पोखरा उद्योग वाणिज्य संघमा श्रमसम्बन्धि छलफल

पोखरा, २४ साउन ।
श्रम ऐनको व्यवहारिक कार्यान्वयनको दायित्व रोजगारदाता र मजदूरमै रहेकोमा एक कार्यक्रमका वक्ताहरुले जोड दिएका छन् ।

नेपाल सरकारले लागु गरेको श्रम ऐन २०७४, श्रम नियमावली २०७५, योगदानमा आधारित सामाजिक सुरक्षा ऐन २०७४, एवं श्रमिक सूचिकरण कार्यविधेयक एवं औद्योगिक व्यवसाय ऐन २०७३ को सम्बन्धमा छलफल गर्न नेपाल उद्योग वाणिज्य महासंघ तथा पोखरा उद्योग वाणिज्य संघले बिहिवार पोखरामा आयोजना गरेको छलफल कार्यक्रममा बोल्ने क्रममा उनीहरुले सो धारणा राखेका हुन् ।

उनीहरुले कानूनको पालना गर्नु रोजगारदाता तथा मजदूर दुबैको कर्तव्य भएकोमा जोड दिँदै अव्यवहारिक जस्तो देखिने विषयहरु पनि कानूनमा समेटिएको गुनासो समेत गरे ।

कार्यपत्र प्रस्तुत गर्दै अधिवक्ता दीपक घिमिरेले कुनै पनि व्यक्तिलाई रोजागर सम्झौता नगरी काममा लगाउन नपाइने, सरकारले तोकेको न्यूनतम पारिश्रमिक भन्दा कम तलब दिन नमिल्ने, प्रत्येक श्रमिकको दुर्घटना बीमा गराउनु पर्ने, कार्य क्षमता नभएका कामदारलाई रोजगारबाट बिदाई गर्न सकिनेलगायतका प्रावधानसहित श्रम ऐन आएको जानकारी दिए ।

योगदानमा आधारित सामाजिक सुरक्षा ऐनबारे जानकारी दिँदै नेपाल उद्योग वाणिज्य महासंघका निर्देशक हंशराम पाण्डेयले सामाजिक सुरक्षाको लागि रोजगारदाता र श्रमिक दुबैले योगदान गर्नुपर्ने प्रष्ट पारे ।

कार्यक्रमको उद्घाटनको क्रममा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्र ढकालले ऐनहरु रोजगारमात्र नभएर व्यवसाय मैत्री पनि हुनुपर्नेमा जोड दिए । मजदूरले अधिकार माग्दा आफ्नो कर्तव्य पनि भुल्न नहुने उनकोे भनाई थियो । कार्यक्रम तथा पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष विश्वशंकर पालिखेले श्रम ऐनका प्रावधानहरुबारे मजदूर र रोजगारदाता दुबै जानकार हुनुपर्ने बताए ।

पोखरा उद्योग वाणिज्य संघका उद्योगतर्फका उपाध्यक्ष गोकर्ण कार्र्कीको धन्यवाद तथा महासचिव दामु अधिकारीको संचालन रहेको कार्यक्रममा संघका पूर्व अध्यक्ष वसन्त उदास, पर्यटन व्यवसायी नरेश भट्टराई, बासु त्रिपाठीलगायतले पनि आ–आफ्ना धारणा व्यक्त गरेका थिए ।

You might also like

Comments are closed.