पोखरा उद्योग वाणिज्य संघमा ३ जना आकांक्षी, प्यानलको तयारीमा बर्तमान र पूर्व महासचिव

सुरेन्द्र पौडेल
पोखरा, १४ साउन । निजी क्षेत्रको छाता संस्था पोखरा उद्योग वाणिज्य संघको नेतृत्व लिनका लागि ३ जना आकांक्षी देखिएका छन् । दुई वर्षे कार्यकाल रहेको संघको ३२ औं महाधिवेशन भदौ अन्तिम तथा असोज पहिलो साता गर्ने तयारी भइरहेको छ । महाविधेशनको मिति औैपचारिक घोषणा नभएपनि आंकाक्षीहरुले चुनावको आन्तरिक तयारी थालेका छन् । अघिल्लो पटक महाधिवेशनको वर्ष ७÷८ महिना अगाडिबाट चुनाव लागेपनि यसपटक उम्मेदवारका आकांक्षीहरु पर्ख र हेरको रणनीतिमा नै छन् ।

संघका बर्तमान महासचिव दामु अधिकारी र पूर्व महासचिव नारायण कोइरालाले टिम नै बनाएर चुनावमा होमिने तयारी गरेका छन् । अघिल्लो पटक स्वतन्त्र उम्मेदवारी दिएर वाणिज्य तर्फको उपाध्यक्षमा विजयी विन्दु कोइराला सुवेदीले पनि अध्यक्ष बन्ने आकांक्षा देखाएकी छन् ।

अध्यक्षका आकांक्षी अधिकारीले गत महाविधेशनमा लक्ष्मी पाण्डेलाई पराजीत गर्न सफल भएका थिए भने कोइराला अध्यक्षका स्वन्तन्त्र उम्मेदवार बनेर पराजीत भएका थिए । अधिकारी नेकपा निकट व्यवसायी मानिन्छन् भने कोइराला काँग्रेस निकट मानिन्छन् । सर्वसम्मत नेतृत्व चयन गर्नुपर्छ भन्ने आवाज उठेपनि दुई प्यानलबीच नै चुनाव हुने सम्भावना बढी देखिन्छ । पछिल्लो समय संघको निर्वाचनमा राजनीति बढेकाले पनि सर्वसम्मत नेतृत्व चयन गर्ने सम्भावना निकै कम छ ।

अध्यक्षका आकांक्षी अधिकारी र कोइराला दुवैले राम्रो टिम बनाउन आन्तरिक तयारी गरेका छन् । दुवैले आफू निकट व्यवसायी र पूर्व अध्यक्षहरुसँग परामर्श लिँदै चुनावको आन्तरिक तयारी गरिरहेका छन् । चुनावको आन्तरिक तयारी भएपनि मिति घोषणा नभएकाले बाहिर देखिने गरी चुनावी अभियान भने सञ्चालन भएको छैन । अध्यक्षका आंकाक्षी दामु अधिकारी र नारायण कोइरालाले सहमतिको बाटो खुल्ला रहेको बताएका छन् । दुवैले आफू अध्यक्षको प्रमुख दावेदार भएको बताउँदै सहमतिकै पक्षमा रहेको धारणा राखेका छन् । आकांक्षी विन्दु कोइरालासँग प्रतिक्रियाका लागि बुधबार र बिहीबार ७ पटक फोन गर्दा पनि उठाइनन् ।

बर्तमान कार्यसमितिका वरिष्ठ उपाध्यक्ष रवीन्द्रबहादुर प्रजू स्थानीय तहको निर्वाचनमा पोखरा महानगरपालिकाको वडा नम्बर ३ को अध्यक्ष बनेपछि उनी संघबाट बाहिरिनेछन् । उद्योग तर्फका उपाध्यक्ष गोकर्ण कार्कीले पुनः सोही पदमा उम्मेदवारी दिने आफू निकट व्यवसायीमाझ घोषणा गरिसकेका छन् भने बर्तमान कोषाध्यक्ष पवन प्रजापती सुरुमा महासचिवको आकांक्षी देखिएपनि वरिष्ठ उपाध्यक्षको उम्मेदवार बन्ने सम्भावना बढी छ । बर्तमान उपमहासचिव अर्जुन पोखरेल महासचिवको उम्मेदवार बन्ने निश्चित छ ।

पदाधिकारीका आकांक्षीहरु अधिकारी वा कोइराला कुन प्यानलबाट उम्मेदवार बन्ने भनेर पर्ख र हेरकैै रणनीतिमा छन् । बर्तमान कार्यसमितिका केही सदस्यहरु पनि पदाधिकारीका आंकाक्षी छन् । मिति घोषणा भएपछि उम्मेदवारी घोषणा गर्ने अधिकांशको तयारी छ ।

गत महाधिवेशनमा जस्तै यस पटक पनि संशोधित विधान अनुसार संघको नयाँ कार्यसमितिका लागि निर्वाचन हुँदैछ । ३०औं अधिवेशनससम्म अध्यक्षात्मक प्रणालीमा निर्वाचन हुँदै आएको संघमा ३१औं महाविधेशनबाट सबै पदमा खुल्ला प्रतिस्पर्र्धा सुरु भएको हो ।

वरिष्ठ उपाध्यक्ष, उद्योगतर्फको उपाध्यक्ष, वाणिज्यतर्फको उपाध्यक्ष, महासचिव, उपमहासचिव र कोषाध्यक्षका लागि प्रत्यक्ष निर्वाचन हुनेछ । २९ सदस्यीय कार्यसमितिमा निवर्तमान अध्यक्ष र सात जना पदाधिकारीबाहेक २१ जना सदस्य रहनेछन् । ती सदस्यमध्ये चार जना बस्तुगत संघहरुबाट मात्र निर्वाचित हुनेछन् भने २ जना कर्पोरेट सदस्यबाट निर्वाचित हुनुपर्नेछ । ४ सदस्य निर्वाचित अध्यक्षले मनोनित गर्ने व्यवस्था छ । ११ जना सदस्य खुल्ला निर्वाचन लड्नेछन् । संघमा यस पटक ३ हजार ३ सय ५० जना भन्दा बढी मतदाता रहनेछन् ।

 

You might also like

Comments are closed.