पोखरा उद्योग वाणिज्य संघद्वारा मन्त्री अधिकारीसहित दुर्घटनामा परी निधन भएका प्रति शोक व्यक्त

पोखरा उद्योग वाणिज्य संघले शुभेच्छुक र मार्गनिर्देशक तथा देशले भरोसायोग्य राजनेता गुमाएको ठहर
पोखरा, १७ फागुन ।

सँस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री रवीन्द्र अधिकारीसहित ७ जनाको हेलिकोप्टर दुर्घटनामा भएको निधनप्रति पोखरा उद्योग वाणिज्य संघले गहिरा दुःख प्रकट गर्दै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गरेको छ ।

संघका महासचिव अर्जुन पोखरेलले बिहीबार जारी गरेको शोक विज्ञप्तिमा मन्त्री अधिकारीको निधनले पोखरा उद्योग वाणिज्य संघ, कास्कीबासी र समग्र राष्ट्रले भरोसायोग्य राजनेता, सहयात्री,शुभेच्छुक र मार्गनिर्देशक गुमाएको उल्लेख गरिएको छ ।

‘पोखरामा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि दवाब दिन पोखरा उद्योग वाणिज्य संघको अगुवाई भएका हरेकखाले दवाबमूलक कार्यक्रम र देशकै लामो रिले अनसनमा जनप्रतिनिधिको रुपमा उनले देखाएको ऐक्यवद्धता,सहयोग र सुझाव हाम्रो मष्तिष्कमा ताजै रहेको छ’, शोक विज्ञप्तिमा भनिएको छ, ‘संविधानसभा सदस्य हुँदा होस् वा नेपाल सरकारका मन्त्री, उनले नेपालको निजी क्षेत्रसँगको सहकार्य, पोखराको आर्थिक सम्वृद्धि र पोखरा उद्योग वाणिज्य संघप्रति देखाएको अपनत्व सदा स्मरणीय रहनेछ ।’ विज्ञप्तिमा मृत्यु शाश्वत सत्य भए पनि दुर्घटनाबाट हुने मानवीय क्षति सधैँ अकल्पनीय हुने उल्लेख गर्दै रवीन्द्र अधिकारीको निधनबाट यही सत्य प्रमाणित भएको जनाइएको छ ।

विज्ञप्तिमा पर्यटनको क्षेत्रका अग्रणी व्यक्तित्व आङछिरिङ शेर्पाको निधनबाट नेपालको निजी क्षेत्रमाथि ठूलो बज्रपात परेको उल्लेख गरिएको छ । ‘नेपालमै केही गरौँ र गर्न सकिन्छ भन्ने उदाहरण दिएर मात्र हैन, निजी क्षेत्र आर्थिक सम्वृद्धिको कारक पनि हो भन्ने सन्देश प्रवाह गर्न उहाँको ठूलो योगदान रहेको छ’,विज्ञप्तिमा भनिएको छ । यसैगरी, दुर्घटनामा ज्यान गुमाएका सबै राष्ट्रसेवक कर्मचारीको विशिष्टताको अभाव लामो समयसम्म खड्किनेमा कुनै द्धिविधा नभएको पोखरा उद्योग वाणिज्य संघको ठम्याई रहेको विज्ञप्तिमा जनाइएको छ । महासचिव पोखरेलद्धारा जारी विज्ञप्तिमा नेपालको हवाई क्षेत्रको सुरक्षाप्रति संवेदनशील बन्न सम्बन्धित निकायसँग समेत गरिएको छ ।

You might also like

Comments are closed.