पोखरा उद्योग वाणिज्य संघले प्रमाणपत्र वाड्न र फोटो खिचाउन मात्र तालिम गर्दैन : अधिकारी

पोखरा, १५ जेठ ।

पोखरा उद्योग वाणिज्य संघ तथा औद्योगिक व्यवसाय विकास प्रतिष्ठानबाट संयुक्त रुपमा आयोजित उद्यमशीलता तालीम बुधबार सम्पन्न भएको छ । तालिम ११ दिन सम्म चलेको थियो । तालीममा कास्कीसहित देशका बिभिन्न भागका ३२ जना प्रशिक्षार्थीको सहभागिता थियो ।

व्यवसायका सम्भावना खोज्दै व्यक्तिलाई उद्यमशील बनाउनु तथा उद्यमशीलताको माध्यमबाट स्वरोजगार र पछि रोजगारी सृजना गर्नु तालीमको उदेश्य रहेको थियो । तालीमको समापनको अवसरमा बोल्दै पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष  दामु अधिकारीले एउटा व्यक्तिको कमाईमा निर्भर रहने प्रवृत्ति अन्त्यको लागि सामूहिक पहल थालिनु पर्नेमा जोड दिए । उनले सके कमाउने र नसके पनि आफूलाई बाँच्न पुग्ने आम्दानी गर्न सके त्यसले आत्मविश्वास बढाउनुका साथै परिवारको बचत क्षमता पनि बृद्धि हुने धारणा राखे । पोखरा उद्योग वाणिज्य संघले प्रमाणपत्र बाँढ्न र फोटो खिचाउनका लागि तालीम आयोजना नगर्ने प्रष्ट पार्दै उनले तालीमको व्यवहारिक प्रयोग गर्न सहभागीहरुसँग आग्रह पनि गरे ।

‘तपाईँहरुले यो तालीममा सिकेका कुरा व्यवहारमा उतार्ने जमर्को गर्नुभयो भने हामी त्यसपछि आवश्यक पर्ने दक्षता अभिबृद्धि र लगानीको क्षेत्रमा पनि सघाउन सक्छौँ’अध्यक्ष अधिकारीले भने,‘एउटै व्यक्तिले सबै काम गर्छु भन्ने नसोच्नुहोस् बरु कुनै आफूले उत्पादन गर्ने सामान अन्य उत्पादनलाई सहायक हुनेबारे पनि ध्यान दिनुहोस् ।

तालीम समापन कार्यक्रमका अध्यक्ष तथा औद्योगिक व्यवसाय विकास प्रतिष्ठान गण्डकीका कामु निर्देशक रामप्रसाद तिवारीले उद्यमशीलताको लागि लगन र समर्पण जरुरी भएको बताए । पोखरा उद्योग वाणिज्य संघकी उपमहासचिव तथा तालीम व्यवस्थापन उपसमितिकी संयोजक चिनु गुरुङले रोजगारी सृजना नै उद्योग वाणिज्य संघको लक्ष्य भएको बताउँदै बजारको माग हेर्दै सो क्षेत्रमा दक्षता हाँसिल गर्नुपर्नेमा जोड दिइन् । तालीमकी प्रशिक्षक तथा औद्योगिक व्यवसाय विकास प्रतिष्ठानका बरिष्ठ अधिकृत समिता श्रेष्ठले तालीमले बाटो मात्र देखाउने र बाटोमा हिँड्ने काम भने आफैले गर्नुपर्ने भन्दै प्रशिक्षार्थीहरुलाई रचनात्मक बन्न सुझाव दिइन् । प्रशिक्षार्थीको तर्फबाट बोल्दै तनहुँ बन्दीपुरका आसित बिकले तालीमले व्यवसायिक योजना बनाउने बाटो त देखाएको तर त्यो नै पूर्ण नभएको बताउँदे थप तालीमको अपेक्षा गरे ।अर्की प्रशिक्षार्थी अस्मिता गुरुङले तालीमले केही गरौँ भन्ने भावना जगाएको बताइन् ।

You might also like

Comments are closed.