पोखरा, २६ माघ ।
जोखिमपूर्ण कठिनश्रम, सडक तथा घरेलु श्रमिक बालबालिकाको लागि पोखरामा बृहत निःशुल्क आँखा शिविरको आयोजना गरिएको छ । पोखरा उद्योग वाणिज्य संघको ६५ औँ वार्षिकोत्सवको अवसरमा शनिबार पोखरा व्यवसायिक महिला क्लवसँगको सहकार्यमा आँखा शिविरको आयोजना भएको हो । संघअन्तर्गतको बालश्रम न्यूनिकरण कार्यक्रमको संयोजन रहेको आँखा शिविरमा प्राविधिक सहयोग भने पोखराकै घारिपाटनमा रहेको हिमालय आँखा अस्पतालको रहेको थियो ।
आँखा शिविरबाट करिब ६ सय जना बालबालिका तथा युवाहरु लाभान्वित भएका छन् । जोखिमपूर्ण कठिन श्रममा रहेका बालबालिकाहरुलाई लक्षित गरी पोखरामा आयोजना गरिएको सम्भवत ःयो नै बृहत आँखा शिविर हो । शिविरमा विभिन्न मेकानिकल वक्र्संसपमा कार्यरत युवाहरुलाई पनि सहभागी भएका थिए ।
२०११ साल माघ २५ गते स्थापना भएको पोखरा उद्योग वाणिज्य संघले करिब १६ वर्षदेखि बालश्रम न्यूनिकरण कार्यक्रम संचालन गर्दै आइरहेको छ । संघले सोही कार्यक्रममार्फत पोखरामा कठिन श्रममा रहेका बालबालिका तथा घरेलु श्रमिकका लागि अनौपचारिक शिक्षा, परिवार पुनर्मिलन, पुनस्र्थापनालगायतका गतिविधी गर्दै आएको छ ।
संघका अध्यक्ष दामु अधिकारीले हिमालयन आँखा अस्पतालका डाक्टर सुभाष नेपाललाई प्राविधिक सामग्री हस्तान्तरण गरी आँखा शिविरको उद्घाटन गरे ।
उहाँले सुन्दर र सम्वृद्ध नेपाल हेर्न तथा समाजका विभिन्न परिवर्तनहरुलाई परख गर्नको लागि स्वस्थ आँखाको ठूलो महत्व भएकोले आँखा स्वस्थ राख्न सबैसँग आग्रह गरे ।
पोखरा उद्योग वाणिज्य संघका महासचिव अर्जुन पोखरेलको संचालन रहेको कार्यक्रममा बोल्दै संघका वरिष्ठ उपाध्यक्ष नारायण कोइरालाले संघको वार्षिकोत्सवको अवसरमा बृहत आँखा शिविर आयोजना गर्न पाएकोमा खुसी व्यक्त गरेका थिए ।
कार्यक्रममा बोल्दै पोखरा व्यवसायिक महिला क्लवकी अध्यक्ष हरिमाया शर्माले श्रम तथा जोखिममा रहेका बालबालिकाहरुको स्वास्थ्यप्रति राज्य उत्तरदायी बन्नुपर्नेमा जोड दिँदै शिविरलाई निरन्तरता दिने प्रतिवद्धता व्यक्त गरे ।
Comments are closed.