पोखरा उद्योग वाणिज्य संघको विवाद उत्कर्षमा

सन्देश श्रेष्ठ
पोखरा, २ फागुन । पोखरा उद्योग वाणिज्य संघको कार्यसमितिमा बिबाद बढ्दै गएको छ । नेपाल उद्योग वाणिज्य संघको प्रदेश कार्यालय हटाउने निर्णयबाट शुरु भएको बिबाद ४ सदस्य मनोनयनमा आइपुग्दा झनै बढेको हो । पोखरा उद्योग वाणिज्य संघको भवन भित्र रहँदै आएको नेपाल उद्योग वाणिज्य संघको प्रदेश कार्यालय हटाउनका लागि पोखरा उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष नारायण कोइराला र महासचिव अर्जुन पोखरेलको नेतृत्वमा आएको प्रस्तावमा संघका अध्यक्ष दामु अधिकारीले नोट अफ डिसेन्ट लेखेका थिए । अध्यक्ष अधिकारी प्रदेश कार्यालय हटाउन नहुने पक्षमा थिए । तर अध्यक्षको नोट अफ डिसेन्टका बाबजुद कार्यसमिति बैठकले प्रदेश कार्यालय हटाउने निर्णय गरेको थियो ।

आफूहरुले ल्याएको प्रस्तावमा अध्यक्षले नै नोट अफ डिसेन्ट लेखेपछि क्रुद्ध भएका वरिष्ठ उपाध्यक्ष कोइराला र महासचिव पोखरेलले अध्यक्ष अधिकारीले ४ सदस्य मनोनयन गरेपछि नोट अफ डिसेन्ट लेखेर प्रतिशोध साँधेका हुन् । कोइराला र पोखरेललाई अन्य पदाधिकारी तथा सदस्यहरुले पनि समर्थन गरेका छन् ।

संघका अध्यक्ष अधिकारीले मनोनयन गरेका ४ सदस्यमा त्रिएक इन्भेष्टमेण्ट कम्पनी प्रालिका ऐनकुमार साई, आँधिखोला मेडिकल हलका रामबहादुर केसी, दि कुटी रिसोर्ट प्रालिका देवेन्द्र केसी र प्रसिम एग्रो फार्महाउसका शिवराज आचार्य छन् ।

अध्यक्षले ४ सदस्य मनोनयन गरेपछि बिरोधमा नोट अफ डिसेन्ट लेखेका कोइराला र पोखरेललाई उद्योग उपाध्यक्ष विन्दु कोइराला सुवेदी, वाणिज्य उपाध्यक्ष पवनकुमार प्रजापति, कोषाध्यक्ष सुरेन्द्रमान बिजुक्छे, उपमहासचिव चिनुकुमारी गुरुङ, कार्यसमितिका सदस्यहरु कुुमारी मुना बास्तोला, केशवबहादुर खत्री, दीनेशचन्द्र बास्तोला, बलराम आचार्य, ऋषिराज शर्मा भण्डारी, रामेश्वर अधिकारी, किर्तिबल्लभ त्रिपाठी, हर्कबहादुर अधिकारी, हरिहर सापकोटा र हरिराज पन्तसहित १६ जनाले समर्थन गर्दै नोट अफ डिसेन्ट लेखेका छन् ।

महासचिव पोखरेलका अनुसार कार्यसमितिका सदस्य सुरेशबहादुर श्रेष्ठले पनि नोट अफ डिसेन्ट लेख्ने प्रतिबद्धता जनाएका छन् । हाल पोखरा बाहिर रहेकाले श्रेष्ठले पछि आएर नोट अफ डिसेन्ट लेख्ने पोखरेलको दाबी छ ।

यो विवादसँगै संघमा दलीय प्रभाव पनि देखिन थालेको छ । अध्यक्षले ४ सदस्य मनोनयन गरेको विषयमा नोट अफ डिसेन्ट लेख्ने सबै कांग्रेस निकटका हुन् । बाम निकटका भने अध्यक्ष अधिकारीको पक्षमा उभिदै हस्ताक्षर गरेका छन् । पोखरा उद्योग वाणिज्य संघको हालको कार्यसमितिमा निवर्तमान अध्यक्षसहित २५ सदस्यीय रहेको छ ।

संघका अध्यक्ष दामु अधिकारीले अध्यक्षको अधिकार प्रयोग गरेर आफूले ४ सदस्य मनोनित गरेको बताए । उनले विधान अनुसार धारा ६.१.१ (ड) ले दिएको अधिकार प्रयोग गरी नै मनोनित गरेको र सो विषयमा बैठकमा जानकारी गराउँदा अन्य पदाधिकारी तथा सदस्यहरुले विरोध गर्नुपर्ने कारण नभएपनि नोट अफ डिसेन्ट लेख्दा आफू अचम्ममा परेको प्रतिक्रिया दिए । संघका अध्यक्ष अधिकारीले ४ जना सदस्य मनोनित गरेको जनाए । संघको विधि र विधान अनुसार आफूले ४ जना सदस्य आफ्नो अधिकारलाई प्रयोग गरी मनोनयन गरेको अध्यक्ष अधिकारीले दाबी गरे ।

तर महासचिव अर्जुन पोखरेलले भने आफूहरुसँग परामर्श नगरिकन सदस्य मनोनित गरेकाले नोट अफ डिसेन्ट लेख्नुपरेको बताए । कुनैपनि दुरगामी असर गर्ने निर्णय गर्दा बोर्ड बैठकमा छलफल हुनुपर्ने असहमति राख्ने पक्षका पोखरेलको जिकिर छ । महासचिव पोखरेलले छलफल गर्नुपर्ने जिकिर गरिरहँदा अध्यक्ष अधिकारी भने सदस्य मनोनयन गर्ने अधिकार अध्यक्षको भएकाले त्यसमा छलफल गर्नुेपर्ने कारण नभएको जिकिर गर्छन् ।

अधिकारीका अनुसार विधानमा कुनै सदस्यले राजिनामा दिएर वा अन्य कुनै कारणले पद रिक्त रहेको अवस्थामा मात्र सो पदपूर्ति गर्नका लागि मात्र परामर्श गर्नुपर्ने उल्लेख छ । महासचिव पोखरेलले नेपाल उद्योग वाणिज्य संघको प्रदेश कार्यालय हटाउने आफूहरुको प्रस्तावमा असहमति जनाउँदै अध्यक्षले नै नोट अफ डिसेन्ट लेखेकाले त्यसलाई काउन्टर दिनपनि मनोनयनको विषयमा आफूहरुले नोट अफ डिसेन्ट लेखेको बताए ।

प्रदेश कार्यालय हटाउने बहुमतको निर्णयमा अध्यक्ष स्वयमबाट नोटअफ डिसेन्ट आउनु अचम्म भएको महासचिव पोखरेलको तर्क छ । ‘अध्यक्षबाट नोट अफ डिसेन्ट लेख्ने चलन कहीँ पनि छैन,’ उनले भने, ‘अध्यक्षले कार्यसमितिको बहुमतको कदर गर्नुपर्छ । नोट अफ डिसेन्ट लेख्ने होइन ।’ उनले बहुमतको कदर हुनुपर्ने बताए । तर अध्यक्ष अधिकारी अध्यक्षको अधिकार क्षेत्रमा हस्तक्षेप गर्नका लागि विभिन्न बहानाबाजीका नाममा निहुँ खोज्ने काम भइरहेको टिप्पणी गर्छन् ।

यसैबीच, कार्यसमिति बैठकले संघको दैनिक कार्य सम्पादनको लागि विभिन्न उपसमिति गठन गर्नुका साथै संघको तर्फबाट संस्थागत प्रतिनिधित्व हुने सरकारी निकाय÷विभिन्न संघ संस्थाका लागि आधिकारिक प्रतिनिधि पनि चयन गरेको छ । संघका महासचिव अर्जुन पोखरेलका अनुसार संघको रोजगारदाता उपसमितिको संयोजकमा संघका वाणिज्यतर्फका उपाध्यक्ष पवनकुमार प्रजापति र राजश्व उपसमिति संयोजकमा संघका उद्योगतर्फका उपाध्यक्ष विन्दु कोइराला सुवेदी चयन हुनुभएको छ भने तालीम व्यवस्थापन उपसमितिको संयोजकको जिम्मेवारी संघका उपमहासचिव चिनु गुरुङलाई जिम्मेवारी दिइएको छ । यता, बस्तुगत समन्वय उपसमिति संयोजकमा संघका कार्यसमिति सदस्य हरिराज पन्त, पर्यटन उपसमितिमा संघका कार्यसमिति सदस्य कृतिबल्लभ त्रिपाठी, कृषि उपसमिति संयोजकमा संघका कार्यसमिति सदस्य तारानाथ ढुंगाना र सूचना प्रविधी उपसमितिमा संघका कार्यसमिति सदस्य चिन्तामणि बास्तोला चयन भएकाछन् । यसअघि नै संघका महासचिव अर्जुन पोखरेलको संयोजकत्वमा प्रशासन र सदस्यता उपसमिति र कोषाध्यक्ष सुरेन्द्रमान विजुक्छेको संयोजकत्वमा आर्थिक उपसमिति र कार्यसमिति सदस्य मुना बास्तोलाको संयोजकत्वमा महिला उद्यमी विकास उपसमिति गठन भईसकेको छ ।

संघको संस्थागत प्रतिनिधित्वका लागि कन्या क्याम्पस व्यवस्थापन समितिको सदस्यमा संघका पूर्व अध्यक्ष दिपक श्रेष्ठ, पोखरा विश्वविद्यालयको सिनेटर सभामा संघका अध्यक्ष दामु अधिकारी, मातृशिशु मितेरी अस्पताल संचालक समितिमा संघका अध्यक्ष दामु अधिकारी, बालमन्दिर विद्यालय व्यवस्थापन समितिमा संघका निवर्तमान अध्यक्ष विश्वशंकर पालिखे, पोखरा महानगरपालिकाको राजश्व परामर्श समितिमा संघका अध्यक्ष दामु अधिकारी, जनप्रिय बहुमुखी क्याम्पस संचालक समितिमा संघका बरिष्ठ उपाध्यक्ष नारायण कोइराला र पोखरा बहुमुखी क्याम्पस संचालक समितिमाकार्यसमिति सदस्य रामेश्वर अधिकारी तथा महेन्द्र मावि भलामको व्यवस्थापन समितिमा संघका कार्यसमिति सदस्य बलराम आचार्य र दीनेशचन्द्र बास्तोलाबाट प्रतिनिधित्व हुने व्यवस्था समेत गरेको छ ।

You might also like

Comments are closed.