुहार नयाँ यूवा कहिले आउने त ? चासो हुनु पनि स्वभाविक पनि थियो । चुनाब जितेर अध्यक्ष हुनेहरुमा हालसम्म सुरेशकुमार राजभण्डारी, आजाद श्रेष्ठ, रमेश कर्माचार्य, दिपक श्रेष्ठ, राजेन्द्र लालचन, मानकाजी माकाजु, कृष्णमोहन श्रेष्ठ, विन्दुकुमार थापा र विश्वशंकर पालिखे हुन् ।
संघको ३२ औं महाधिवेशन मिति सार्वजनिक भएसँगै व्यवसायीहरुले चुनावी अभियानलाई सामाजीक सञ्जालमा तिब्र बनाएका छन् । चुनाबको मिति शुरु हुनुभन्दा एक महिना अघि देखिनै आफ्नो उम्मेदवारी घोषणा गर्ने क्रम बढि रहेको छ । अबको केहि दिनमै पक्ष बिपक्ष प्यानल, गुटबनाएर संस्थाको गरिमामा आँच आउने तरिकाबाट भोट माग्न हिडेको पनि देखिने छ । यस्तो गुट उपगुट बनाउने परिपाटिलाई छोड्दै पुरानाहरुको पनि सिको गर्ने कि ? एकचोटि फर्केर इतिहास हेर्ने कि । आज नभए भोलि त मेरै पालो हो वा मेरो पालो पछि साथीको पालो पनि आउनु पर्छ भन्ने सोच राख्नुपर्छ । पक्ष विपक्ष गुट र प्यानल बनाएर हिड्ने, घर घरमा गएर भोट माग्ने परिपाटीको पनि अन्त्य हुनु पर्दछ । प्यानल प्यानल बनाएर उम्मेदवारहरु विपक्षी बन्नाले त्यो कार्यकाल भरि राम्रो टिमवोर्क नहुदा केहि बर्ष देखि पो. उ. बा. संघको साख खस्केको छ । खस्केको साख जोगाउनु पहिलो कर्तब्य अहिलेका कार्यसमितिका सदस्यहरुको हो । दोस्रोमा हामी मतदाताहरु पनि पर्छौं । मानौैं ३२ औ महाधिवेसनमा पोखरा उद्योग बाणिज्य संघमा अध्यक्ष र वरिष्ठ उपाध्यक्ष पदमा सर्ब सम्मतबाट एक एक जना चयन गरौं त, त्यती बेला कस्को जित हुन्छ ? त्यती बेला पोखरा उद्योग बाणिज्य संघको जित हुन्छ । इतिहास दोहोरिन्छ । साख जोगिन्छ । हुन त प्रजातान्त्रिक परिपाटीमा मतदाताको पनि हक हुन्छ । यसलाई चुन्ने कि उसलाई चुन्ने भन्ने तर पहिला पहिलाको चुनाब पछिको समितिको कार्यकाल हेर्दा लाग्दैन कि सबै चुनाब जितेरै आएका हुन । चुनाब जित्नुको पाटो एकातिर हो भने, सदस्य साथीहरुको र अग्रजहरुको मन जित्नु भनेको त्यो भन्दा पनि ठुलो चुनाब जित्नु हो ।
देशमा स्थिर सरकार नहुन्जेल देशको अर्थतन्त्र डगमगाइ रहेको बेलामा यस्ता संघ संस्थाहरुको पनि भूमिका रहन्छ । अब देशमा एउटा स्थिर सरकार बनेको छ । देशमा संघीयता आएको छ । प्रदेश सरकार संगै स्थानीय सरकार पनि छ । अब सरकारले गर्ने काम संघका पदाधिकारीले गर्छु भन्नू मुर्खता हुन जान्छ ।
नयाँ नेतृत्वले उठाउनु पर्ने कुराहरु
गण्डकी प्रदेशको राजधानी पनि हो पोखरा । सहरीकरण संग संगै ब्यापारीकरण भएका धेरै बिषयमा पो. उ. बा. संघले महानगरपालिका सँग मिलेर कुरा उठाउनु पर्दछ । समग्र पोखरा र पोखरा संग जोडिएका गाउँपालिकाको विकासको लागि जग्गा प्लानिङ ठुलो आबस्यकता हो । त्यस सम्बन्धी पनि पो. उ. वा. संघले संबन्धित निकायको ध्यानाकर्षण गराउनु जरुरी ठान्दछ यो पक्तिकार । छिमेकी गाउँपालिकाहरुको मुख्य उत्पादन पहिचान गरि कृषकका लागि उचित मूल्य र अनुदान दिएर उब्जनीको बजार व्यवस्था पो.उ. वा. संघले गरिदिएमा लगानीका लागि थुप्रै अवसर प्राप्त हुने थियो । आगामी चुनाबमा उठ्ने उम्मेदवारहरुका नारा उस्तै, उस्तै हुनुभएन । मसिरमा दस दिन हुने व्यापार मेलमा भिड जम्मा गरेर सफल भएको मानक राख्दैन । कृषि उब्जनीलाई प्राथमिकता दिंदै कृषकको जिबनस्तर माथि उठाउने विषयमा मेलामा प्राथमीकतामा राखौं । बिगतका मेलामहोत्सबमा पनि देखिने गरेको छैन स्थानीय उत्पादनलाई सस्तोमा स्टलहरु उपलब्ध गराएको । महँगो स्टल भाडा तिरेर गाँउका स्थानीय उत्पादनले इन्डियाको हल्दिराम संग प्रतिस्पर्धा गर्न त सक्दैन खै सोचेको त ? व्यापारमेला खाली मेला मात्र भएको छ । घाम ताप्ने बदाम खाने बेलुका डकार्दै घर फर्कने । अबलोकन कर्ताले के सिकेको छ त अगाडीको मेला बाट खै त दर्शक सर्बेक्षण । अबको नयाँ आउने पो. उ. वा .संघका पदाधिकारीले सोची दिनुहोला । दर्शक सर्वेक्षणको फर्म अनिवार्य भर्न लगाउनु हुनेछ राम्रा राम्रा सुझाबलाई गोलाप्रथा द्धारा पुरस्कारको पनि व्यबस्था गरे राम्रो हुने यो पंतिकार को ठम्याई छ । सामाजिक कामहरु पनि धेर थोर गरेकै छ । तर अरु धेरै गर्ने खै त नारा अघि सारौं । सुरक्षाको विषयमा पो.उ.वा.संघले ब्यापारीक सुरक्षा सहित सामाजिक सुरक्षाको विषयमा पनि बोल्न सक्नु पर्छ । ह्या दुइ बर्षे कार्यकाल गइहाल्छ भन्नु भन्दा पनि यो दुइ बर्षमा आफुले गर्न सक्ने र भन्न सक्ने त्यो पनि नयाँ के हुन् सक्छ सबैलाई मान्य हुने त्यसको बारेमा सोच्नु पर्छ । समृद्ध पोखरा हुनु भनेको चोक चोकमा ठुला ठुला ब्यापारिक मल बन्नु मात्र होइन समग्र पोखराबासीलाई सम्बृद्ध बनाउनु हो भन्ने ठान्छ पंक्तिकार पनि । राजनितिलाइ पर छाडेर संघमा आउनुहोला संस्थाकोलागी केहि गर्छु भनेर आउनु होला । संघको साख जोगाउनु होला ।
Comments are closed.