पोखरा उद्योग वाणिज्य संघको समानान्तर संस्था स्थापना !

सुरेन्द्र पौडेल
पोखरा, २ माघ । पोखरा चेम्बर अफ कमर्श कास्की गठन भएको छ । नेपाल चेम्बर अफ कमर्श अन्तर्गत रहने गरी संस्था स्थापना भएको हो । कास्की जिल्ला कार्यक्षेत्र रहने गरी गठन भएको शाखाकोे नेतृत्व किसान सुनारले लिएका छन् । जिल्ला प्रशासन कार्यालय कास्कीमा समेत संस्था दर्ता भइसकेको स्रोतले बतायो । यद्यपि, संस्था स्थापनाको सार्वजनिक भने औपचारिक रुपमा भइसकेको छैन ।

पोखरा चेम्बर अफ कमर्शलाई पोखरा उद्योग वाणिज्य संघकै समानान्तर संस्थाका रुपमा लिइएको छ । केही पदमा बाहेक अन्य सम्पूर्ण पदमा जिम्मेवारी प्रदान भइसकेको स्रोतले बतायो । एक महिना अगाडि नै संस्था गठन भएको हो ।

चार जना उपाध्यक्ष रहने व्यवस्था संस्थाको विधानमा छ । हालसम्म वरिष्ठ उपाध्यक्ष पद खाली छ । उद्योग उपाध्यक्षमा गीता तिवारी गौतम चयन भएकी छन् । वाणिज्य उपाध्यक्षको जिम्मेवारी प्रेम भुजेलले पाएका छन् । वस्तुगत उपाध्यक्षमा यमनाथ पौडेल छन् । पोखरा चेम्बर अफ कमर्शको महासचिवको जिम्मेवारी उमराज बास्तोलाले पाएका छन् । २ जना सचिव रहने व्यवस्था मध्ये एक जना सचिव प्रेम सुवेदी छन् भने एक सचिव पद खाली छ । कोषाध्यक्षमा कमल बस्नेत, सहकोषाध्यक्ष नवराज आचार्य छन् ।

१० जना खुल्ला सदस्यमा नारायण पौडेल, नवीन बराल, महेन्द्र गुरुङ, लोकेन्द्र राई, नगेन्द्रप्रसाद पोखरेल, प्रकाश श्रेष्ठ, एकराज गिरी, चन्द्रकिशोर गौतम, राजु भुवाई, रनबहादुर बिक छन् । बस्तुगत ४ जना सदस्यमा ज्ञानबहादुर नेपाली, पवित्रा नेपाली, निर्मला बास्तोला, कृष्णप्रसाद तिवारी छन् ।

बस्तु उद्योग सदस्यमा प्रेमबहादुर क्षेत्री, सेवा उद्योग सदस्यमा दीवस लामिछाने छन् । २ जना कर्पोरेट सदस्यमा घनश्याम शर्मा र विनोद भुजेल चयन भएका छन् । २ जना सदस्य मनोनित गर्ने व्यवस्था रहेको बताइएको छ ।

२००७ देखिको पुरानो संस्था

नेपाल चेम्बर अफ कमर्श २००७ साल फागुन ५ गते स्थापना भएको संस्था हो । २००७ सालमा मणिक मण्डलले संस्था स्थापना गरेका हुन् । २००९ असोज २० गते आधिकारिक दर्ता भएको इतिहास छ । अखिल नेपाल व्यापार संघबाट दर्ता भएको संस्था २०१० सालमा नाम परिबर्तन भएर नेपाल चेम्बर अफ कमर्श बनेको हो । अहिले केन्द्रीय अध्यक्षमा राजेशकाजी श्रेष्ठ छन् ।

२०७४ साउन २० गतेबाट संस्थाले कार्यक्षेत्र देशभर विस्तार गर्ने नीति लिएको थियो । नेपाल सरकारको क्याबिनेटबाट स्वीकृति लिएर संस्थाले नेपाल भर कार्यक्षेत्र विस्तार गर्ने अख्तियारी पाएको थियो । संस्थाले देशभर शाखा विस्तार गर्ने नीति अनुरुप विभिन्न जिल्लामा शाखाहरु गठन गरिरहेको छ । ६६ वटा जिल्लामा शाखा खुलिसकेको छ । ४० वटा भन्दा बढी नगर चेम्बरसमेत गठन भइसकेको छ ।

You might also like

Comments are closed.