पोखरा उद्योग वाणिज्य संघमा उद्यमशिलता विकास तालिम

 

पोखरा, ५ जेठ

पोखरा उद्योग वाणिज्य संघ तथा औद्योगिक व्यवसाय विकास प्रतिष्ठानको आयोजनामा आइतबारदेखि पोखरामा उद्यमशीलता तालिम सुरु भएको छ ।
तालिममा कास्कीसहित देशका बिभिन्न भागका करिब ३२ जना प्रशिक्षार्थीको सहभागिता रहेको छ । उद्यमशीलता अभिबृद्धि गर्दै रोजगारी सृजना गर्ने उदेश्यले तालीमको आयोजना गरिएको हो । तालिम जेठ १५ गते सम्म चल्नेछ ।

तालीमको उद्घाटन गर्दै पोखरा उद्योग वाणिज्य संघका कार्यबाहक अध्यक्ष नारायण कोइरालाले तालीम स्वरोजगारसँग रोजगारी सृजनामा केन्द्रित भएको बताए । आफूले आफ्नो जिम्मेवारी लिनु भनेको स्वरोजगार बन्नु हो भन्दै उनले व्यक्ति कुशल भए राष्ट्र र समाजले पनि लाभ पाउने तर्क गरे । उनले उद्यमशीलता विकास पोखरा उद्योग वाणिज्य संघको मुख्य लक्ष्य भएको बताउँदै उद्यमशल्ता विकासको लागि आवश्यक पर्ने तालीम उपलब्ध गराउन संघ सधैँ तयार रहेको बताए ।

कार्यक्रममा बोल्दै औद्योगिक व्यवसाय विकास प्रतिष्ठानका कामु निर्देशक रामप्रसाद तिवारीले तालीम व्यवसायको सुरुवात भएको तर्क गर्दै तालीममा सिकेका कुरा व्यवहारमा उतार्न आग्रह गरे । पोखरा उद्योग वाणिज्य संघका महासचिव अर्जुन पोखरेलले दक्ष जनशक्तिको अभाव पूर्तिको लागि पोखरा उद्योग वाणिज्य संघ सदैव प्रयत्नशील भएको बताए । संघका उपमहासचिव तथा तालीम व्यवस्थापन उपसमितिकी संयोजक चिनु गुरुङले आत्मनिर्भर बन्नको लागि सीप र दक्षता आवश्यक पर्ने उल्लेख गर्दै सीप सिक्न उमेरले नछेक्ने धारणा राखिन् । औद्योगिक व्यवसाय विकास प्रतिष्ठानका बरिष्ठ अधिकृत समिता श्रेष्ठले व्यवसाय व्यवस्थापन र उद्यमशीलता तालीमले उद्यमशीलता विकासमा सहयोग पुगेको धारणा राखिन् ।

You might also like

Comments are closed.